बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हस्तलेखन प्रतियोगितामा हिमरश्मिकी रजिशा प्रथम

शुक्रबार, ०८ चैत २०७५, १३ : २३
शुक्रबार, ०८ चैत २०७५

काठमाडौं–तारकेश्वर नगरपालिकाको डाँडागाउँस्थित हिमरश्मि स्कुलकी छात्रा रजिशा केसी हस्तलेखन (ह्यान्डराइटिङ) मा देशकै अब्बल ठहरिएकी छिन् । उनले हालै आयोजित राष्ट्रव्यापी हस्तलेखन प्रतियोगितामा पहिलो स्थान हासिल गरेर आफूलाई अब्बल साबित गरेकी हुन् ।

हिमरश्मि स्कुलमा कक्षा ९ मा अध्ययनरत रजिशाले देशभरका माध्यामिक तहमा अध्ययनरतमध्ये उत्कृष्ट ह्यान्डराइटिङ हुने विद्यार्थीबीच भएको प्रतियोगिता जितेकी हुन् । उनले प्रतियोगिताको उपाधिसहित २५ हजार रुपैयाँ पुरस्कार हात पारेकी छिन् ।

रजिशाले कक्षा ८–१० समूहको नेपाली माध्यमतर्फको हस्तलेखनमा प्रतियोगीहरुलाई उछिनेकी थिइन् । सो प्रतियोगितामा ५–७ समूहमा विरुना तामाङ पहिलो भएकी थिइन् । कक्षा २–४ समूहमा ओजोन न्यौपाने पहिलो भए । कक्षा ८–१० समूहको नेपालीमा पुष्पा बस्नेत पहिलो भएकी थिइन् ।

कक्षा ५–७ समूहमा प्रज्ञा पुन मगर र २–४ समूहमा युना श्रेष्ठ पहिलो भएको आयोजक टिसी नेपालले जनाएको छ । अन्तिम प्रतिस्पर्धा १२५० जना जिल्ला विजेताबीच भएको आयोजकको भनाइ छ । प्रतियोगितामा सहभागी विद्यार्थीलाई कक्षागत रुपमा कक्षा २ देखि ४, कक्षा ५ देखि ७ र कक्षा ८ देखि १० गरी तीन तहमा विभाजन गरिएको थियो ।

गत आइतबार सम्पन्न फाइनल प्रतियोगितामा देशभरका हजारभन्दा बढी विद्यालयका विद्यार्थी सहभागी थिए । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रजिशालाई २५ हजार रुपैयाँको चेक, ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप