वडाध्यक्षको घरमा खानतलासी, २ छोरा प्रहरी नियन्त्रणमा
जनकपुर । प्रहरीले बिना कारण घरमा खानतलासी गरि छोराहरुलाई समातेर लगेकोप्रति जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाअध्यक्ष शुभनारायण मण्डलले आपत्ति जनाएका छन् ।
शनिबार मण्डलको घरमा प्रहरीले अचानक घेरा हाली खानतलासी गरि दुई छोरालाई समातेर लगेको भन्दै वडाध्यक्ष मण्डक आक्रोशित भएका हुन् ।
प्रहरीले बिना पुर्जी घरमा प्रवेश गरी बिना कुनै सूचना गैरकानुनी तरिकाले घर खानतलासी गरेको भन्दै वडाअध्यक्ष मण्डल आक्रोशित हुँदै प्रहरीको रबैयाप्रति घोर भत्सर्ना गरेका छन् ।
उनले प्रहरीले आफ्नो घरमा पसेर परिवारलाई अनावश्यक दबाब दिई छोरालाई समातेर लगेको आरोप लगाएका छन् ।
यता प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले ३ दिनपूर्व एक जनालाई कुटपिट गरेको घटनामा दुई जनामाथि उजुरी परेको आधारमा पक्राउ गर्न सो घरमा गएको बताएका छन् ।
प्रहरीले वडाध्यक्ष मण्डलका जेठो छोरा ३० वर्षका रोशन मण्डल र सानो छोरा २५ वर्षका बिक्की मण्डललाई स्थानीय जितु कापडलाई कुटेको आरोपमा पक्राउ गरेको उनले बताए ।
तर वडाअध्यक्ष मण्डलले संकटकाल लगाइए जस्तै प्रहरी प्रशासन आफ्नो घरमा आएर ताण्डव नृत्य प्रदर्शन गरेको जिकिर गरेका छन् ।