ओज, गरिमा र शाख गुमाउँदै गएको विद्यार्थी आन्दोलन
विश्वका धेरै मुलुकमा पछिल्ला समय भएका परिवर्तनका निर्णायक भूमिका कि विद्यार्थीले गरेका छन् कि त मजदुरले । नेपालमा २००७ सालको आन्दोलनमा विद्यार्थीको भूमिका खास उल्लेखनीय रहेन । त्यतिखेर नेपालमा स्कुल र कलेजको सङ्ख्या तेहेरो अङ्क पार गर्ने थिएनन् । विद्यार्थी सङ्ख्या कम रहेकाले धेरै ठूलो भूमिका नदेखिनु अस्वाभाविक होइन । २०३६ र २०४६ को आन्दोलनमा उभार ल्याउन विद्यार्थीले जुन भूमिका निर्वाह गरे, उपलब्धिको निम्ति त्यो निर्णायक बन्न पुग्यो । नेपालमा उद्योगको उल्लेखनीय विकास नभएकाले परिवर्तनमा मजदुरहरू निर्णायक बन्न नसक्नु स्वाभाविक थियो र छ । अनि विद्यार्थी नै मजदुरलगायत सबै आन्दोलनकारी पक्षको कोटा पूरा गर्ने आन्दोलनमा होमिएका थिए र अझै यही अवस्था छ । २०३६, २०४६ र २०६२÷२०६३ का आन्दोलनमा मात्र होइन २०५२ देखिको जनयुद्ध समेत विद्यार्थीको सहभागिताविना कल्पना पनि गर्न सकिँदैनथ्यो ।
तर पछिल्लो समयमा विद्यार्थी आन्दोलनले रौनक गुमाएको छ । जनविश्वास तुहिएको छ । आफ्नो गरिमामय इतिहासको चम्किलो मुहारमा तेजाव खन्याउन थालेझैँ अनुभूति हुँदै छ । आज विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गर्दा न कसैको मुहारमा आशाको आभा उम्रन्छ न कसैको माथिङ्गल त्रासले काँप्छ । केवल आन्दोलनदेखि आन्दोलनसम्मको वृत्तमा विद्यार्थी आन्दोलन फनफनी घुम्न थालेको छ । न सफलताको शिखर चुमेको छ न त सहमतीबाट केही परिवर्तनको गुञ्जायस दिएको छ ।
अझ उदेक लाग्दो विषय त के छ भने तमाम विद्यार्थीहरू जसको हित र हकका लागि सङ्गठनहरू लडिरहेको दाबी गर्छन् तिनै विद्यार्थीले ती सङ्गठनप्रतिको विश्वासको फ्युज उहिल्यै टुटिसकेको छ । अहिलेको विद्यार्थीको साङ्गठनिक गतिविधि मध्यरातको जुनकिरी जस्तो बनेको छ । मध्य रातको जुनकिरी आफ्नो अस्तित्व त देखाउन सक्छ तर उसले उज्यालो बाँड्न सक्दैन ।
हिजो शासन सत्ताको निद्रा हरण गर्ने, हक अधिकार प्राप्तिको लडाइँमा अग्रगामी दस्ताको रूपमा लड्ने जुघ्ने अनि हरेक परिवर्तनकारी आन्दोलनहरूमा निर्णायक शक्तिको भूमिकामा देखापर्ने विद्यार्थी आन्दोलन यतिखेर गुमनाम जस्तै बनेका छन् । हिजो जनजीविकाका सवाल र विद्यार्थी हकहितका सवालमा आवाज बुलन्द गर्दै शासकवर्गलाई हावाकावा खेलाउने यो ऊर्जाशील शक्ति यतिखेर शासनसत्ताको निर्देशनमा चल्ने लाचार भातृसङ्गठनमा रूपान्तरण भएको, यसले आफ्नो ओज, गरिमा र शाख गुमाउँदै गएको आरोपहरू लाग्ने गर्छन् । आरोपकै कुरा गर्दा आजभोलिको विद्यार्थी आन्दोलन विद्यार्थीहरूको हकहितका लागि लड्ने सङ्गठनको सट्टा दलाली र धम्कीको माध्यमबाट आयआर्जन गर्ने संस्थाको रूपमा मुठ्ठीभर व्यक्तिहरूको कोटरीमा रूपान्तरित हुँदैगएका जस्ता कटु कुराहरू पनि सुन्न र देख्न थालिएको छ ।
यिनै सन्दर्भका सेरोफेरोमा रहेर हामीले विद्यार्थी आन्दोलनमा जीवन बिताएका तथा त्यसैको माध्यमबाट राष्ट्रिय राजनीतिमा समेत स्थान बनाइसकेका केही अगुवाहरूको विचार र अभिमत जान्ने कोशिस गरेका छौँ ।
विद्यार्थी आन्दोलनको वर्तमान अवस्था
आजको विद्यार्थी राजनीति र सङ्गठनले आफ्नो दिशा पहिचान गर्न सकेको छैन । पुरानै विचारहरू सङ्गठनमा अझै परिचालित छन् ।
पूर्वस्ववियु सचिव मानुषी यमी भट्टराई भन्छिन् ‘विद्यार्थी आन्दोलनलाई वर्तमानमा मूल्याङ्कन गर्दा झन् झन् दिशाविहीन भएको र गतिशीलता एकदम हराउँदै गएको जस्तो देखिन्छ ।’
पहिले क्याम्पस केन्द्रित कार्यक्रम हुने गर्दथे । विद्यार्थीको हकहितका लागि पनि थुप्रै कार्यक्रम हुन्थ्यो भन्दै उनको दाबी छ, ‘अहिलेको विद्यार्थी आन्दोलन मौसमी राजनीतिमा मात्र सीमित भयो ।’
अनेरास्ववियु पूर्वअध्यक्ष ठाकुर गैरे भन्छन्, ‘विद्यार्थी आन्दोलनको औचित्य सकियो भन्ने त्यो गलत कुरा हो । विद्यार्थी आन्दोलनलाई आजको राष्ट्रिय एजेन्डा र बहसको विषयमा कसरी समावेश गर्ने र नेपाली समाजलाई अझै उन्नत बनाउनका लागि विद्यार्थी सङ्गठनको भूमिका कसरी प्रभावकारी बनाउने भन्ने कुरा बौद्धिक वर्गले, विश्वविद्यालयले सहयोग गर्ने, उनीहरूलाई अगाडि बढ्नका लागि प्रोत्साहन गर्ने हिसाबले जानुपर्छ, न कि त्यसको औचित्य सकियो भनेर त्यसबाट उम्किने कुरा गर्नु हुँदैन ।’
नेविसङ्घका निवर्तमान अध्यक्ष नैनसिंह महरले भने विद्यार्थी आन्दोलनले सरकारलाई झक्झक्याउनुपर्ने हो तर राजनीतिक दलहरूले सङ्गठनलाई गुम्राहमा राख्ने काम गरेकाले त्यसो हुन नसकेको तर्क गरे ।
यता नेविसङ्घका पूर्वअध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले विद्यार्थी सङ्गठन पछिल्लो समय दलको ‘घोडा’को रूपमा रूपान्तरण भएको दाबी गरे । उनले अहिले विद्यार्थी सङ्गठनको गतिविधिले भविष्यमा राजनीतिक सङ्कट आउने बताए ।
विद्यार्थी आन्दोलनले सक्रियता देखाउन सकेन
गैरे भन्छन्, ‘हामीले लिडरसिप गर्दा जबरजस्त आन्दोलनका रूपमा थियो, आज स्वयम विद्यार्थी सङ्गठनहरू आचरणका साथ सञ्चालन गर्नेमा पनि केही कमी देखिन्छन् ।’
लोकतान्त्रिक गणतन्त्र आइसक्यो । निर्वाचनबाट जनप्रतिनिधिमूलक संस्था आइसक्यो अब किन विद्यार्थी आन्दोलन चाहियो ? भन्ने खालको बहसहरू आइरहेका छन् । हामी यस्तो कुरामा अलमलिनु हुँदैन भन्दै गैरे भन्छन्, ‘विद्यार्थी सङ्गठनहरू दिशाहीन जस्तो, हाम्रो आवश्यकता औचित्य छैन भन्ने कुरामा नअल्मलिई सङ्गठनहरूको आजको जे स्थिति छ, त्यसबाट मुक्त हुनुपर्छ ।’
मानुषी यमी भट्टराईको भने विद्यार्थीहरूले स्ववियु निर्वाचन गर्ने भनेर आफ्नो चहलपहल बढाएको जस्तो गर्ने र स्ववियु निर्वाचन नहुने निश्चित भयो भनेपछि आरामले बस्ने प्रवृत्ति हाबी भयो भन्ने आरोप रहेको छ । उनी थप्छिन्, ‘अहिले सङ्गठन आफ्नो सङ्गठनभित्र हुने अन्तर्संघर्ष कुराहरू गुट उपगुटका कुराहरूमा मात्र केन्द्रित हुने भयो ।’
विद्यार्थीहरूले सामाजिक, राजनीतिक र आर्थिक स्तरका नीतिगत कुरामा छलफल चलाउनुपर्ने भन्दै उनी भन्छिन्, ‘हामीले छलफल चलाउनुपर्ने कुरामा पनि छलफल चलाउन सकेनौँ । कानुन बनाउने चरणमा जुन चनाखो र सक्रियता विद्यार्थीले देखाउनु पथ्र्यो, त्यो चनाखो देखाउन सकेन ।’
आफ्नो ओज र गरिमा गुमाइरहेको छ विद्यार्थी आन्दोलनले
हिजोको विद्यार्थी आन्दोलन नेपालका हरेक राजनीतिक परिवर्तनको संवाहकको भूमिका निर्वाह गर्ने गरेको थियो । तर वर्तमानको विद्यार्थी आन्दोलनले विगतको त्यो गरिमा, ओज र इतिहासलाई धान्न नसकेको भन्ने टिप्पणीहरू सुन्नमा आइरहेका छन् ।
ठाकुर गैरे भन्छन्, ‘हिजो र आजको परिस्थिति नै फरक छ । हिजो राजतन्त्र फाल्ने र बहुदल स्थापना गर्ने कुरा थियो भने आज वैज्ञानिक समाजवाद स्थापना गर्ने कुरा छ, त्यसका लागि आधार तयार गर्नुपर्छ ।’
एउटा समय थियो राजनीतिक पार्टी प्रतिबन्धित रहेको अवस्थामा विद्यार्थी आन्दोलन अग्रपङ्क्तिमा आउने र साहस प्रदर्शन गर्ने गथ्र्यो । अहिले राजनीतिक परिवर्तन भइसकेपछि पनि विद्यार्थीहरू त्यही स्थितिमै रमाउने अवस्था छ भन्दै मानुषी यमी भन्छिन्, ‘माउ पार्र्टीले जे गर्याे त्यो ‘सुगा रटाइ गर्ने’ र त्योभन्दा पृथक काम, विमर्श चलाउने त्यो संस्कार पछ्याउनै सकेन विद्यार्थी आन्दोलनले ।’
विद्यार्थी आन्दोलन ठूलो पदमा पुग्ने संस्कृति अँगालिरहेको कारण दुःख लाग्ने भन्दै उनी भन्छिन् ‘माउ पार्टीमा जस्तो जस्तो उपगुटहरू सिर्जना भए, विद्यार्थी सङ्गठनमा पनि ठ्याक्कै त्यस्तै प्रतिविम्ब देखियो । मुख्य धारका जुन विद्यार्थी सङ्गठनहरू तिनका नेताहरू पनि त्यस्तै शक्ति आर्जन गर्ने भोलिका नेताहरलाई पदमा पुग्नको लागि एउटा सिँढी मात्र रूपमा लिने यस्तो संस्कृति देख्दा स्वभावैले दुःख नै लाग्छ ।’
विद्यार्थी आन्दोलनले प्रतिनिधित्व गर्न सकेको छैन
नैनसिंह महरले विद्यार्थी सङ्गठनले परिवर्तित अवस्थामा सङ्गठनको भूमिका नै परिवर्तन हुन्छ भन्ने कुरा बुझ्न सकेन भन्छन् । उनी थप्छन् ‘विद्यार्थी आन्दोलनमा लाग्ने र भ्रष्ट प्रवृत्ति अपनाउने प्रवृत्ति हाबी रहेको छ । विद्यार्थी सङ्गठन पनि त्यसको सिकार भएका छन्, जसले गर्दा राष्ट्रिय मुद्दा उठाउन सक्दैनन् । जब कुनै नेतृत्वलाई भ्रष्ट प्रवृत्तिले गाँजेको हुन्छ उनीहरूले राष्ट्रिय मुद्दा तथा विद्यार्थी हकका मुद्दा उठाउनै सक्दैन ।’
मानुषी यमी भन्छिन्, ‘विद्यार्थी सङ्गठनहरू जहाँ जहाँ केन्द्रित हुन्छन्, ती भनेका ठूला क्याम्पस मात्र मात्र हुन् । समग्रमा सार्वजनिक शैक्षिक संस्थाको मात्र कुरा गर्ने हो भने विद्यार्थी सङ्गठनको पहुँचमा पनि कमी छ । अहिले शैक्षिक सङ्गठनले अरू विद्यार्थीहरूको आवाजमा सहभागिता हुन्छौँ भने भने पनि सहमती हुन सक्दिन ।’
सीमित परिधिभित्र मात्र रहेर सञ्चालित हुने संस्था
मानुषी यमी भन्छिन्, ‘विद्यार्थी सङ्ठनहरू जहाँ जहाँ टीयूले गर्ने गराएको छ, त्यहाँ त्यहाँ मात्र केन्द्रित रहेको अवस्था मैले देख्छु । त्यसकारण घेरा एकदम सीमित छ । त्यो घेराभित्रै क्रियाशील रहेका विद्यार्थी सङ्गठनले पनि सकारात्मक कामहरू नगरिरहेको अवस्थामा आम रूपमा विद्यार्थीहरूले दलसँग आबद्ध सङ्गठनलाई मात्र पर्खिनुपर्छ भन्ने मलाई लाग्दैन ।’
अब पनि विद्यार्थी सङ्गठनले नै काम गर्छ भनेर पर्खिनुपर्दैन भन्दै उनी भन्छिन्, ‘आम रूपमा विद्यार्थी सङ्गठनले प्रतिनिधित्व नगरेपछि अरू विद्यार्थी सङ्गठले विद्यार्थीहरूको हक र प्रतिनिधित्व अहिले भनिएका विद्यार्थी सङ्गठनले गर्छन त ? मैले त देख्दिनँ ।’
ठाकुर गैरेको भने विचार अलि फरक छ । उनी भन्छन्, ‘विद्यार्थी आन्दोलनलाई पार्टीको भ्रातृ सङ्गठनका रूपमा मात्र मान्नु हुनुहुँदैन । यो आन्दोलन हो । यथास्थितिको पक्षमा रहन सकिँदैन । यो समग्रता आम रूपमा प्रतिपक्षीय चरित्र भएको सङ्गठनका रूपमा यो रहनुपर्छ ।’
विद्यार्थी सङ्गठन भ्रष्ट रहेको भन्दै धनराज गुरुङ भन्छन्, ‘मुलुकको राजनीति पूर्ण रूपमा भ्रष्ट हुँदै गइरहेको छ । त्यो भ्रष्ट प्रवृत्ति विद्यार्थी सङ्गठनमा पनि हाबी भयो । जसकारण विद्यार्थी सङ्गठन भ्रष्टीकरणको दिशातिर लागे अनि राष्ट्रिय मुद्दाहरू उठाउनमा चुके । पछिल्लो समय त खुलेआम चन्दा असुली गर्दै हिँडेको पाइन्छ । त्यसले गर्दा सङ्गठनको गौरवमय गरिमा पनि विस्तारै ओरालो यात्रामा लागेको छ । जसले नेपालको राजनीतिक भविष्य अँध्यारो सुरुङतर्फ अगाडि बढिरहेको छ ।’
पुराना हस्तीहरू गुमनाम
विद्यार्थी आन्दोलनमा लागेका कतिपय पुराना हस्तीहरू गुमनाम छन् । उनीहरू ठाउँमा पुगेर कत्तिको आफ्नो बलियो उपस्थिति बनाउन सके भन्ने कुरा महत्त्वपूर्ण हो । तर ठाउँमा नपुगेका विद्यार्थी नेताहरू चर्चामा आउनै मान्दैनन् ।
मानुषी यमी भन्छिन्, ‘कतिपय विद्यार्थी नेता सभासद् हुनुएको छ भने कतिपय मन्त्री हुनुभएको छ । सबै गुमनाम त हुनुभएको छैनन् । गुमनामभन्दा पनि मन्त्री र पीए बन्ने लस्कर चल्यो । त्यो संस्कारले गर्दा पनि छुटट्ै पहिचान हुने आलोचनात्मक छवीलाई उहाँहरूले जोगाउन सक्नु भएन । त्यसकारण गुमनाम बनाइएको हो कि आफै भएको हो विचार गर्ने कुरा हो ।’
पुराना हस्तीहरूलाई योग्यता, क्षमताको आधारमा मूल्याङ्कन गर्नुपर्ने भन्दै ठाकुर गैरे भन्छन्, ‘लामो समयसम्म यस क्षेत्रमा बसेर काम गरेका हस्तीहरू आजको समाजमा भूमिका विहीन हुने अवस्था छ । यसका लागि पार्टीले आगामी दिनमा मापदण्ड अपनाई मूल्याङ्कन गर्नुपर्छ ।’
सत्तासिन नेकपा निकट अनेरास्ववियु अध्यक्ष नवीना लामाको भनाइ अलि फरक छ । उनी भन्छिन्, ‘उनीहरू किन गुमनाम छन् भनेर उनहरूलाई नै सोध्नुपर्छ । आफ्नो पार्टीमा त्यस्तो नभएको हुनाले यो बारेमा त्यति थाहा छैन । किन गुमनाम भए भन्ने कुरा आफ्नै कारण होला ।’
आर्थिक कारोबार हुने
हरेक वर्ष शैक्षिक सत्र सुरु भएसँगै आम विद्यार्थीका मुद्दाहरूलाई पैसामा किनबेच गर्ने सङ्गठनका मानिसहरूको संस्कार नै भइसकेको छ । विद्यार्थीका हकहितका लागि स्थापना भएको संस्था नै विद्यार्थीहरूलाई दुःख दिने अखडा बनिसकेको छ ।
विद्यार्थी आन्दोलन र स्ववियु अग्रगामी परिवर्तनको बाहक, विद्यार्थी हकहितका लागि लड्ने जुझारु संस्थाभन्दा पनि पछिल्लो समय विद्यार्थीका मुद्दा देखाएर शैक्षक संस्थाबाट आर्थिक लेनदेन गर्ने अपवित्र संस्थामा परिणत हुँदै गइरहेको भनाइ तिनै विद्यार्थी नेताहरूबाट नै सुन्नमा आइरहेका छन् ।
यस्तो संस्कारबाट मुक्त हुनुपर्छ भन्दै ठाकुर गैरे भन्छन्, ‘विद्यार्थी सङ्गठन र त्यसको नेतालाई माध्यम बनाएर भ्रष्टाचार गर्ने, चन्दा उठाउने, विद्यालयको ठेक्का पट्ठामा आफ्ना मान्छेलाई राखेर कमिसन खाने यो कुरामा विगतबाटै आलोचित हुँदै आइरहेका छौँ । यस्तो तरिकाबाट मुक्त हुनुपर्छ ।’
नवीना लामाले भने पार्टीभित्र आर्थिक कारोबार गर्ने नेताहरूलाई कारबाही गरेको बताउँदै उनी भन्छिन्, ‘केन्द्रमा नेतृत्वका पदाधिकारीले भ्रष्टचार गरेको भन्ने कुरा मलाई विश्वास नै छैन । तलका पदाधिकारीहरूमा त्यस्तो पनि देखियो । त्यसलाई सुधार्दै लगेकी छु । म आएपछि त्यस्तो नेतालाई ठाडै कारबाही गरेकी छु । अखिलले तिनीहरूलाई छुट दिएको छैन । त्यो कुराले विद्यार्थी आन्दोललाई कमजोर गराउनु हुँदैन ।’
नैनसिंह महरको भने छुट्टै विचार छ । उनी आफूले आर्थिक कारोबार नगरेको दाबी गर्दै भन्छन्, ‘जसले घुस लियो भनेको छ, उनैले घुस दोब्बर मात्रामा लिएका छन् । पत्यार लाग्दैन भने एक पटक अनुसन्धान गर्नुहोस् ।’
अब के गर्ने ?
मुलुकको आमूल परिवर्तनका लागि र विद्यार्थीको हक हितका लागि लड्ने विद्यार्थी आन्दोलनको औचित्य आज पनि उत्तिकै छ । औचित्यहीन बन्दै गएको विद्यार्थी आन्दोलनलाई नयाँ ढङ्गबाट उठाउनका लागि नयाँ तरङ्गहरू पैदा गर्न आवश्यक छ ।
ठाकुर गैरे भन्छन्, ‘नयाँ ढङ्गले विद्यार्थी आन्दोलनलाई परिचालित गर्नका लागि तीन पक्ष आवश्यक पर्छ ।’
पहिलो हो सैद्धान्तिक पक्ष । आजको समाज र त्यसको चरित्र के हो ? हामीले जान प्राप्त गर्न खोजेको लक्ष्य के हो निर्धारण गरौँ । त्यो लक्ष्य हासील गर्नका लागि हामीले हाम्रै तर्फबाट पहल कदम चालौँ ।
दोस्रो पाटो भनेको विद्यार्थी आन्दोलनलाई शैक्षिक आन्दोलनका पक्षमा, राष्ट्रियताका पक्षमा, समाजको जनजीविकाको पक्षमा आम रूपमा सङ्गठित गर्ने हो ।
तेस्रो विद्यार्थी आन्दोलनलाई त्यो उद्देश्यका लागि परिचालन गर्ने हो, त्यसका लागि सङ्गठित हुनुपर्छ ।
विद्यार्थी सङ्गठनका नेताहरूले आफ्नो सङ्गठनको साख यथावत रहेको बताए पनि यो दाबीमा सत्यभन्दा झुट नै ज्यादा बाक्लो देखिन्छ । बरु कमिकमजोरीको बेलैमा समीक्षा गरी विद्यार्थी आन्दोलनको ओज र गरिमालाई थप उजिल्याउन आजैको मितिबाट प्रयत्न थाल्नु श्रेयस्कर हुन सक्छ । एक सङ्गठनले अर्काे सङ्गठनलाई र अर्काे सङ्गठनले झन अर्काे सङ्गठनलाई भद्दा आरोपद्वारा आरोपित गर्दै आनन्द लिइरहेको विद्यार्थी नेताबाट शिक्षा तथा अन्य क्षेत्रमा परिवर्तनका लागि पहलको आशा गर्ने दिन लगभग सकिए जस्तो लाग्छ । सङ्गठनभित्रैको गुट उपगुटको चर्काे अप्राकृतिक सङ्घर्षको धनले आफ्नै सुनौलो इतिहासको शरीरमा प्रहार गरिँदैछ र यसबाट पिसाबको न्यानो झैँ मज्जा लुटिरहेछन् विद्यार्थीहरू ।
विद्यार्थी भविष्यका देशसञ्चालक हुन भन्ने कुरालाई गम्भीर रूपमा महसुस गर्नु जरुरी छ । लाखौँ विद्यार्थीहरूले पाउनुपर्ने शैक्षिक अधिकारको लागि लड्नुपर्ने विद्यार्थी सङ्गठनहरू एक आपसमै लड्दै अस्तित्व रक्षाको लागि सङ्घर्ष गरिरहेको यो उदेकलाग्दो दृश्यको अन्त्य छिटो होस् ।