शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लेखेर राख्नुस् ५–७ वर्षपछि पाकिस्तान भारतको हिस्सा बन्नेछ’

आइतबार, ०३ चैत २०७५, १८ : ३१
आइतबार, ०३ चैत २०७५

एजेन्सी– राष्ट्रिय स्वयमसेवक संघ(आरएसएस)का नेता इन्द्रेश कुमारले सन् २०२५ पछि पाकिस्तान भारतको हिस्सा हुने दावी गरेका छन् । शनिबार ‘कश्मिरको अगाडिको बाटो’ विषयक एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन् ।  

आरएसएस भारतीय सत्ता रुढ पार्टी भाजपाको मातृ संगठन हो । यसको उग्र हिन्दूवादी नीति र पाकिस्तान विरोधी नीतिको विभिन्न समयमा आलोचना पनि हुने गर्छ । संघको राष्ट्रिय कार्यकारी सदस्य इन्द्रेसले भीँडतर्फ सम्बोधन गर्दै भने ,‘तपाईहरु लेखेर राख्नुस् अबको ५–७ वर्षपछि तपाईहरु कराचीँ, लाहोर, रावलपिण्डी, सियालकोटमा घर किन्नुहुनेछ । व्यापार–व्यवसाय गर्ने मौका मिल्नेछ ।’ 

इन्द्रेसले सम्बोधनमा नाम लिएका सबै स्थानहरु पाकिस्तानका महत्वपूर्ण सहरहरु हुन् ।  ‘सन् १९४७ भन्दा पहिले पाकिस्तानको अस्तित्व थिएन । मानिसहरु सन् १९४५ भन्दा अघि त्यो हिन्दूस्थान थियो भन्छन् । सन् २०२५ पछि पुनः त्यो हिन्दुस्तान हुदैंछ,’ उनले भने ।

इन्द्रेशले सम्बोधनका क्रममा भारतीय हिन्दुत्ववादी दक्षिणपन्थीहरुले उठाउने गरेको ‘अखण्ड भारत’को पनि चर्चा गरे । उनले वर्तमान भारतको सरकार यस लक्ष्यतर्फ अघि बढेको र बंग्लादेशमा सफलता हासिल गरिसकेको बताए । 

भारतमा हाल यस लक्ष्य हासिल गर्ने इच्छाशक्ति भएको सरकार रहेको बताउदैं उनले भने, ‘अब हामीहरुले लाहोरमा बस्ने र चीनको अनुमति नलिई कैलाश–मानसरोवर जाने सपना पाल्न थालेका छौं । ढाकामा हामीले आफ्नो पक्षको सरकार बनाएका छौं । अब हामी युरोपेली संघजस्तो भारतीय संघ ‘अखण्ड भारत’को निर्माणको बाटोमा छौं ।’

सम्बोधनका क्रममा उनले विपक्षी पार्टीका नेताहरु पुलवामा आक्रमणपछि आफ्ना पार्टीका केही नेताको मन्तव्यबाट अचम्मित परेको दावी गरे । उनले तिनलाई ‘देशद्राही’ भन्दै तिनीहरुमाथि कारबाही हुने कानुन ल्याउनुपर्ने माग गर्दै उनले भने, ‘त्यसपछि न नसीरुद्दीन हुन्छ, न हमिद अन्सारी हुन्छ वा न नवजोद सिद्धु नै ।’

सम्बोधनमा उनले चीनबारे पनि बोले । उनले चीनले अन्तर्राष्ट्रिय मामिलामा पाकिस्तानको समर्थन गर्ने कुराको पनि आलोचना गर्दै भने, ‘चीनले पाकिस्तानलाई समर्थन गर्नुको कारण छ । हामीहरुले चीनलाई दोक्लमबाट गोलि नचलाई हरायौं । विश्वले चीनलाई हराउन नसकिने ठान्ला तर हामीले त हरायौं । यसैले उ हामीसँग क्रुद्ध छ ।’

–इण्डियन एक्सप्रेसबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप