मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राईले मागे मन्त्री र सचिवसँग प्रगति विवरण

सोमबार, ०४ चैत २०७५, १८ : १६
सोमबार, ०४ चैत २०७५

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका मन्त्री र सचिवहरुसँग कामको प्रगति विवरण मागेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित मन्त्रालयगत चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री राईले मासिक कामको प्रगति विवरण दिन भनेका हुन् ।

बैठकमा मुख्यमन्त्री राईले पाक्षिक रुपमा मन्त्रालयगत मन्त्री र सचिवले प्रगति समिक्षा गर्न निर्देशन समेत दिएका छन् ।

‘प्रत्येक मन्त्रालयहरुले पाक्षिक रुपमा प्रगति समिक्षा गर्नुहोस्,’ मुख्यमन्त्री राईले निर्देशन दिँदै भने, ‘प्रत्येक महिना कामको प्रगति विवरण मुख्यमन्त्री कार्यालयमा यसरी नै बसेर छलफल गरौंला ।’ 

नीति, कार्यक्रम र बजेट शिर्षकमा रहेर काम गर्न पनि मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईले निर्देशन दिएका छन् । उनले असारे विकासमा ध्यान नदिन सचिवहरुलाई निर्देशन दिँदै भने, ‘अरुबेला बजेट खर्च नगरेर असारमा खर्च गर्ने बानीको हामीले अन्त्य गर्नुपर्छ ।’ बलियो इच्छाशक्तिका साथ काम गर्नुपर्ने मुख्यमन्त्री राईको भनाई छ । 

उनले कर्मचारी समायोजनलगायतका बहानामा मनस्थिति नबिगार्न भन्दै अनुत्पादक क्षेत्रमा बजेट खर्च नगर्न निर्देशन दिए । ‘उत्पादनमुलक र रोजगारमुलक क्षेत्रमा बजेट खर्च गर्न म अनुरोध गर्दछु । यो आर्थिक वर्षको बाँकी रहेको समय अलिकति पनि खेर नफाल्न निर्देशन दिन्छु’ मुख्यमन्त्री राईको निर्देशन छ ।

प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रगति समिक्षामा प्रमुख सचिव केदार न्यौपानेले सबै सचिवहरुलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए । चार–चार महिनामा मन्त्रालयगत रुपमा समिक्षा बैठक हुुँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कानून सचिव भरतमणी रिजालले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप