बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फोरमलाई राजपाको पत्र: सरकारमा बस्नु दुर्भाग्यपूर्ण !

शुक्रबार, ०८ चैत २०७५, १४ : ११
शुक्रबार, ०८ चैत २०७५

काठमाडौ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय समाजवादी फोरमले वर्तमान सरकारलाई सहयोग गरिरहनु दुर्भाग्यपूर्ण भनेको छ । राजपाले फोरम नेपाललाई वार्ताका लागि आग्रह गर्दै फागुन ३० गते पठाएको पत्रमा भनिएको छ, ‘फोरम नेपालको बुझाई अत्यन्तै यथार्थ र वस्तुपरक छन् ।

व्यवहार र हातोमालो मात्र होइन, त्यो पार्टीले त्यसै यथास्थितिवादीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने, मनोमानी गर्न उक्साउने र अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्काउने दुस्साहस गर्नलाई सहयोग पुग्ने गरि दूई तिहाइ संसदीय गणितलाई ग्यारेन्टी गर्दै मजबुती प्रदान गर्ने काम गरिरहेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण छ ।’

यसअघि फोरम नेपालले पुस १९ गते पठाएको पत्र राजपा नेपालले फागुन १० गते प्राप्त गरेको थियो ।  फोरम नेपालको पत्रमा देशमा यथास्थितिवादी राजनीतिक शक्तिलाई पहिलो र दोस्रो राजनीतिक शक्तिको रुपमा स्थापित गरेको उल्लेख गर्दै देशले आज श्रमजिवी वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरुबीच एकता खोजिरहेको उल्लेख गरेको थियो । वर्तमान अवस्थामा केन्द्रीय राजनीतिको दुई धु्रवमा रहेका दलबीच उचित वातावरण तयार गरी वार्तालाई अगाडी बढाउन राजपा नेपालले फोरमलाई आग्रह समेत गरेको छ ।

६ वटा दल एकीकरण हुँदा पनि फोरमलाई त्यसमा सहभागी भई वैकल्पिक शक्ति निर्माण गर्न राजपा नेपालले आग्रह गरेको थियो । तर त्यो बेला फोरम सहभागी नहुँदा वैकल्पिक शक्ति निर्माण गर्ने अभियान अपूर्ण रहेको राजपा नेपालले फोरम नेपाललाई पठाएको पत्रमा उल्लेख छ । त्यो अपूर्णतालाई फोरम नेपालले पूरा गर्ने अपेक्षा लिएको पत्रमा जनाइएको छ ।

चैत १ सम्पन्न  राजपा नेपालको बैठकले अध्यक्षमण्डलको सदस्य राजेन्द्र महतोको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । समितिमा वृषेशचन्द्र लाल, केशव झा, रमेश यादव र सुनिल रोहित रहेका छन् । त्यस्तै मंसिरमा सम्पन्न फोरम नेपालको केन्द्रीय समितिको बैठकले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । 

सो समितिमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसहाय प्रसाद यादव, उपमहासचिव प्रकाश अधिकारी, सचिव इस्तियाक राई र राजनीतिक समिति सदस्य महेन्द्र थापा रहेका छन् । राजपा नेपालले पठाएको पत्रको जवाफ फोरम नेपालले पनि दिएको छ । फागुन ६ गते पठाएको पत्रमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकार नछाड्ने स्पष्ट पारेका छन् ।

दुई दलमध्ये एउटा सरकारमा र अर्को सरकार बाहिर हुँदैमा एकता प्रकृया अवरोध हुनुहँुदैन भनि उनले प्रष्ट पारेका छन् । यो नीतिगत सवाल नभइ रणनीतिक सवाल भएको उल्लेख गर्दै उनले रणनीतिक समय सापक्ष परिवर्तन भइरहने उल्लेख गरेका छन् ।

एकीकरणका लागि विचार र सिद्धान्त मिल्नुपर्ने पत्रमा उल्लेख छ । पार्टीबीच एकीकरण भएपछि मात्र सरकारमा बस्ने कि विपक्षमा बस्ने निर्णय गर्ने अध्यक्ष यादवले स्पष्ट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप