क्रान्तिकारीको राष्ट्रिय सम्मेलनः नेतृत्व हत्याउने होडबाजी
काठमाडौं–नेकपा माओवादीको भातृसंगठन अनेरास्वीयु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन (भदौ ७–११) राजधानीमा हुँदैछ । सम्मेलनको मिति घोषणासँगै संगठनमा चहलपहल बढेको छ । क्रान्तिकारीको अहिलेसम्मको इतिहास हेर्दा सर्वसम्मत नेतृत्व छान्ने प्रचलन रहँदै आएको छ ।
दश वर्षे जनयुद्धमा महत्वपूर्ण योगदान दिएको संगठन शान्तिपूर्ण राजनीतिमा आएसँगै खुकुलो हुँदै गएको हो । तर, दश वर्षे जनयुद्दमा उठाएमा आफ्नै मुद्दाहरु पनि यो संगठनले पूरा गर्न सकेको छैन । अझ भनौं आफैले उठाएर स्थापित गरेका मुद्दाहरु अहिले यो संगठनले बहसमा नै ल्याउन चाहँदैन । अथवा ल्याएको देखिदैनँ ।
कुनै समयमा नीजि शिक्षाको विकल्प खोजिनु पर्ने माग गदै आएको क्रान्तिकारी अहिले त्यहि निजी शिक्षाको भार मुनि च्यापिएको क्रान्तिकारीका नेताहरु नै स्वीकाछन् ।
अहिले क्रान्तिकारीको माउ पार्टी माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा तेस्रो पार्टी बनेको छ । क्रान्तिकारीको अवस्थापनि त्यहि रहेको छ । देशभरी भएका स्ववीयुको निर्वाचनमा उसले राम्रो उपस्थिति जनाउन सकेन ।
मुद्दा बलियो संगठन कमजोर
क्रान्तिकारीका मुद्दा अहिलेपनि बलिया छन् । यदि साच्चै संगठनले नेपालमा फस्टाउँदै गएको शिक्षाको व्यापारीकरणलाई मात्र व्यवस्थीत गर्न सक्ने हो भने आम नागरिकको पहुँचमा शिक्षा पुग्न सक्छ ।
शिक्षा सेवा हो व्यापार होइन भन्ने मुद्धा अलपत्र छोडेर २१ औ राष्ट्रिय सम्मेलन गर्नुको कुनै तुक नहुने विद्यार्थीहरु नै बताउँछन् । तर नेतृत्व गर्नेहरुमा भने मुद्धा भन्दा पनि आफु सुरक्षित हुने ध्यान देखिएको छ ।
क्रान्तिकारीलाई अहिले सम्म अनुशासित र कम्युनिष्ट आचरण भएको संगठनको रुपमा मानिँदै आएको छ । तर २१ औ सम्मेलनको संघारमा जसरी र जुन तरिकाले विद्यार्थीहरु बहसमा उत्रेका छन् । यो हेर्ने हो भने पूँजीवादी पार्टीका भातृ संगठन भन्दा कुनै पनि हिसाबमा फरक छैनन ।
भृकुटीमण्डका चिया पसलमा उम्मेदारी घोषणा
क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरु आजभोली भृकुटी मण्डपमा बिहान देखि राती ८ बजे सम्म जमघटमा हुन्छन् ।
यी जमघटमा संगठनको विचार,विधान र आगामी कार्यदिशाका बारेमा बहस हुँदैन । निति, विचार र कार्यदिशा अनुसार संगठन चलेको छ कि छैन ? छ भने कहाँ के के गल्ती भए ? कसरी सच्याएर जाने ? भन्ने सवालमा खासै बहस सुनिदैन ।
जमघटमा बहसको केन्द्र हुने अबको नेतृत्व आफुले हत्याउने भन्नेमै केन्द्रीत हुने गरेको छ । जनवादका नाममा क्रान्तिकारीमा आफ्नो उम्मेदवारी सामाजिक संजाल र भृकुटीमण्डपका चिया पसलबाट सुरु भएको छ । तर संगठन कमजोर बन्नुमा कसको कमजोरी भयो, कसरी सुधार्न सकिन्न भन्ने जस्ता सवालमा भने गम्भीर भएको देखिँदैन ।
अहिले क्रान्तिकारीको केन्द्रीय समिति नै ११ सयको छ । एक जना उपाध्यक्षले ११ सयको केन्द्रीय सदस्यलाई व्यङग गदै भने, ‘देशभरी ११ केन्द्रीय सदस्यका ११ वटा गतिला इकाइ समिति छैनन् । कसरी संगठन उभो लाग्छ?’
एकता पछिको अवस्था
पार्टी एकता भएको एक बर्ष भन्दा बढी भएको छ । पार्टीको एकतासंगै विद्यार्थी संगठनहरु बीच पनि एकता भएको छ । एकता पनि संगठनमा संख्या बढाउने बाहेक अरुमा हुन नसकेको एक उपाध्यक्षले गुनासो पोखे ।
ती उपाध्यक्ष भन्छन् ‘एकता भनेको विचारको,संगठनको,भावनाको हो । तर यहाँ त संख्या थपेरमात्र एकता भएको जस्तो भयो । अहिले सम्म विचारमा एकता,भावनामा एकता र कार्यदिशामा एकता भएको नै छैन । संस्थापन भन्नेहरुले छोइछिटो गर्छन । यो कस्तो एकता हो ?’
जोड घटाउमा नेताहरु
११ सयको केन्द्रीय समिति भएको संगठनमा करिब ११ सय जति प्रतिनिधि आउने छन् । यी २२ सय प्रतिनिधिहरुले निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अवस्था आयो भने रोचक प्रतिस्पर्धा हुने निश्चित छ । त्यसैले त विद्यार्थी नेताहरु भृकुीमण्डप र सुन्धाराका होटलमा बसेर जोडघटाउनमा व्यस्त देखिन्छन् ।
तर, महिला विद्यार्थी स्मृति अधिकारी र राजेश्वरी सुवेदीले क्रान्तिकारीको नयाँ नेतृत्व शैक्षिक माफिया र नेता मुखि नभई शिक्षालाई गुणस्तरीय बनाउन सक्ने खालको हुनुपर्नेमा जोड दिए ।
नेतृत्वमा क–कसको दाबेदारी ?
२२ सय प्रतिनिधिले भोट हालेर नेतृत्व छानेमा कसको पल्ला भारी हुन्छ भन्ने बहसपनि हुन थालेको छ । ११ सय केन्द्रीय सदस्यमा ६ सय संस्थापन पक्षका छन् । ४ सय वादलबाट एकतामा आउनेहरुका छन् । १ सय अन्य एकतामा आएकाहरुको संख्या छ ।
संस्थापन पक्षबाट अध्यक्षका दाबेदारमा पाँच जना देखिएका छन् । वादल पक्षबाट अहिले चर्चा तीन जनाको भएपनि अन्तमा एक जना सर्वसम्मत उम्मेदार बन्ने छन् ।
संस्थापनबाट अध्यक्षका दाबेदार
१ अनिल शर्मा
२ रन्जीत तामाङ
३ पन्चा सिंह
४ मदन प्रभात
५ रामचन्द्र अधिकारी
वादल समुहबाट
१ विरेन्द्र बस्नेत
२ उत्तम अधिकारी
३ खुशिराम चौधरी
यदि निर्वाचन भएमा संस्थापन पक्षबाट दुई जना उम्मेदार र वादल समुहबाट एक जना उम्मेदार मैदानमा देखिने चर्चा विद्यार्थीहरुमाझ चलेको छ ।