धेरै मानिसलाई खुसीको कारण र केले त्यो दिन्छ भन्ने कुरा नै थाहा छैन
विश्व खुसी दिवस (२० मार्च)को अवसरमा वेस्टन सर्च इन्स्टिच्यूट अफ पोजेटिभ साइन्सका प्रमुख कार्यकारी अधिकारी डा. रामचन्द्र लामिछानेसँग रातोपाटीका सुनिता न्यौपानेले गरेको खुसी संवाद
खुसीलाई कसरी परिभाषित गर्नुहुन्छ ?
खुसी आफ्नो चाहनासँग सम्बन्धित हुन्छ । चाहना र खुसी जोडिएको छ । हामी कस्तो हुन चाहन्छौँ भन्ने कुराले हाम्रो खुसी निर्देशित हुन्छ । त्यसकारण खुसी भनेको एक प्रकारको दृष्टिकोण हो । जसले आफूलाई सन्तुष्ट लाग्ने कुराहरु खोज्न अभिप्ररित गर्दछ । खुसी र दृष्टिकोण एकआपसमा जोडिएको छ । दृष्टिकोणले खुसी दिने हो । खुसी एउटा यस्तो दृष्टिकोण हो जसले हामीलाई सन्तुष्ट दिन्छ ।
खुसी हुनको लागि कस्तो दृष्टिकोण बनाउनुपर्छ ?
पहिले आफू के चिजले खुसी होइन्छ, त्यो थाहा पाउनुप-यो। धेरै मानिसलाई खुसीको कारण के हो र के कुराले खुसी दिन्छ भन्ने कुरा नै थाहा छैन । आफू के कारणले खुसी हुन्छु भन्ने कुरा थाहा पाउनुपर्छ । त्यहाँबाट खुसी सुरु हुन्छ । मानिस आफूभित्रको खुसी थाहा नपाई बाहिर बाहिर खोज्दै हिँड्छ । अरुले जे भन्यो, त्यही कुरामा खुसी खोज्न थाल्छन् मानिसहरु । अरुले दिएको कुराले खुसी दिन सक्दैन । खुसी आफैंले सिर्जना गर्नुपर्छ ।
खुसी सकारात्मक मात्र हुन्छ कि नकारात्मक पनि हुन्छ ?
नकारात्मकको परिभाषा नै एकदमै अचम्मको छ । खुसी सापेक्षित हुन्छ । नकारात्मक कुराले पनि कहिलेकाहीँ खुसी दिन सक्छ । कुनै अवस्थामा नकारात्मक हुँदा पनि खुसी प्राप्त हुन्छ ।
खुसी विशुद्ध मानसिक भोगाइको प्रतिबिम्बन मात्र हो कि यसको भौतिक अस्तित्व पनि हुन्छ ?
मानसिक र भौतिकभन्दा पनि खुसी मूलतः दृष्टिकोण हो । त्यो दृष्टिकोण भन्ने बित्तिकै मानसिकसँग सम्बन्धित हुन्छ । भौतिक कुराले खासै फरक हँुदैन । यो नितान्त मानसिक हो ।
आम नेपालीलाई हेर्दा तपाईले कत्तिको खुसी देख्नुहुन्छ ?
खुसीभन्दा पनि धेरै दुःखको कारण खोजिरहेका हुनाले हामी दुःखी छौँ । हाम्रो देशमा धेरै राम्रा कुरा छन् । तर ती कुरालाई नदेखेर नराम्रा कुराप्रति मात्र हाम्रो चासोको विषय रह्यो । त्यसले गर्दा हामीले आफै आफ्नो दुःख खोजिरहेका छौँ । कसले के नराम्रो गर्याे भनेर खोज्दै हिँड्ने हाम्रो बानी छ । त्यो भनेको दुःखको स्रोत हो । त्यसले गर्दा सामाजिक, आर्थिक, राजनीतिक परिवेशभन्दा पनि नकारात्मक कुरा खोजेको कारणले हामी दुःखी भएका हौँ । स्वभावले हामी एकदम खुसी हुन जान्ने मानिस हाँै ।
विश्व खुसी सूचाङ्कमा नेपाल १०१ औं स्थानमा छ । यसको कारण नेपाली दुःखी नै छन् भन्ने हो ?
खुसीलालाई मूल्याङ्कन गर्ने विभिन्न तरिकाहरु छन् । उक्त अध्ययनको कुन साइजको नमूना थियो र कुन ठाउँमा गरिएको भन्ने पनि प्रश्न हो । नेपाल भौगोलिक, सांस्कृतिक रुपमा धेरै विविधता भएको देश हो । हाम्रो देशमा जस्तो विविधता संसारमा कतै छैन । त्यसकारण त्यो रिपोर्टले नेपाललाई प्रतिनिधित्व गर्छ जस्तो मलाई लाग्दैन ।
नेपालीहरु के के कारणले खुसी छन् ?
नेपाली समाज जे छ, त्यो पारिवारिक संरचनामा छ । नातासम्बन्धलाई महत्त्व दिने संस्कृति छ हाम्रो । आफ्नो वंश र नातासम्बन्धमा असफलता हुँदा पनि हामी खुसी हुन सक्छौँ । एक अर्काको संस्कृतिलाई एकदमै सह्राउने खालको छ हाम्रो संस्कृति । हाम्रो बस्ती विविधतायुक्त छ । अरुको घरमा खुसी हुँदा पनि खुसी हुन जान्ने संस्कृति हो । त्यसकारण नेपालमात्र एउटा यस्तो समाज हो, जहाँ खुसीहरु जोडिएका छन् । कसैको घरमा दुःख पर्याे भने आफ्नै घरमा भएको जस्तो गर्छन् र ठान्छन् नेपालीहरु । संसारमा धेरै खुसी हुने कारण कुनै जातीमा छ भने त्यो नेपाली जातीमा छ । कतिपय देशमा खुसी हुनको लागि ठूलो उपलब्धि चाहिन्छ । हामी नेपालीहरु सानो सानो उपलब्धिमा पनि एकदमै खुसी भइरहेका हुन्छौँ । त्यसकारण हामीसँग खुसी हुने कारण धेरै छन् । एकपटक सबै नेपालीले दृष्टिकोण मात्र परिवर्तन गर्याै भने हामीभन्दा यो धर्तीमा सुखी अरु कोही छैन ।
दुःख हुने कारण हामी आफै खोजिरहेका छौँ भन्नुभयो । त्यो निराकरण गर्ने उपाय के होला ?
पहिलो कुरा त खुसीमा ध्यान केन्द्रित गर्ने । खुसीका कारणहरु खोज्यौँ भने दुःखका कारणहरु हामीलाई आवश्यक नै पर्दैन । दुःखका कारणले जहिले पनि दुःख नै दिन्छन् । कहिले पनि खुसी दिँदैन । हाम्रो नेपालीको मार्गनिर्देशक सिद्धान्त शास्त्रीय मनोविज्ञान हो । त्यसले ‘सफलता नै सफलताको जननी हो’ भन्छ । आज सकारात्मक मनोविज्ञानको जमाना हो । असफलताबाट मानिसले सिक्न सक्दैन । सिक्ने सफलताबाटै हुन्छ । त्यसकारण त्यो पुराना कन्सेप्ट परिवर्तन नहोउन्जेल हामीले खुसीका काारण खोज्न सक्दैनौँ ।
असफलताको मात्रा हुन्छ । यदि जीवन सफलता हो भने मरण असफलता हो । जीवन सय प्रतिशत हो भने मरण सुन्य प्रतिशत हो । एक प्रतिशत जीवन हुन्जेल पनि त्यहाँ सफलता हुन्छ । वास्तवमा हामीले सिक्ने भनेको बाँकी रहेको त्यही एक प्रतिशतबाट हो । जब मानिस जीवन र मरणको दोसाँधमा हुन्छ हामीले आइसियुमा लगेका हुन्छौँ । त्यतिखेर पनि त्यहाँ सफलता भएको कारणले लगिएको हो ।
अभ्यासमा हामीले सफलताबाट सिकिरहेका हुन्छौँ तर हामीले भन्दा ‘असफलता नै सफलताको जननी हो’ भन्छाँै । त्यो भनाइले असफलता हुने मानिसलाई बारम्बार छुट दिइरहेको छ । त्यसकारण हामी असफल भए पनि हामी क्षमा दिने हाम्रो संस्कार रहेको छ । कुनै बच्चाहरुले थोरै नम्बर ल्याए भने पनि हामीले उसले किन धेरै ल्याउन सकेनौँ खोज्दैनौँ कि किन थोरै ल्यायो भनेर खोज्न थाल्छौँ । असफलतातिर हामी केन्द्रित हुन्छौँ ।
राजनीतिक पार्टीले गर्ने काममा हामी राम्रोभन्दा नराम्रो कामतिर रुमलिरहेका छौं। राम्रो कामतिर त हाम्रो ध्यान नै जाँदैन । त्यसले गर्दा हाम्रो सम्पूर्ण समाजलाई नै यथास्थितिमा राखिदियो । यदि सफलता नै सफलताको जननी भन्ने हुन्थ्यो तपाईले कुनै पनि कुरालाई सफलताको कसीबाट हेर्नुहुन्थ्यो । हामी सबैले त्यही कसबिाट हेर्न थाल्थ्यौँ । हामी किन असफल भयौँ भनेर असफलताका कारणहरु खोज्छौँ । जसले गर्दा सफलताका कारण छलफलमै आउँदैनन् ।
हामीले सफलताका कारण खोज्यौँ भने सफलता बढ्छ, असफलताका कारण खोज्यौँ भने असफलता बढ्छ । हामीले जसरी सोच्छौं, हाम्रो ब्रेनको भाषा र हाम्रो बोलीचालीको भाषा फरक छ । नेपाल किन गरिब छ भनेर लेखिदिनुभयो र त्यस्तै फोटो राखिदिनुभयो भने आम जनताले गरिबीका कारण मात्र खोज्छन् ।
किनभने हामीभित्र दुई प्रकारको दिमाग छ । अर्धचेतन दिमाग र चेतनशील दिमाग । चेतनशील दिमागले प्रत्यक्ष कुराहरु देख्छ । त्यसले सही र गलत छुट्याँउछ । अर्धचेतन दिमागले सही र गलत छुट्याउँदैन । उसको लागि सही र गलत एउटै कुरा हुन्छ । गरिब भनेपछि उसले गरिबको चित्र आफ्नो दिमागमा राख्छ । मान्छेलाई गरिब हुनुका कारण खोज्न अभिप्रेरित गर्दछ । अर्धचेतन दिमागले चेतन दिमागलाई त्यस्तो निर्देशन दिन्छ । त्यसले गर्दा थाहा नपाई आम मानिस गरिबीमा अभ्यस्त भएका हुन्छन् ।समृद्धि के हो भनेर हामीले छलफलमा ल्यायौं भने समृद्धि कस्तो हुन्छ भनेर हामीले त्यतातिर ध्यान केन्द्रित गर्छाैँ । त्यसकारण मनोविज्ञानका कुराहरु पनि छन् ।
व्यक्तिगत खुसीलाई सामुहिक खुसीमा परिणत गर्न के गर्ने ?
एउटा व्यक्तिले अर्काै व्यक्तिलाई सफल व्यक्तिको रुपमा देख्न थाल्दछ, त्यहाँ वातावरण नै अर्कै हुन्छ । तपाईंले मलाई सफल देख्न, मैले तपाईलाई खुसीको बारेमा कुरा गर्न चाहन्छु । तपाई मेरो खुसीको बारेमा कुरा गर्न चाहनुहुन्छ । खुसी एक अर्काबाट बढ्छ ।
तर मानिसहरु सुखको कुराभन्दा पनि बढी किन दुःखका कुरा मात्र चासो चिन्ता राख्ने र त्यस्तै कुराहरुको चाहिँ बढी खोजीनीति गर्ने गर्छन् त ?
हाम्रो संस्कार त्यस्तै छ । हामी हामी त्यही परिवेशबाट आएको हो । त्यसरी नै हामीलाई सिकाइएको थियो । जुन गलत थियो । जुन हामीलाई समाजले दिइएको ज्ञान छ, त्यो खुसी प्रवद्र्धन गर्ने खालको छैन ।
हामीले जे जे कुरा सिक्दै गयौँ, हामीले जुन जुन कुरामा विश्वास गर्छौं, त्यो सामाजिक यथार्थता हो । त्यस अर्थमा हामीले सामाजिक यथार्थलाई आफैले निर्माण गरिरहेका हुन्छौँ । हामी जति नकारात्मक कुरामा ध्यान दिन्छौँ, त्यो सामाजिक यथार्थता बनेर जान्छ ।
मानिसहरुमा जरो गाडेर बसेको नकारात्मक चिन्तनप्रवृत्तिलाई सकारात्मकतामा बदल्ने कसरी ?
कुनै पनि अवस्थामा केही कुरा चलायमान छन् भने त्यहाँ दुई कुरा विद्यमान हुन्छन्: सकारात्मक तत्त्व र नकारात्मक तत्व । हामीले सकारात्मक त्तत्व के हो भनेर खोज्न थाल्यौँ भने हामी खुसी हुन्छौँ । हामी सकारात्मक पनि हुन्छौं । त्यही अवस्थामा के नकारात्मक छ भनेर खोज्यौं भने हामी नकारात्मक हुन्छौँ ।
उदाहरणको लागि आजको राजनीतिलाई लिऔं । आजको राजनीतिमा दुईवटा पक्षहरु छन् । त्यहाँ सकारात्मक पनि छ, नकारात्मक पनि छ । यदि हामीले नकारात्मकतामा ध्यान दियौं भने हामीले नकारात्मक कुराहरु नै बढाउँछौँ । त्यसले दुःखी बनाँउछ । आजको राजनीतिमा नब्बे प्रतिशत कुराहरु नकारात्मक छ, दश प्रतिशत कुराहरु सकारात्मक छ भने पनि त्यो दश प्रतिशत सकारात्मक कुरा के के हुन् भनेर हामीले भन्न थाल्यौँ भने त्यो बढ्दै जान्छ र नकारात्मक घट्दै जान्छ ।
हामीले जुन कुरामा बढी ध्यान केन्द्रीत गर्छाैँ, त्यही हुन्छ । हामी नकरात्मकमा फोकस गरेर सकारात्मक बढाउन चाहन्छौँ । त्यो विज्ञानसम्मत हुँदैन । त्यसकारण हाम्रो देशमा नकारात्मकता बढिरहेको छ ।
Photo source: i.pinimg.com
खुसी हुने सूत्रहरु के के होलान् ?
पहिलो सूत्र के राम्रो छ भनेर हेर्न जान्नुपर्याै । मान्छे भावनामा चल्ने खालको हुन्छ । त्यसकारण आफ्नो भावनालाई ख्याल गर्न सक्नुपर्छ । आफ्नो भावनालाई सबैभन्दा पहिले सम्मान गर्नुपर्छ । त्यो भनेको आत्मसम्मान हो । त्यसपछि बल्ल हामी अरुलाई सम्मान गर्न सक्छौँ । नेपाली समाजको एउटा समस्या के हो भने आफूलाई पनि सम्मान नगर्ने र अरुलाई पनि सम्मान नगर्ने । प्रत्येक व्यक्तिले के ठान्नुपर्याे भने प्रत्येक नागरिक राष्ट्रपति र प्रधानमन्त्री जत्तिकै महत्वपूर्ण हुनुहुन्छ । प्रधानमन्त्रीलाई पनि घाम लाग्छ, सामान्य नागरिकलाई पनि घाम लाग्छ । दुवैलाई भोक लाग्छ । त्यसकारण कुनै पनि नागरिक कुनै पनि हालतमा देशको प्रधानमन्त्री र राष्ट्रपति जत्तिकै सम्मानित हुन्छन् । उहाँको पनि एक भोट हो, सामान्य नागरिकको पनि एक भोट हो । त्यसकारण हरेक नागरिकले आफूलाई त्यो ठाउँमा राखेर हेर्नुपर्याे । म यो देशको सम्मानित नागरिक हुँ । यदि सबैले सबैको सम्मान गर्न सक्यौं भने त्यो व्यक्तिले गैरकानूनी काम गर्दा दश पटक सोच्छ । के सम्मानित नागरिकले यस्तो काम गर्छ ? आफैले आफैलाई प्रश्न गर्न थाल्छ ।
आम नागरिकहरु खुसी हुनका लागि के गर्नु जरुरी छ ?
आम नेपालीले खुसीको कारण बाहिर छ भन्ने ठानिरहेका छन् । राज्य व्यवस्थाले खुसी ल्याइदिन्छ कि भन्ने सोचिरहेका छन् । त्यस्तो हँुदैन । प्रत्येक व्यक्तिले आफ्नो खुसी आफैं खोज्ने हो । त्यो खुसी खोज्नको लागि सबैभन्दा पहिले आफूलाई सम्मान गर्ने– म केही हँु भनेर । मसँग पनि काम गर्न सक्ने शक्ति र क्षमता छ भनेर विश्वास गर्नुपर्छ । संसारको सबै मानिसमा मस्तिष्कको तीव्रता २६७ माइल प्रतिघण्टा हो । त्यो अमेरिकी युवामा पनि त्यही हो, नेपालीमा पनि त्यहि हो । त्यसकारण युवासँग जे जति स्रोत र साधन छन्, त्यो स्रोत र साधन भनेको मस्तिष्क हो, आफ्नो सम्मान र पहिचान हो । त्यो हामीसँग पनि छ । त्यो छ भनेर हामीले पहिचान गर्न सक्दैनौँ भने हामी खुसी हुँदैनौँ । अहिले हामीमा खुसीको कारण मभित्र छ र मेरो हो भन्ने हुनपर्छ ।
जस्तै, हाम्रो घर अगाडि बाटो पिच भयो । त्यसले कहिले पनि मानिसलाई खुसी दिदैन । सुविधा देला तर त्यो भनेको खुसी होइन । खुसी भनेको दृष्टिकोण हो । खुसी भनेको अनुभूति हो । त्यो अनुभूति जब व्यक्तिले आफूले आफूलाई सम्मान गर्छ, म पनि अरु सरह छु महत्वपूर्ण छु भन्ठान्छ, अनि मात्र ऊ खुसी भएको अनुभूति गर्दछ । जब उसले आफूलाई महत्वपूर्ण छु, भन्ठान्छ उसले हेर्न थाल्छ ।
खुसी बाँड्दै हिँड्ने तपाई आफू चाहिँ कत्तिको खुसी हुनुहुन्छ ?
मेरो जिन्दगीदेखि म एकदमै खुसी छु । मैले के सिकेको छु भने प्रतिकूलतामा पनि अनुकूलता देख्न सिकेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीमा बचत गर्न अब ‘स्रोत’ को अंकुश, कति संस्थामा पर्छ असर ?
-
सिटीको जितविहीन यात्रामा पूर्णविराम
-
अलिमियाँको आँगनमा साहित्य मेला गर्दै पोखरा १३
-
अखिल क्रान्तिकारीको निर्वाचन सार्नेबारे छलफल
-
१० बजे १० समाचार : पार्टीमा फरक मत राख्नेमाथि अनुशासनको डण्डादेखि सहकारी सम्बन्धी अध्यादेशका प्रावधानसम्म
-
राजा वीरेन्द्रले मुलुकको विकास र समृद्धिमा पुर्याएको योगदानको स्मरण