बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सर अस्पतालमा पूर्वाधार छ, जनशक्ति छैन

शनिबार, ०२ चैत २०७५, ०९ : ०८
शनिबार, ०२ चैत २०७५
बाँके - गत असार ११ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक उपकरण र विशेषज्ञ डाक्टरको व्यवस्थापन हुन सकेको छैन । अत्याधुनिक प्रविधिसहित विभिन्न संरचना निर्माण भए पनि अस्पतालमा क्यान्सर विशषज्ञको क्यान्सर उपचारमा प्रयोग हुने प्रविधि रेडियसन सेटअप नभएकाे हाे । 

सञ्चालनमा आएको लामो समय हुँदा पनि अस्पतालमा आवश्यक जनशक्ति नहुँदा बिरामीलाई समस्या भएको छ । पश्चिम तराईको एक मात्र क्यान्सर अस्पताल भएकाले उपचारका लागि आउने बिरामीको चाप बढेसँगै विशेषज्ञ चिकित्सक र क्यान्सर पत्ता लगाउने प्रविधि अभाव हुँदा अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउने गरिएको छ । सय बेडको स्वीकृति पाएको  अस्पतालमा ३० जना विशेषज्ञ डाक्टरसहित २ सय बढी जनशक्तिको आवश्यक पर्छ । 

अस्पतालमा हाल साधारण फलोअपमा आउने बिरामीलाई परामर्श, माइनर बायोप्सी, ओपिडी, एक्सरेलगायत सेवा दिए पनि आवश्यक जनशक्ति नहुँदा रोग पत्ता लगाउने मुख्य सेवा सञ्चालन नभएकाे अस्पतालका कार्यकारी निर्देशक विश्वराम पौडेलले बताए । 

अस्पतालमा हाल दुई जना मात्र विशषज्ञ चिकित्सक, एक–एक जना फिजिसियन र सर्जन र करारका अन्य कर्मचारीसहित ४५ जनाले सेवा दिइरहेका छन् । अस्पताललाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि सरकारले ढिलाइ गर्दा अस्पतालको सेवा प्रवाह हुन नसकेको अस्पताल स्रोतले जनाएको छ । जनशक्ति स्वीकृत भएर व्यवस्थापन भए पूर्णरुपमा सेवा दिन सक्ने अस्पतालले जनाएको छ । 

अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दीलगायत अन्य अत्यावश्यक सामग्रीका लागि पटक–पटक मन्त्रालय र विभागमा अनुरोध गरे पनि सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ । “दरबन्दी स्वीकृत गरिदिन ६ महिनादेखि मन्त्रालयलाई पत्र पठाएकाे र आफैँ पुगेर भेटेरै अनुरोध गरिरहेका छौँ ।”, कार्यकारी निर्देशक पौडेलले भने , “अहिलेसम्म दरबन्दी पाउन नसक्दा बिरामीलाई सेवा दिन गाह्रो भएको छ ।” 

कार्यकारी निर्देशक पौडेलका अनुसार हाल अस्पताललाई आवश्यक पर्ने मुख्य रेडियसन सेटअप हुन सकेको छैन । रेडियसन सेटअप नहुँदासम्म क्यान्सरसम्बन्धी सेवा पूर्ण हुँदैन । रेडियसन मेसिन खरीद गर्न करिब ३० करोड बजेट आवश्यक पर्दछ । हाल अस्पतालले चालू आर्थिक वर्षको १७ करोड बजेटबाट सिटी स्क्यान, म्यामोग्राम, ल्याप्रोसकोपी, इन्डोसकोपी र सिस्टोस्कोपी लगायतका उपकरण खरीदका लागि टेन्डर प्रकृयामा रहेको उनले जानकारी दिए । 

जनशक्ति अभावमा ६० बेडबाट सेवा शुरु गरेको अस्पतालमा दैनिक २० देखि ३० जना बिरामीहरुले सेवा लिइरहेका छन् । दुई सातायता केमोथेरापी सेवा पनि शुरु भएको छ । तर, यी सेवा सञ्चालनमा आएपनि मुख्य सेवा यहाँबाट उपलब्ध नहुँदा समस्या भएको श्रीमतीको उपचारका लागि सल्यानबाट आएका ईन्द्र गिरीले बताए । 

एक दशकअघि प्रखर परोपकार मिसनले क्यान्सर अस्पताल सञ्चालनका लागि धनधान्यञ्चल महायज्ञबाट सङ्कलित पाँच करोड २६ लाख र संस्थाको तीन करोड २६ लाखमा नेपाल क्यान्सर अस्पतालको नाममा पूर्वाधार निर्माणका काम थालेको थियो । सरकारको ०७३ फागुन १५ को मन्त्रिपरिषद् बैठकले गठन आदेश जारी गरी संस्थाको जग्गा, भवन र सम्पूर्ण सम्पत्ति आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्ने निर्णय गरेपछि करिब २७ करोड बजेट विनियोजन गरेर अस्पतालको काम अघि बढेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप