स्वास्थ्य शिविरमा एउटा समस्याको बिरामीलाई अर्कै रोगको औषधी दिइएको आरोप
काठमाडौंको शंखरापुर नगरपालिकाले गरेको स्वास्थ्य शिविरमा एउटा समस्याको विरामीलाई अर्कै रोगको औषधी दिइएको विरामीका आफन्तले आरोप लगाएका छन् । सोमबार शंखरापुर नगरपालिका वडा नंं १ मा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सोही वडाकी स्थानीय सीतादेवी दंगाल पाठेघरको समस्या लिएर उपचार गराउन जाँदा डायरिया र ग्याष्ट्रिकको औषधी दिइएको उनका छोरा निरोज दंगालले बताएका छन् ।
उनले भने–‘मलाई पनि स्वास्थ्य सम्बन्धी थाहा छ । मेन्ट्रोनाजोल डायरियाका विरामीलाई प्रयोग गर्ने औषधी हो । स्वास्थ्य शिविरमा पाठेघरको समस्यालाई डायरिया र ग्याष्ट्रिकको औषधी दिएछन् ।’
गतल औषधि सिफारिस गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसले स्वास्थ्यमा हानी पुर्याए कसले जिम्मेवारी लिने भन्दै प्रश्न गरेका छन् । यसबारेमा बुझ्न खोज्दा शंखरापुर नगरपालिकाकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले गल्तीले त्यस्तो औषधी परेको हुनसक्ने जवाफ दिइन् ।
उनले भनिन्– ‘सुष्मा कोइराला अस्पतालबाट हाडजोर्नी सम्बन्धी दुई तीनजना डाक्टर जानुभएको थियो । पेट दुख्यो भनेको भएर डायरियाको औषधी दिएको होला ।’ नगरपालिकाले गरेको स्वास्थ्य शिविरमा डेढसय भन्दा बढी ब्यक्ति सहभागी भएको उनले बताइन् ।
तर सो नगरपालिकाकी स्वास्थ्य संयोजक तुलजा भवानी लामाले निरोज दंगालले लगाएको आरोपको खण्डन गरेकी छिन् ।
उनले पाठेघरको उपचारका लागि डायरियाको औषधी पनि चलाउने भएकोले चिकित्सकले सो औषधि सिफारिस गरेको बताइन् । उनले भनिन्–‘उनले फेसबुकमा राखेको कुरा मैले पनि हेरेर कुरा गरेको थिएँ ।
शिविरमा हाडजोर्नी, गाइनोको डाक्टरका साथै डेन्टिस पनि हुनुहुन्थ्यो । औषधी वितरणका लागि दुई जना राखेका थियौँ । उनीहरुले गलत औषधी दिएजस्तो लाग्दैन । शिविरमा नभएको एन्टिवायोटिक बाहिर किन्नु भनेका थियौं ।’
शिविरमा १ सय ८० जनाले उपचार गराएको उनले बताइन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र शंखरापुर नगरपालिकाले वडा नंं १ मा घुम्ती शिविर गरेको नगरपालिकाकी सुचना अधिकारी भावना पुडासैनीले जानकारी दिइन । स्वास्थ्य शिविरका लागि नगरपालिका र सुष्मा कोइराला मेमोरियल अस्पतालले सहकार्य गरेका थिए ।