शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली

आइतबार, ०३ चैत २०७५, १३ : ५१
आइतबार, ०३ चैत २०७५

–सुशीला रेग्मी 

बेझाड– तीन दशकअघिदेखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् ।  सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशियाली छाएको हो । 

जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी जग्गादर्ता समिति गठन आदेश २०७५ सरकारले स्वीकृत गरेपछि रोकिएको लालपूर्जा पाउने खबरले उत्साहित बनेका हुन् । 

हालको रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी मावि र वडा नं ६ स्थित दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले त्यहाँका घर घडेरी बिक्री गरेपछि स्थानीयवासीले विसं २०३५÷०३६ देखि नै सो जग्गा भोगचलन गर्दै आइरहेका छन् । 

रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्नेक्रम जारी छ । उद्योग, व्यापार व्यवसाय दिनानुदिन खुल्ने सङ्ख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपूर्जा नपाउँदा चिन्तित बनेका थिए । 

लालपूर्जाविहीन बनेका रामपुर नगरपालिका– ५, ६ र ७ का ८५६ घरधुरीका स्थानीयवासी लालपूर्जा पाउने सरकारले निर्णय गरेसँगै खुशी व्यक्त गरेका छन् । रामपुर नगरपालिका– ५ बेझाड बजारका डिलमाया सोमैले २५ वर्षअघि रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा लालपूर्जा पाउने आशामा घडेरी लिए । 

उनले लामो समय भइसक्दा पनि लालपूर्जा नपाएपछि आशा मारिसकेका थिए । अहिले सरकारले रामपुर नगरपालिकाअन्तर्गतको जग्गा दर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि उनी ढुक्क भएका छन् । ‘पटकपटक लालपूर्जा पाइन्छ भन्ने तर नपाउँदा अब पनि के पाइएला र ? भन्ने लागेको थियो, सरकारले यसबारेमा निर्णय गरेको खबर सुन्दा आशा जागेको छ’, उनले भने । 

विद्यालयको नाममा रहेका घरघडेरीलाई व्यक्तिको नाममा उपलब्ध गराउन सरकारमा सहभागी उच्च व्यक्ति, राजनीतिक दलका नेतृत्व गरेका व्यक्तिले लालपूर्जाका लागि आशा देखाएको तीनदशक हुँदासम्म पनि रामपुरवासीले लालपूर्जा पाउन सकिरहेका थिएनन् । तर लामो समयपछि भए पनि लालपूर्जा पाउने कुराले उनीहरु उत्साहित बनेका छन् । 

पार्वती न्यौपाने पनि आफू बसेको घरघडेरीको जग्गा धनी लालपूर्जा नहुँदा चिन्तित थिइन् । जग्गा धनीपूर्जा नभएकै कारण घरघडेरी किनबेचमा पनि केही समस्या आएको उनले बताइन् । ‘सरकारले जग्गाधनी पूर्जा दिने सम्बन्धमा निर्णय गरेको भन्ने खबर सुनिएको छ, पहिलेभन्दा अहिले केही आशा पलाएको छ’, न्यौपानेले भनिन् । 

रामपुर नगरपालिका–६ विजयपुरका स्थानीयवासी नारायणप्रसाद पाठकले दरैठाटी माविको नामबाट वितरण गरेको जग्गामा बसोबास गर्दै आएका छन् । लालपूर्जा पाउने खबरले उनी पनि हर्षित बनेका छन् । 

वि.सं २०७१ वैशाख २५ गते रामपुर गाउँविकास समितिबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपूर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका थिए । 

लामो समयसम्म समस्याका रुपमा अल्झिएको अव्यवस्थित घर घडेरीको समस्याले समाधान पाएपछि रामपुरको विकासले गति लिने रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । 

सरकारले रामपुर नगरपालिकाअन्तर्गतको जग्गा दर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि अहिले यहाँ गाउँ, टोल, बजार, चोकमा एकापसमा बहस हुन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप