शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा यस्तो छ एसईई परीक्षाको तयारी, कुन जिल्लाबाट कति विद्यार्थी सहभागि ?

शनिबार, ०९ चैत २०७५, १५ : ५१
शनिबार, ०९ चैत २०७५

बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई भोलि आइतबारबाट देशभर हुँदैछ । 

चैत २१ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा छन् ।

यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसइई सम्पन्न गर्नका लागि प्रदेश पाँचमा झण्डै तीन करोड बजेटको ब्यवस्था गरिएको छ । 

 प्रदेशका सबै १२ वटा जिल्लाका लागि  २ करोड ९५ लाख ६७ हजार ५ सय २५ रुपैयाँ निकासा भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयले जनाएको छ । यो रकम जिल्ला जिल्लामा पठाइएको छ ।

यसमध्ये इकाइका लागि २७ लाख ९४ हजार ७ सय ९५ रुपैया र परिक्षा केन्द्रका लागि २ करोड ६७ लाख ७२ हजार ७ सय ३० रुपैया पठाइएको छ । यसरी पठाइएको बजेट खर्च गर्ने विभिन्न आधारहरु तय गरिएको छ ।

यस बजेटबाट केन्द्राध्यक्ष देखि केन्द्रमा खटिने जनशक्तिको  पारिक्षमिक दिइने छ । त्यस्तै सुरक्षाकर्मीका लागि खाजा खर्च देखि उत्तरपुस्तीका ढुवानीसम्म विभिन्न शीर्षकमा खर्च गर्ने गरी तय गरिएको छ ।

 प्रदेश ५ मा यस वर्ष ७८ हजार ६ सय ५७ विद्यार्थी एसईइ्र्र परीक्षामा सहभागि हुँदै छन् । 

 कुन जिल्लाका कति विद्यार्थी ?

 प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट १७ हजार २ सय र सबैभन्दा कम पूर्वी रुकुमबाट १हजार १ सय ७३ जना सहभागि हुँदैछन् । प्रदेश पाँचको सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालयका निर्देशक जीतवहादुर शाहका अनुसार  रुपन्देहीबाट १७ हजार २ सय ,दाङबाट ११ हजार २ सय ७६, बाकेबाट ८ हजार १ सय ७४, वर्दियाबाट ७ हजार ८ सय ५५, कपिलवस्तुबाट ७ हजार १ सय १५, पश्चिम नवलपरासीबाट ५ हजार ७ सय ७० विद्यार्थी सहभागि हुँदैछन् ।

 त्यस्तै पाल्पाबाट ५ हजार ५०, गुल्मीबाट ४ हजार ९ सय ११, रोल्पाबाट ३ हजार ६ सय ७३, अर्घाखाचीबाट ३ हजार ५ सय ९४ , प्यूठानबाट २ हजार ८ सय ६६ र पूर्वी रुकुमबाट १हजार १ सय ७३ जना सहभागि हुँदै छन् ।

 यी मध्ये प्राविधिक तर्फका २ हजार ३९ विद्यार्थी रहेका छन् । प्रदेश पाँचमा एसईई परीक्षाका लागि झण्डै १२ हजार जनशक्ति परिचालन गरिनेछ । 

मन्त्रालयका प्रवक्ता मित्रमणी खनालका अनुसार केन्द्राध्यक्ष ३ सय २३, सहायक केन्द्राध्यक्ष ३ सय ९९,निरिक्षक ३ हजार ८ सय २६, सहायक कर्मचारी २ हजार ३ सय ४० जना खटाइने भएको छ । त्यस्तै सुरक्षाकर्मी ४ हजार ८ सय ४५ जना परिचालन गरिने भएको छ ।

 परीक्षाको तयारी गर्ने क्रममा शिक्षा निर्देशनालयले साढे १४ लाख उत्तरपुस्तीकाहरु जिल्ला जिल्लामा पठाएको छ । जसमा मुल उत्तरपुस्तीका ८ लाख ४९ हजार रहेका छन । त्यस्तै थप उत्तरपुस्तीका ५ लाख ९४ हजार ३ सय गरी १४ लाख ४३हजार ३ सय उत्तरपुस्तीका १२ जिल्लामा पठाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप