शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा यसरी मारिए

बुधबार, ०६ चैत २०७५, १४ : ३५
बुधबार, ०६ चैत २०७५

क्राइस्टचर्च– सिरियाको गृहयुद्धका कारण भागेर ‘विश्वकै सर्वाधिक सुरक्षित’ ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका थिए । 

न्यूजील्यान्डको क्राइस्टचर्चका दुईवटा मस्जिद आक्रमणमा मारिएका व्यक्तिहरुमध्ये हालसम्म यी दुई बाबुछोराको मात्र दाहसंस्कार भएको छ । उक्त घटना भएको पाँच दिन पुगिसकेको छ र अन्य व्यक्तिको दाहसंस्कारमा विभिन्न कारणले ढिलाइ भइरहेको छ । 

सिरियाबाट यहाँ आएकाहरुमा बाबु ४४ वर्षीय खालिद मुस्तफा र उनका १५ वर्षीय छोरा हम्जा मुस्तफा रहेका छन् । 

क्राइस्टचर्चको मस्जिदमा शुक्रबारको प्रार्थनाका लागि जम्मा भएका व्यक्तिमध्ये ५० जनाको गोली लागी मृत्यु भएको थियो । गोरा अतिवादीले उक्त आक्रमणको भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा समेत प्रत्यक्ष प्रशारण गरेका थिए । 

हम्जा पढ्ने माध्यमिक विद्यालयका प्रिन्सिपलले हम्जा पढाइमा निकै मिहिनेती रहेको बताउँदै उनलाई घोडचढी खुबै मनपर्ने गरेको स्मरण गरे । 

यी बाबुछोराको दाहसंस्कारमा हम्जाका भाइ १३ वर्षीय जाइद पनि उपस्थित थिए । मस्जिदमा सँगै रहेका जाइदलाई भने पाखुरा र खुट्टामा गोली लागेको थियो । ‘दाहसंस्कारका समयमा उनी ह्वीलचेयरबाट उठ्न खोज्थे, तर सक्दैनथे,’ दाहसंस्कारमा सहभागी एक जनाले बताए । 

‘हामीले उनलाई हात नमिलाउन अनुरोध गर्यौ । तर उनी सबैसँग हात मिलाउन चाहन्थे, उनी सबैजना उपस्थित भएकामा खुशी हुन चाहन्थे,’ अस्ट्रेलियाबाट दाहसंस्कारमा सहभागी हुन क्राइस्टचर्च पुगेका जमिल एल–बिजाले भने । 

मुस्तफा बाबुछोरा गत वर्ष मात्र न्यूजील्यान्ड बसाइँ सरेका थिए । जोर्डनमा करिब ६ वर्ष शरणार्थी जीवन बिताएर उनीहरु अस्ट्रेलिया हुँदै न्यूजील्यान्ड पुगेका थिए ।  मुस्तफाकी पत्नी सल्वाले रेडियो न्यूजील्यान्डसँग कुरा गर्दै सबै जनाले विश्वमै सबैभन्दा सुरक्षित मुलुक न्यूजील्यान्ड हो भनेपछि यहाँ आएको बताइन् । 

उनले भनिन्, ‘तर यहाँ पनि सुरक्षा रहेनछ ।’ मस्जिद गोलीकाण्डमा मारिएका परिवारका सदस्यहरु आफ्ना नातेदारको दाहसंस्कारका लागि व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । 

प्रहरी आयुक्त माइक बुसले प्रहरीले सबै पीडितको पहिचान गरिसकेको र २१ जनाको शव सम्बन्धित परिवारजनलाई बुझाउन लागेको जानकारी दिए । 

इस्लामिक धार्मिक परम्परा अनुसार शवको शुद्धिकरण पश्चात जतिसक्दो चाँडो जमिनमा गाड्नुपर्दछ । 

न्यूजील्यान्डकी प्रधानमन्त्री जासिन्डा आर्डनले आमजनता समक्ष पीडितका पक्षमा कुरा गर्न पुनः आग्रह गरेकी छिन् । उनले हत्याराको नाम समेत लिन नहुने बताइन् ।

मस्जिद आक्रमणमा १४ वर्षका काश्मिरी छात्र १४ वर्षीय सायद मिल्नेको पनि मृत्यु भएको छ । मङ्गलबार साँझसम्म करिब ३० जना अझै अस्पतालमा उपचारारत छन् । तीमध्ये करिब १० जनाको स्वास्थ्य स्थिति निकै जटिल रहेको अस्पतालले जनाएको छ । घाइतेमध्ये चार वर्षकी बालिका पनि छिन् । 

अस्ट्रेलियाली नागरिक २८ वर्षीय ब्रेन्टन ह्यारिसन टारान्टमाथि मस्जिद आक्रमण र व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले टारान्ट एक्लैले गोली चलाएको हो वा अरु पनि सहभागी थिए भन्ने बारेमा अनुसन्धान गरिरहेको छ । 

न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डनले मुलुकको बन्दुक कानुनमा सुधार गर्ने बताउँदै अर्को साताभित्र नयाँ कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप