शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभामा ‘ढ्याप्ढ्यापे’

सोमबार, ०४ चैत २०७५, २० : १०
सोमबार, ०४ चैत २०७५

सुर्खेत । कर्णाली प्रदेशसभामा पहिलोपटक ‘ढ्याप्ढ्यापे समय’ प्रयोगमा ल्याइएको छ । आज अपराह्न १ बजे शुरु भएको बैठकमा सभामुखले सभाको काम–कारवाही शुरु भएको घोषणा गरेलगत्तै प्रतिपक्षी नेपाली काङ्गे्रसका सांसदहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न समय मागे । 

सभामुख राजबहादुर शाहीले ‘माननीयज्यू बोल्न चाहनुभएको हो ?’ भनेर सोधेलगत्तै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘हो’ भन्दै हात उठाए । 

सांसदहरुले यसअघि शून्य समय र विशेष समय मात्र प्रयोगमा ल्याएका थिए । सदनको कारवाही शुरु हुनुअघि सदस्यहरुले टेबुल ढ्याप्ढ्याप गर्दै बोल्न अनुमति माग्नुलाई संसदीय भाषामा ‘ढ्याप्ढ्यापे समय’ भन्ने गरिन्छ । 

प्रदेशसभाको नियमित काम–कारवाही शुरु नहुँदै नेता शाहीले सङ्घीय र प्रदेश सरकारको आलोचना गर्दै केही समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराए । 

उनले मन्त्रीहरु सदनमा उपस्थित नहुने गरेको, विधेयक आफूले पनि नल्याउने र प्रदेशसभा सदस्यहरुले ल्याउन नदिने गरेको भन्दै आलोचना गरे । 

उनले विप्लव समूहमाथि लगाइएको प्रतिबन्धको विरोध गरे। ‘वार्ता र सहमतिको विकल्प छैन्, प्रदेश सरकारले वार्ताका लागि केन्द्र सरकारसमक्ष समन्वय गरोस्’, उनले भने, ‘विप्लब समूहका गतिविधिबाट कर्णालीका जनप्रतिनिधि त्रसित छन्, सरकारले प्रतिबन्ध होइन, वार्ताको माध्यमबाट अघि बढोस् ।’ 

ढ्याप्ढ्यापे समयमा प्रतिपक्षी दलका नेताले बोलिसकेपछि सभामुखले ‘कर्णाली प्रदेशमा खेलकूदको विकास गर्न बनेको विधेयक–२०७५’ संसद्मा प्रस्तुत गर्न सामाजिक विकासमन्त्री दल रावललाई समय दिए । 

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सदस्यहरु ठम्मर विष्ट, यज्ञबहादुर विसी र विन्दमान विष्टले सरकारले खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको र प्रदेशका मौलिक खेलकूदको पहिचान तथा जगेर्ना हुने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिए । 

सैद्धान्तिक छलफल समाप्त भएपछि प्रस्तुत विधेयकमाथि संशोधनको सूचना दर्ता गर्न सभामुखले ७२ घण्टाको समय प्रारम्भ भएको घोषणा गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप