शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राणा र लोहनीको प्रतिबद्धताः राप्रपा(संयुक्त) अब कहिल्यै विभाजन हुँदैन

सोमबार, ०४ चैत २०७५, १८ : ४०
सोमबार, ०४ चैत २०७५

सुर्खेत– राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले पार्टीलाई अब कहिल्यै विभाजन नगर्ने प्रतिवद्धता जनाएका छन् । कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय राणा र लोहनीले सो प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रममा बोल्दै राणाले भने, ‘लोहनीजी र मेरो सहकार्य पचास वर्षभन्दा लामो छ । हामीले धेरै ठूला बाधा अड्चन पार गरेका छौं, धेरै उपलब्धि हासिल गरेका छौं । त्यसकारण राप्रपा (संयुक्त) फुट्छ कि भनेर किंचित पनि शंका लिनु पर्दैन ।’ 

राणाको भनाईमा सहमति जनाउँदै पार्टीका अर्का अध्यक्ष लोहनीले भने, ‘हामीले हिजो गल्ती गर्यौं होला तर अब फुट्दैनौ । हामी एउटा मिसनमा छौं, त्यो पूरा गरेरै छाड्छौं । वैदिक सनातन हिन्दू राष्ट्रको पहिचान र हिमाल, पहाड, तराई सबैलाई स्वीकार्य हुने संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र स्थापना गर्न आवश्यक परे आन्दोलन गर्छौं ।’

वर्तमान प्रणालीमा राष्ट्र प्रमुखको भूमिका निष्पक्ष नभएको, दलगत आग्रहबाट प्रभावित भएको भन्दै अध्यक्ष राणाले भने, ‘नेपाल निर्माणमा शाह वंशको ऐतिहासिक योगदान कदर गर्दै, कुनै पनि दलको सदस्य नभएको, प्रजातन्त्रप्रति समर्पित निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्थाको स्थापनाको लागि हामी बहसको थालनी गरेका हौं ।’

९४ प्रतिशत ओमकार परिवारका जनता भएको देशमा धर्म निरपेक्षको व्यवस्था अन्यायपूर्ण भएको भन्दै राणाले सनातन हिन्दु राष्ट्रको पहिचान आवश्यक रहेको बताए । ‘हाम्रो मान्यता स्थापना गर्ने सवालमा प्रधानमन्त्रीले घुमाउरो रुपमा धम्की दिनु भएको छ । सक्नुहुन्छ भने हामीलाई पक्रेर देखाउन हामी चुनौति दिन्छौं ।’

दुईतिहाईको सरकार भ्रष्टाचारमा लिप्त छ भन्दै राणाले वाइड बडी प्रकरणमा सरकारले सर्वदलीय सहमति कायम गरेको बताए । ‘सरकार भ्रष्टाचारले डुङडुङ गनाएको छ ।’

लोहनीले भने, ‘केपी ओली सरकार इतिहासमै सबैभन्दा भ्रष्ट सरकार हो । प्रधानमन्त्रीले भ्रष्टाचार सहन्न, भ्रष्टाचारीलाई कारवाही गर्छु भन्नु सरासर झुट हो । यसो भन्दा सरकारलाई चित्त बुझ्दैन र हामीलाई धरपकड गर्छ भने त्यसका लागि हामी तयार छौं । गलत कुराको विरुद्धमा बोल्ने हाम्रो कर्तव्य हो, संविधानले दिएको अधिकार हामी प्रयोग गर्छौं ।’

लोहनीले राप्रपा (संयुक्त) ले माक्र्स, एङ्गेल्स माओत्सेतुङ नभएर पृथ्वीनारायण शाहलाई सम्मान गर्छ भन्ने प्रष्ट पारे । ‘हामी नेपाली माटोमा जन्मेको पार्टी, विदेशीको इशारामा हिँड्दैनौं,’ उनले भने ।

सिञ्जाली सभ्यताबारे हाम्रो पाठ्यक्रममा कतै केही उल्लेख छैन । हाम्रो भाषा, सँस्कृतिको उद्गम थलोको महत्वबारे सायद कर्णालीवासीलाई समेत त्यति जानकारी छैन ।

प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लोहनीले भने, ‘कर्णाली प्रदेश, सिंजाली उपत्यका मानव सभ्यताको विकासको केन्द्र हो । यो ऐतिहासिक महत्वका बारेमा सरकारको ध्यान गएको छैन । यस सम्बन्ध नेपाल सरकार, प्रदेश सरकार सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले भने, ‘मानव विकास सुचकाङ्कमा कर्णाली प्रदेश सबैभन्दा न्यून अवस्थामा छ । चीनमा देउस्याउपिङको पालामा जस्तै किसानको उत्पादन राज्यले बजार भाउ अनुकूल किन्ने ग्यारेन्टी गर्नेे हो भने उत्पादन बढ्नेछ, किसानले लाभ प्राप्त गर्नेछ । किनभने फापर, कोदो जस्ता उत्पादनले सहजै बजार पाउने निश्चित छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप