बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बस्तीमै मातृभाषा हराएपछि सिक्दै युवा

शुक्रबार, ०८ चैत २०७५, ०७ : ०६
शुक्रबार, ०८ चैत २०७५

बागलुङ - पुस्तान्तरण नहुँदा लोप हुने खतरा बढेपछि मगर भाषा संरक्षण प्रयासअघि बढाइएको छ । बडिगाड गाउँपालिकाले युवापुस्तालाई लक्षित गरेर निःशुल्क मगर भाषा कक्षा सञ्चालन गरेको हो । भाषा कक्षा चलाउन गाउँसभाले चालू आवमा २५ लाख बजेट छुट्याएको थियो । 

गत वैशाखदेखि सुरु भएको भाषा कक्षामा गाउँपालिकाका २२ मगर युवाले मातृभाषा सिकिरहेका छन् । “आफ्नो भाषा जोगाउनुपर्छ भन्ने सोचले पढ्न आएकी हुँ”, रणसिंहकिटेनीकी हिरा रानामगरले भनिन्, “सिकाइ उपलब्धिमूलक भइरहेको छ ।” 

नेपालमा बोलिने तीन मगर भाषामध्ये गण्डकी प्रदेशमा प्रचलित ‘मगर ढुट’को पढाइ भइरहेको प्रशिक्षक आशबहादुर थापामगरले बताए । “प्रशिक्षार्थीले लेख्न, बोल्न र मगर भाषाको लिपिका बारेमा सिकिरहनुभएको छ”, उनले भने । थापामगर भाषा सिकाउनकै लागि तनहुँदेखि बागलुङ आएका हुन् । 

प्रशिक्षार्थीले सुरुमा मगर भाषाको शब्द–शब्द सिकेपछि वाक्य बनाउन जानेका थिए । नेपाली बाह्रखरीलाई मगर भाषामा उल्था गर्दा छिटो सिकिएको प्रशिक्षार्थी रानामगरको भनाइ छ । लेख्न, पढ्नभन्दा भाषालाई बोलीचालीमा प्रयोग गर्न बढी गाह्रो हुने गरेको उनको अनुभव छ । 

मगर बाहुल्य बस्तीमै भाषा हराएपछि संरक्षण अभियान चलाउनु परेको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए । “अहिले सिकिरहेका प्रशिक्षार्थीलाई योग्य बनाएर गाउँगाउँमा मगर भाषा सिकाउने योजना छ”, उनले भने । 

आफ्नै भाषा, संस्कृति भएन भने समुदायको पहिचान नै गुम्ने अध्यक्ष पाइजाको भनाइ छ । अध्यक्ष पाइजा स्वयम् पनि मगर समुदायको भएकाले मगर भाषा संरक्षणमा पहल लिएकाे हो । बडिगाडमा मगर समुदायको बसोबास रहेपनि मगर भाषा बोलीचालीबाट हराएको छ । 

बडिगाड मात्रै नभएर जिल्लाका अधिकांश मगर बस्तीमा मगर भाषा प्रचलनमा छैन । बाउबाजेका पालादेखि नै मातृभाषा बोल्न छाडिएको मगर अगुवाहरु बताउँछन् । नयाँ पुस्तामा भाषाको ज्ञान हस्तान्तरण नहुँदा र अन्य भाषाको बढ्दो प्रभावले मगर भाषा सङ्कटमा परेको बताइन्छ । 

जिल्लाको निसीखोला गाउँपालिकाका केही मगर बस्तीमा मात्र मगर खाम भाषा बोल्ने गरिन्छ । मगर ढुट भाषा तनहुँ, स्याङ्जा, लमजुङ, नवलपरासीलगायतका जिल्लामा बढी प्रचलित छ । मगर खाम भाषा रोल्पा, रुकुम, प्यूठानलगायतका जिल्लामा बोल्ने गरिन्छ । मगर काइके भाषा भने डोल्पा जिल्लामा मात्र प्रचलित छ । भाषा कक्षा यही चैत मसान्तमा सकिने गाउँपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप