विलासी जीवनले हाडजोर्नीसम्बन्धी समस्या निम्त्याउन सक्छ
काठमाडौँ । शरीरका विभिन्न जोर्नी नदुख्ने व्यक्ति कमै होलान । गर्र्धन, ढाड, कम्मर, घुँडा दुख्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ । शरीरका यी जोर्नीहरू दुख्ने धेरै समस्या हाडजोर्नीसम्बन्धी नै हुन् । धेरैले हाडजोर्नीको समस्यालाई बाथ रोग भन्दै खानपानमा धेरै कुरा बार्ने पनि गरेका छन् । कस्ता समस्या हाडजोर्नीसम्बन्धी समस्या हुन्, नेपालमा यसको अवस्था के छ, कसरी लाग्छ, कस्ता व्यक्तिमा यो समस्या देखापर्छ, बच्न के गर्नुपर्छ ? लगायत विषयमा ह्याम्स हस्पिटलका मेडिकल डाइरेक्टर डा. भास्करराज पन्तले जानकारी गराएका छन् ।
भौगोलिक हिसाबले नेपालमा हिमाल, पहाड र तराई छ । भौगोलिक बनावटअनुसार हाडजोर्नीमा फरक खालका समस्या देखिन्छन् । जो नियमित काम गर्छन्, त्यस्ता व्यक्तिको हड्डी बलियो हुन्छ । तर खानपानमा पोषण नमिल्दा हड्डी पातलो हुने समस्या हुनसक्छ ।
उमेर बढ्दै गएपछि हड्डी खिइने, पातलो हुने समस्या देखापर्छ । महिलामा महिनवारी रोकिएपछि हड्डी पातलो हुने समस्या देखिन्छ । नियमित दूध दही खाने र खेती किसानी काम गर्ने व्यक्तिको हड्डी बलियो हुन्छ ।
हड्डीसम्बन्धी समस्या सहरी क्षेत्रमा धेरै
नियमित काम गर्ने, हिँडडुल गर्ने व्यक्तिको हाडजोर्नीको समस्या कम हुन्छ । । सहरी क्षेत्रका मानिसले कम काम गर्ने आराम धेरै गर्ने गर्छन् । प्याकेटका रेडिमेड खाना धेरै खाने गर्छन् । कार्यालयमा धेरै समय बिताउने र शारीरिक व्यायाम कम गर्ने गर्छन् । यस्ता व्यक्तिमा हाडजोर्नीको समस्या बढी मात्रा देखिएको छ । सहरी क्षेत्रका मानिसमा ४० वर्षदेखि नै जोर्नीमा विभिन्न समस्या देखापर्छन् ।
भूगोल, खानापान र दैनिक जीवनयापनको कुराले पनि हाडजोर्नीसम्बन्धी धेरै समस्या उत्पन्न हुन्छ । पछिल्लो समय हाडजोर्नीमा नयाँ समस्या आएको देखिन्छ । त्यो समस्या भनेको खेलकुदमा धेरै सहभागी हुने व्यक्तिमा लिगामेन्ट तन्किने, छिन्ने जस्ता समस्या हुन् ।
क्षयरोगका कारणले लागेको बिरामीमा ढाडको हड्डी कोल्याब्स हुने समस्या पनि हुन्छन् । आजकाल दुर्घटना हुँदा हाडजोर्नीमा समस्या आउने घटना धेरै छन् ।
जन्मजात पनि समस्या हुनसक्छ
जन्मजात पनि हाडजोर्नीसम्बन्धी समस्या आइरहेका छन् । खुट्टा बाङ्गो हुने, ढाड बाङ्गो हुने जस्ता जन्मजात समस्या पनि देखापरेका छन् । कतिपय व्यक्तिको उमेर बढ्दै गएपछि ढाड बाङ्गो हुँदै जाने समस्या पनि छन् । मानिसमा जन्मजात देखिने यस्ता समस्यामा कुनै केसमा भने रोगको अवस्था हेरेर अप्रेसन गर्नुपर्ने अवस्था पनि हुन्छ ।
सबै बाथ बार्नुपर्दैन
युरिक एसिडबाट हुने बाथ र वंशाणुगत बाथ फरक हुन् भने उमेर बढ्दै जाँदा हड्डी खिइने बाथ फरक हो । तर हाम्रो समाजमा बाथको कारण नै नबुझी खाना बार्ने चलन छ । तर सबै बाथलाई खाना बार्नुपर्दैन ।
काम अनुसारको समस्या
हाडजोर्नीसम्बन्धी समस्या सबै व्यक्तिलाई एउटै हुन्छ भन्ने पनि छैन । यस रोगमा तपार्इंको कामको प्रकृति, भूगोल र दैनिक खानपानमा निर्भर रहन्छ । कम्प्युटरमा धेरै काम गर्ने मान्छेको घाँटी दुख्ने समस्या आउन सक्छ ।
निहुरेर झाडु लगाउने, पलेँटी कसेर बस्ने, होचो शौचालयमा बस्ने बानीले गर्दा महिलामा कम्मर दुख्ने समस्या हुनसक्छ । सहरी क्षेत्रका महिलामा महिनावारी बन्द भएपछि मोटोपन बढी हुनेमा ढाडको हड्डी खिइने दुख्ने समस्या धेरै हुन्छ । त्योबाहेक कतिपयले हाडजोर्नीसम्बन्धी समस्यालाई बाथ भन्ने अनि कारण थाहा नपाई खानपान बार्ने गर्दा आवश्यकता अनुसार खाना नखाँदा हड्डी पातलो हुने समस्या पनि धेरै देखिएको छ ।
हिमाली र पहाडी क्षेत्रका मानिसहरू उकालो ओरालो हिँडिरहेका हुन्छन् । पर्याप्त मात्रामा दूध दही पनि खाइरहेका हुन्छन्, त्यस्ता व्यक्तिको हड्डी बलियो हुन्छ । खानपान, व्यायम नमिलेर जोर्नी छिटो खिइने मांसपेशी कमजोर हुने गर्छ ।
मोटोपनले कम उमेरमा समस्या देख्न थाल्यो
नेपालमा पछिल्लो समय देखिएको हाडजोर्नीको समस्याको बारेमा कुरा गर्ने हो भने मोटोपन पनि एउटा कारण बनेको छ । मोटोपन बढेको हँुदा कम उमेरमा नै हड्डी खिइने, ढाड दुख्ने, कम उमेरमा घुँडाहरू खिइने जस्ता समस्या देखिन्छन् ।
बुढेसकालमा भने घुँडा खिइने, हिप खिइने जस्ता समस्या देखापर्छन् । ढाड दुखाइ, चोटपटक लागेर हुने लिगामेन्ट इन्जुरी, बसाइ नमिल्दा घाँटी दुख्ने समस्या हाडजोर्नीका समस्या हुन् । यस्ता समस्या बालबालिका, युवा, महिला सबै उमेरका व्यक्तिमा हुन्छ । युवा उमेरका व्यक्तिमा हाडजोर्नीको समस्याको कुरा गर्नुपर्दा दुर्घटनाले गर्दा आएका समस्या धेरै छन् ।
जीवनयापन, खानापानमा दाल, गेडागुडी, माछा, मासु, अण्डा, दूध, दही नियमित सेवन गर्नु राम्रो हो । तर बाथ भन्दै यस्ता कुरा एकथरी मान्छेले बार्न थालेका छन्, जुन गलत हो । प्राकृतिक खान थाल्नुपर्यो तर अहिले जङकफुड धेरै खान थालिएको छ, जसले गर्दा हाडजोर्नीमा समस्या आउन सक्छ ।
दुखाइ कम गर्ने औषधिले हड्डी पातलो बनाउँछ
हाडजोर्नी उपचारका लागि काठमाडौँका नागरिक केही समस्या देख्ने वित्तिकै अस्पताल आउने चलन छ । तर काठमाडौँ बाहिरबाट आउने बिरामीको अवस्था हेर्ने हो भने हाडजोर्नी रोगी धेरै समयपछि आउने गरेका छन् । हड्डीसम्बन्धी धेरै समस्या भोग्दा पनि उपचार नपाएकाले हड्डी एकदमै खिइसकेको अवस्थामा अस्पताल आउँछन् ।
हड्डीसम्बन्धी समस्या देखापर्नेवित्तिकै धेरैले कारण नै थाहा नपाई दुखाइ कम हुने औषधि खान्छन् । धेरै समस्या देखापरेपछि मात्रै अस्पताल आउने चलन पनि नभएको होइन ।
हामीले रोगको पहिचान नै नगरी दुखाइ कम गर्न खाने औषधिले (जस्तै कतभचयष्म) पनि हड्डी पातलो बनाउँछ । यस्तै हार्माेनल औषधिहरूले पनि हड्डी पातलो बनाउछ । थाइराइड हुने महिलामा क्याल्सियम मेटापोलिजम बिग्रिन्छ अन्त्यमा हड्डी पातलो हुने समस्या हुन्छ ।
अवैज्ञानिक कुराको पछि नलाग्दा नै राम्रो
शरीरमा केही पनि रोग छैन भने फिजियोथरोपी, दुखाइ कम गर्नका लागि मालिस गर्ने काम ठिकै हुन सक्ला । फिजियोथेरापिक्स कहाँ जाँदा रोग यो हो चिकित्सक कहाँ जानु भनेर पठाउँछन् । तर नेपालमा शरीरको विभिन्न दुखाइ कम गर्ने भनेर अवैज्ञानिक उपचार पद्धतिहरू पनि आएका छन् ।
दुखाइ कम गर्नका लागि अस्पताल जानेभन्दा पनि धामी झाँक्री लगाउने, दुखाइ कम गर्ने औषधि खाने, अथाभावी सेक्ने, खरानी लगाउने जस्ता कामहरू गलत हुन् । आयुर्वेदमा पनि नेपालमा राम्रो राम्रो उपचार पद्धति छन् । तर वास्तविक आयुर्वेद हो कि होइन भन्ने कुरा जान्न जरुरी छ ।
आयुर्वेदमा औषधि प्रयोग गर्न सकिने मिति लेखेको छ भने राम्रो हो तर कहिले काहीँ आयुर्वेदको नाममा धेरै डोजको एलोपेथिक अर्थात मेडिकलको औषधि पनि मिसाएर ठीक पारिएको हुन सक्छ । यस्ता कुरामा नागरिक सचेत हुनुपर्यो ।
शरीर दुखेको ठीक हुन्छ भन्दैमा कालो गोली औषधि बेच्ने, तेलले मालिस गर्ने जस्ता अनावश्यक कुरामा सरकारले कडाइ गर्न जरुरी छ । सरकारले किड्नी फेल भएका बिरामीलाई निःशुल्क उपचार डायलासिसको व्यवस्था गरेको जस्तै औषधि पसल पसलमा पेनकिलर बेच्न पनि रोक लगाएको भए किड्नीको समस्या नै हुँने थिएन । मैले भन्न खोजेको समस्याको जड कहाँ हो, त्यहाँ सरकारको ध्यान जानुपर्छ ।
यसकारण उपचार महँगो
हाडजोर्नीसम्बन्धी उपचार महँगो भएको कुरा आइरहेको पनि छ तर उपचारको अवस्थाअनुसार शुल्कमा फरक पर्छ । जस्तै; सामान्य फ्याक्चर भयो, प्लास्टर मात्रै लगाउने हो भने खासै महँगो पर्दैन, संसारभर लगाउने प्लास्टरको मूल्य एउटै हो । तर जोर्नी नै फेर्नुपर्ने अवस्था आएको खण्डमा भने सामान अमेरिकाबाट ल्याउनुपर्ने हुन्छ, जसले गर्दा उपचार महँगो हुन पुगेको हो । केही हदसम्म सस्तो पार्नका लागि छिमेकी देश भारत सरकारले जोर्नी प्रत्यारोपणको दररेट शुल्क तोकेपछि हाडजोर्नीको उपचार केही हदसम्म भए नि सस्तो भएको छ ।
यस्तै; नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र औषधि व्यवस्था विभागले पनि शुल्क तोक्न जरुरी छ । हाडजोर्नीसम्बन्धी सामान नेपाल, भारत र विभिन्न विदेशी कम्पनीका सामान नेपालमा पाइन्छन् । तर कुनै हाडजोर्नीसम्बन्धी सामान अमेरिकामा मात्रै बन्छ र अमेरिकाले नै बजार मूल्य तोकेको हुन्छ । नेपालसम्म ल्याउँदा ट्याक्सलगायत विभिन्न कुरा जोड्दा महँगो नै हुन्छ । अर्काे कुरा अस्पतालमा डाक्टरले लिने सर्जिकल चार्ज नै अस्पतालअनुसार फकर फरक हुन्छ, जसले गर्दा उपचार महँगो भएको हुनसक्छ ।
रोग नलाग्न यसो गर्नुस्
हाम्रो हजुरबुबा हजुरआमा कसरी बाच्नुहुन्थ्यो ? केके गर्नुहुन्थ्यो र उहाँहरू कसरी निरोगी हुनुभयो ? यी कुरा जान्न आवश्यक छ । घरमा गाई पालेर घाँस खुवाएर दूध खान सकेको भए हड्डी बलियो हुन्थ्यो तर त्यही कुरा हामीले गर्न सकेनौँ । त्यो सम्भव पनि छैन अहिले जीवनयापनमा धेरै भिन्नता भइसकेको छ ।
हामीलाई सुन्तला खान गाह्रो लाग्न थाल्यो । एक बट्टा जुस पिउन सजिलो भयो । जुसमा केमिकल छ । चिनी छ । पानी छ । सुन्तलामा मात्र प्राकृतिक तत्व छ । तर हाम्रो खाने बानी छैन । हिँड्ने, पौडी खेल्न जाने, साइकल चलाउने के गर्न सकिन्छ, दैनिक एक घण्टा व्यायाम गर्ने । दोस्रो कुरा, खानापान हाम्रो प्राकृति खाना (दूध, दही, फलफूल, सागपात, गेडागुडी) क्याल्सियम, भिटामिन डी र प्रोटिन भएको खानेकुरा खानुपर्यो ।
दूध, माच्छा, मासु खाएर मात्रै कोलेस्ट्रोल बढ्ने होइन, चिल्लो नभएको दूध तर काटेर खाँदा राम्रो हुन्छ । बोसो नभएको मासु खान सकिन्छ । खानै छोड्ने होइन, मात्रै हामीले कस्तो खाने भन्ने कुरा जान्नुपर्छ । फाइदा हुने कुरा खानुपर्यो । डाक्टरले पनि यही कुरा बुझाउन सक्नुपर्छ ।
बिरामीले आफूमा आएको समस्या सम्बन्धित चिकित्सकलाई नदेखाई औषधि खानु भएन । यता सरकारले पनि प्रेस्क्रिप्सनबिना औषधि बेच्न बन्द गर्न सक्यौँ भने धेरै हदसम्म रोगीको सङ्ख्या कम गर्न सकिन्छ ।
किटनास औषधि, रासायनिक मल, अखाद्य वस्तु मिसाइएको खाना नियमन गर्ने हो भने अन्त्यमा जनताको स्वास्थ्य नै राम्रो हुने हो । सरकारलाई मात्रै भन्नुभन्दा पनि प्रत्येक मान्छेले आफ्नो शरीरको ख्याल गर्ने हो । नियमित शारीरिक व्यायम गर्ने हो भने धेरै रोगबाट बच्न सक्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?
-
माछाको आयात प्रतिस्थापनमात्र होइन, निर्यात गर्ने लक्ष्य
-
महानगरले हुलाकबाट पठायो एमालेलाई जरिवानाको पत्र
-
माछामा आत्मनिर्भर बन्ने सरकारी सोच नै छैन
-
राखेपले बोलायो ११८ औँ बोर्ड बैठक, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिन आग्रह