शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका नेता पक्राउ प्रकरणः काभ्रेबाट ललितपुर हुँदै काठमाडौँ आउँदै थिए वली

शनिबार, ०९ चैत २०७५, १३ : ४६
शनिबार, ०९ चैत २०७५

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्ता शनिबार बिहान काभ्रेबाट पक्राउ परेका छन् । 

प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ आउँदै थियो ।  सो सूचना पाएको प्रहरीको विशेष टोलीले काभ्रेको खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । 
बा१७ च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई काभ्रे र ललितपुर जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च–अप्रेशन’का क्रममा पक्राउ गरेको थियो । 

 पक्राउ पर्ने वलीसहित अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । 

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेशनका क्रममा वली भाग्न सफल भएका थिए । सरकारले गत फागुन ३० गतेदेखि विप्लव समूहका ध्वंसात्मक गतिविधिलाई नियन्त्रण गर्ने क्रममा ओलीलगायतका नेता कार्यकर्ता नियन्त्रणमा लिइएका हुन् । 
प्रहरीको दाबीअनुसार गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराउँदा एक जनाको मृत्यु तथा दुई जना घाइते भएको घटनाको वलीले जिम्मा लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप