शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ३ काे प्रदेशस्तरीय प्रहरी स्कुल चितवनमा राखिने

आइतबार, ०३ चैत २०७५, ०९ : ३८
आइतबार, ०३ चैत २०७५

चितवन - प्रदेश नं ३ स्तरीय नेपाल प्रहरी स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र महानगरपालिकाबीच सम्झौता भई सकेको छ । 

शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो । शिशु कक्षादेखि ५ सम्म सञ्चालनमा रहेने विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएर गाभ्न लागिएको थियो । स्कुल सञ्चालन गर्न लागेको विद्यालयमा ५९ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई पुलिस स्कुलले कक्षा ५ सम्म निःशुल्क पढाउने भएको छ । 

स्कुलमा यसै साताबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न लागिएको अधिकारीले जानकारी दिए । प्रदेशस्तरीय पुलिस स्कुलमा हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ । हरेक वर्ष कक्षा थप गर्दै कक्षा १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले जानकारी दिए । 

एउटा कक्षामा ३० जनाको दरले सुरुवातमा एक सय ५० जनालाई पढाउने उनले बताए । पढाईका लागि प्रिन्सिपल नियुक्ति गरिसकिएको छ । प्रहरीको यो नवौँ स्कुल हो । पहिला विकास क्षेत्रअन्तर्गत रहेको यस स्कुल अहिले संघीयतासँगै हरेक प्रदेशमा खोल्न लागिएको हो । 

प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरी स्कुल नयाँ सञ्चालन गर्ने योजनाअनुसार चितवनमा यस शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइएको हो । यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा सञ्चालन गरिएको थियो । सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा स्कुल खोलिएको हो । स्कुलमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ । 

महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेश नम्बर ३ को पुलिस स्कुल भरतपुरमा खोल्न गरिएको पहलअनुसार सुरु हुन लागेको  बताइन् । आधारभूत विद्यालयको जग्गा मध्येबाट २ बिघा क्षेत्रफल र कक्षा कोठा पुलिस स्कुललाई दिइएको उनले जानकारी दिइन् । 

आधारभूत विद्यालयलाई हनुमाननगरमा रहेको विद्यालयमा गाँभिने र अन्य सामग्री सोही विद्यालयमा पठाउने उनले बताए । महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरीब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भएको मेयर दाहालले  बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप