शोभाको ‘ऊरुर’ लोकार्पण
काठमाडौं– कवियत्री शोभा सुनुवार (जुलियट)द्वारा लिखित कविता संग्रह ‘उरुर’को लोकार्पण गरिएको छ । कोटेश्वरस्थित सुनुवार सेवा समाजको भवनमा आयोजित एक कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले संग्रह लोकार्पण गरे ।
अवस्थीले दुईभाषामा कलम चलाउन सक्नु महत्वपूर्ण कुरा भएको बताउँदै नेपालमा भाषाहरूलाई मकाजको रूपमा लान नसकिएको बताए । उनले भने, ‘परिवारमा मात्र बोलिने, परिवार पनि छुटफुट भइरहेकोले भाषा समस्यामा पर्दै जानु प्रमुख कुरा हो ।’
कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङले भाषा बलियो भएमा साहित्य बलियो हुने कुरा बताए । मातृभाषाको विकास भएमा मात्र समुन्नत मानवको विकास हुने र मानवको विकास भए देश विकास हुने मुकारुङको कथन थियो । मुकारुङले नेपाली भाषामा १०% भाषाभाषीबाट आएका शब्दहरू रहेका छन्, त्यसैले सम्बृद्ध नेपाली भाषा बनाउन मातृभाषाको संरक्षण अपरिहार्य रहेको पनि बताए ।
नेपालका भाषाहरू लोप हुने क्रममा रहेकैले सुनवार भाषिक कवि शोभा सुनुवारको यस कृतिलाई चुप्लु समाजले प्रकाशन गरिएको कुरा समिर मुखियाले बताए । चुप्लु समाजले ‘भाषाको लागि साहित्य’ अभियान चलाउँदै आएको छ ।
कार्यक्रम सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारको सभापतित्व र उत्तम सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो । चुप्लु समाजले प्रकाशन गरेको उक्त कृतिको मूल्य ३००÷– (तीन सय रुपैयाँ) रहेको छ ।