शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो लाइभ गर्दै बन्दुकधारीले गरे न्यूजिल्याण्डको मस्जिदमा आएका दर्जनौंको हत्या

शुक्रबार, ०१ चैत २०७५, १० : ३२
शुक्रबार, ०१ चैत २०७५

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा भएको गोलीबारीमा थुप्रै हताहत भएको पुलिसले जानकारी दिएको छ ।

डेली मेलको रिपोर्ट अनुसार २८ वर्षे अष्ट्रेलियाली नागरिक मानिएका एक व्यक्तिले अन्धधुन्ध गोली चलाई २७ जनाको हत्या गरेका छन् । प्रहरीले यसबारे आधिकारिक संख्या दिएको छैन ।

प्रत्यक्षदर्शीले ती बन्दुकधारीले क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा ५० सट गोली हानेको र उनीसँग सेमी–अटोमेटिक सटगन र राइफलसमेत भएको बताएका छन् ।

ती बन्दुकधारीले अल नुर मस्जिदभित्र लाइभ–स्ट्रिम गर्दै अन्धधुन्ध गोली चलाएका थिए । घटना नेपाली समयअनुसार शुक्रबार बिहान सवा ६ बजेको हो ।

डेली मेल अष्ट्रेलियाको एउटा भिडियोमा एक व्यक्तिले भागिरहेका मानिसहरुमाथि दर्जनौं पटक गोली चलाइरहेको देख्न सकिन्छ । एक अभियुक्तलाई पक्राउ गरिएको छ तर ती बन्दुकधारी नै हुन् भन्ने पुष्टि भइसकेको छैन ।

साथै, लिनवुड मस्जिद नजिकै पनि बन्दुक चलेको आवाज सुनिएको बताइएको छ । उक्त मस्जिदभन्दा तीन किलोमिटर टाढा कारभित्र बमसमेत फेला परेको डेली मेलले बताएको छ ।

यसका साथै, क्राइस्टचर्च अस्पताल बाहिर पनि गोलीबारी भएको रिपोर्ट प्रकाशित भएको छ ।  

पुलिसले प्रभावित इलाकाका जनतालाई स्थिती संकटपूर्ण भएका बताउँदै आफ्नो घरभित्रै बस्न आग्रह गरेको छ ।

न्यूजिल्याण्डको भ्रमण गरिरहेको बंगलादेश क्रिकेट टिमका खेलाडीले ट्वीटरमा आफूहरु गोलीबारीमा सुरक्षित बच्न सफल भएको जानकारी दिएको छ ।

मस्जिदमा आज जुमेको नमाज थियो ।

पुलिस अधिकारी माइक बुश अनुसार एक व्यक्तिलाई हिरासतमा लिइएको छ । उनले भने, ‘हमलामा अन्य व्यक्ति पनि समावेश छन् कि भनेर अनुसन्धान भइरहेको छ । यदि कोही व्यक्ति मस्जिद जाने तयारीमा हुनुहुन्छ भने आज नजानुहोस् । अर्को जानकारी नआउञ्जेल घरको ढोका बन्द राख्नुहोस् ।’

न्यूजिल्याण्डका प्रधानमन्त्री जसिन्दा आर्डर्नले उक्त आक्रमण न्यूजिल्याण्डको कालो दिनमध्येको एक बताएकी छिन् ।

‘मलगायत न्यूजिल्याण्डका प्रत्येक जनता पीडित परिवारको साथमा छौ,’ उनले भनिन् ।

हमलाको भिडियो स्ट्रिमः

ती बन्दुकधारी अल नुर मस्कमा दिउँसोको प्रार्थना  भइरहेका बेला प्रवेश गर्छन् र अन्धधुन्ध गोली चलाउँछन् ।

२८ वर्षे ती व्यक्तिको फेबबुकमा राखिएको भिडियो स्ट्रिममा देखिए अनुसार उनले सय बढी फायरिङ गरेका छन् ।

सैनिकको झैं लुगा र हेलमेट लगाएका ती व्यक्तिले ‘अब यो पार्टी सुरु गरौं’ भन्दै आफ्नो ‘ताण्डव’ देखाउँछन् ।

गाडीमा राखिएका कम्तिमा ६ बन्दुकमध्ये एक उठाएर उनी मस्जिद भित्र छिर्छन् र आफूले देखेजति सबैलाई गोली ठोक्छन् ।

उनले प्रार्थनामा आएका सबैलाई गोली हान्छन् । कतिपय अवस्थामा उनले यत्तिकै पनि फायरिङ गरिरहेका छन् ।

उनले बन्दुक चलाउन छोडेका बेला घाइतेको दुखाईको आवाज सुन्न सकिन्छ । उनले थुप्रै पटक ‘रिलोड’ गर्छन् । थुप्रै पटक उनी घाइते व्यक्तिमाथि चढेर बन्दुक रिलोड गरेको र पुनः गोली चलाएको भिडियोमा देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप