शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट फर्किएकाहरुमा कालाजार देखियो

शुक्रबार, ०१ चैत २०७५, १५ : ०४
शुक्रबार, ०१ चैत २०७५

दार्चुला– भारतमा झण्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ । 

भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आएका धामी गत साउन महीनामा घर फर्किएका थिए । शुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आएका उनको सो रोग निको नभएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउँदा कालाजार भएको पाइएको चिकित्सक अनिल बडालले जानकारी दिए । 

रगत परीक्षण गर्दा कालाजार भएको प्रमाणित भएकाले उनलाई जिल्ला अस्पतालले औषधि दिएर थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी जान भनेको जनाइएको थियो । 

हिमाञ्चलमा कुक भएर काम गरेँ, धनसिंहधामीले भने, ‘भट्टामा तन्दुरी हाल्थे, स्वास्थ्यको ख्याल गरिएन् । आफू १५ वर्षको उमेर हुँदादेखि हिमाञ्चलमा बस्दै आएको र अहिले घर फर्किदा ज्वरो आउने र कमलपित्त हुनेजस्ता लक्षण देखिएको थियो ।’ 

गतवर्ष कालाजारका बढी बिरामी भेटिएका कारण क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो वर्ष अहिलेसम्म औषधिलगायत किट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले बताए ।

गतवर्ष महाकाली नगरपालिकाकै चार जनामा यो रोग देखा परेकामा एक जनाको ज्यान गएको थियो । कालाजार भेटिएपछि गतवर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोलीले जिल्लाका शङ्कास्पद व्यक्तिमा जाँच गरेको थियो । 

यो रोग लागेपछि दुब्लाउँदै जाने, कमजोर हुने, खोकी लाग्ने, महिनौंसम्म ज्वरो आउने, जिउको रङ कालो हुँदै जाने, छाला खस्रो हुने, रक्तअल्पता, राति पसिना आउने, पेट फुल्ने, कलेजोको आकार बढ्ने, रगत बग्नेजस्ता लक्षण देखापर्ने गर्छ । 

यो रोग लिस्मेनिया नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा सर्ने गरेको चिकित्सक बडालले बताए । प्राय गर्मीयाममा साँझपख र राति भुसुना बढी सक्रिय हुन्छन् । पछिल्लो सयम जिल्लामा फोहर बढ्दै जानु, नाली नहर सफाइ नहुनुले पनि भुसुना बढेको बताइन्छ ।

भुसुनाको टोकाइबाट बच्न लामा बाहुला भएको कमिज, लामो पेन्ट, र मोजा लगाउन र भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । 

यस्तै साँझको बेला भुसुना बढी सक्रिय हुने भएकाले कारण घरबाहिर नघुम्ने, राति सुत्दा झुल हाल्ने गरे पनि बच्न सकिने स्वास्थ्यकर्मीको सुझाव छ । कालाजार उपचारबाट निको हुने रोग भएकोले समयमै स्वास्थ्य संस्थामा आएर जाँच गराउन पनि स्वास्थ्यकर्मीको आग्रह छ । 

पछिल्लो समय सडकको पहुँच पुगेसँगै तराई क्षेत्रमा पाइने भुसुना लामखुट्टे गाडीसँगै पहाड उक्लिएका हुन् । अहिले चिसो हुने गाउँमा पनि लामखुट्टे देखिन थालेकाले स्वास्थ्यकर्मीले सङ्क्रमण भएको थाहा पाउने वित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप