शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्याम्सले पदाधिकारी पायो

शनिबार, ०२ चैत २०७५, ०० : ०६
शनिबार, ०२ चैत २०७५

काठमाडौं । लामो समयको माथापच्ची र रस्साकस्सीपछि अन्ततः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा पदाधिकारीहरुको नियुक्ति भएको छ ।  प्रधानमन्त्री केपीशर्मा ओलीले न्याम्सको उपकुलपतिमा  सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गरेका छन् । 

उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई आज नियुक्त गरेका हुन् । 

यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधानतथा स्वास्थ्यमन्त्री यादवले न्याम्सका अन्य पदाधिकारीको पनि आजै नियुक्ति गरेका छन् । जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य, इलामकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्ति गरिएको छ । सबैको पदावधी चार बर्षको हुनेछ ।  

न्याम्स अन्तर्गतकै वीर अस्पताल नर्सिङ क्याम्पसको क्याम्पस प्रमुख तथा स्वास्थ्य सेवाअन्तर्गत एघारौं तहका कर्मचारी समेत रहेकी  देवान नर्सिङ फ्याक्ल्टीबाट न्याम्सको रजिस्टार जस्ताे उच्च पद मा पुग्ने पहिलो व्यक्ति हुन् । सो पदमा उनको नियुक्तिले सरकारले यसपटक नर्सिङ क्षेत्रलाई समेत महत्वका साथ कदर गरेको देखिन्छ । त्यसो त यसअघि सो पदको दावेदारको रुपमा देखापरेका नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माको नियुक्ति हुने चर्चा समेत चलेको थियो । तर अन्तिम समयमा आएर देवानले सो पदमा नियुक्ति पाएका थिए ।

प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानतथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साहलगायत सबैलाई आजै बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । 

सपथपछि प्रधानमन्त्रीओलीले भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । ‘५ सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस् । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको वीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले बरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निर्देशन समेत दिएका छन् । ‘सिनियर भएपछि काम गर्नुनपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ’ प्रधानमन्त्री ओलीले भनेका छन् । 

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार  सुधार गर्न आग्रह रेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप