बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘११ बुँदे सम्झौता जस्तो स्पष्ट सम्झौता आजसम्म भएको छैन’

जनमत संग्रहको नाराजुलूस कार्यकर्ताहरु उत्साहित भएको अवस्थामा आएका धारणाहरु हुन्, त्यसलाई हामी मिलाउँदैछौं-बुझाउँदैछौं: स्वतन्त्र मधेश गठबन्धनका सचिव चन्दन सिंह
बिहीबार, ३० फागुन २०७५, १२ : २५
बिहीबार, ३० फागुन २०७५

सरकार र स्वतन्त्र मधेश गठबन्धन बीच भएको सम्झौताका मुख्य सहजकर्ता थिए चन्दन सिंह । उनी सो गठबन्धनका केन्द्रीय सचिव पनि हुन् । गठबन्धनका सेकेण्डम्यानको रुपमा सक्रिय रहेका चन्दन सिंह विगतमा सद्भावना पार्टीमा रहेर काम गरेका राजनीतिज्ञ हुन् । मधेशको राजनीति र समस्यालाई नजिकबाट अध्ययन गरेका चन्दन सिंहले नै गठबन्धनलाई मूलधारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका हुन् । सरकार र सिके राउतबीच वार्ताको वतावरण बनाउनुदेखि लिएर अन्य सबै व्यवस्थामा सक्रिय रहेर राष्ट्रिय सहमति गरी ११ बुँदे सम्झौता गराउन सफल भए । प्रस्तुत छ, सहमतिपछि सम्झौताका बारेमा भएका टिकाटिप्पणी र अगामी रणनीतिका बारेमा स्वतन्त्र मधेश गठबन्धनका सचिव एवं वार्ताका सहजकर्ता चन्दन सिंहसँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीः

सहमतिको मसी नसुक्दै ११ बुँदेप्रति विभिन्न टिकाटिप्पणी शुरु भयो नि किन ?

–सरकारसँग भएको ११ बुँदे सम्झौतालाई लिएर कहीँ विवाद छैन । हामी स्पष्ट छौं, उता सरकार स्पष्ट छ भने अरुले टाउको दुखाउनुको तुक छैन । मैले कहीँ पनि विवाद देखेको छैन । शान्ति प्रकृया र अमनचयन नचाहने केही व्यक्तिहरुले यी विषयलाई उठाइरहेका छन्, जसको कुनै तुक छैन ।

तपाईंहरु जनमत संग्रह गराउने सहमति भएको छ भन्नुहुन्छ, उता सरकारका प्रतिनिधिहरुले जनमत संग्रहमा कुनै सहमति भएको छैन भन्छन् . यो विवाद होइन भने के हो ?

–त्यहाँ जनमत संग्रह शब्द छैन, जनअभिमत शब्द प्रयोग गरिएको छ । जनअभिमत लोकतान्त्रिक विधि र प्रकृयाबाट हुने कुरा हो, त्यसमा विवाद छदै छैन । म त्यसमा ही विवाद देखेको छैन । जनअभिमत आफै एउटा व्यापक कुरा हो । जनअभिमत भनेको अध्यावधिक चुनाव पनि हुन्छ र जनमत संग्रह पनि हुन्छ । ‘इक्सिट पोलिङ’ पनि हुन्छ, ‘सर्वे’ पनि हुन्छ । अर्थात् समयको माग अनुसार त्यसको काम हुन्छ । त्यसैले त्यहाँ जनअभिमतका कुरा आएपछि संगठनका साथीहरुले जनमत संग्रहको कुरा आयो भनी कुरा गरेका छन् । किनभने हामीले शुरुदेखि जनमत संग्रहका कुरा जोडतोडले उठाएका थियौं ।

तर सहमतिप्रति कुनै प्रकारको आशंका नगर्न म सबैमा आग्रह गर्दछु । ११ बुँदे सम्झौताका एक नम्बरदेखि ११ सम्म हामीले अक्षरशः पालना गर्छौ र उता सरकारले पनि पालना गर्ने हामीलाई विश्वास लागेको छ ।

यो एउटा ऐतिहासिक सम्झौता हो । प्रचण्ड शान्ति सहमतिमा आउँदा सरकारले जुन सम्झौता गरेको थियो, त्यसपछि यो दोस्रो ऐतिहासिक सम्झौता हो । यसलाई हल्का रुपमा लिनु हुँदैन । यसको इमान्दारितापूर्वक कार्यान्वयन नै मधेशका लागि सम्पूर्ण देशको लागि राम्रो हुन्छ भन्ने हाम्रो विश्वास छ ।

भन्नाले यो जनअभिमतलाई सरकारको तर्फबाट आफ्नै तरिकाले व्याख्या भइरहेको छ भने तपाईंहरुको तर्फबाट आफ्नै तरिकाले व्याख्या भइरहेका छन् कि के हो ?

–कहीँ कतै केही व्याख्या भएको छैन । जनअभिमत भनेको जनताको अभिमत हो । त्यो समय आएपछि जनताले आफ्नो अभिमत जाहेर गर्ने हो । यसमा कही कतै कुनै विवाद छैन ।

सहमति भएकै दिन तपाईहरुको संगठनबाट जनमत संग्रहमा सहमति भयो भनी नाराजुलूस भयो । त्यो चाहिँ के थियो ?

कार्यकर्ताहरुको जोश र उत्साहले गर्दा त्यस्तो धारणाहरु बाहिर आएको हो । जुन विस्तारै मिलाउँदै गइरहेका छौं ।

–सहमति भएपछि कार्यकर्ताहरु उत्साहित भएका छन्, त्यस अवस्थामा आएका धारणाहरु हुन् । त्यसलाई हामीले मिलाउँदैछौं । कार्यकर्ताहरुलाई बुझाउने कामहरु भइरहेका छन् । त्यसलाई अन्यथा लिनु हुँदैन । कार्यकर्ताहरुको जोश र उत्साहले गर्दा त्यस्तो धारणाहरु बाहिर आएको हो । जुन विस्तारै मिलाउँदै गइरहेका छौं ।

विगतमा सिके राउतजीले अलग देशका लागि गर्नुभएको गतिविधि गलत थियो, त्यसलाई त्यागेर अब मुलधारको राजनीतिमा आएको भनी सम्झौतामा कहीँ पनि स्वीकार र उल्लेख गरिएको छैन भनेर  पनि शंका गरिएको छ ?

–जसले यो कुरामाथि आशंका गरिरहेका छन्, उसलाई मैले त्यो ११ बुँदे सम्झौता बढ्न आग्रह गर्दछु । ११ बुँदे सम्झौतामा सबै कुरा उल्लेख छन् । ११ बुँदे सम्झौता जति स्पष्ट छ, त्यति स्पष्ट सम्झौता आजसम्म कहिले भएको थिएन । सरकारले कुनै दल वा संगठनसँग यति स्पष्टसँग सम्झौता गरिएको थिएन । केही व्यक्ति नबुझेर हल्ला गरिरहेका छन् । जसको कुनै तुक छैन । सम्झौताको बारेमा कुराहरु बाहिर आएपछि प्रधानमन्त्री स्वयंले प्रष्ट पार्नुभएको छ । हामीले पनि प्रष्ट पारेका छौं । अब यसमा कुनै दुविधा रहनु हुँदैन जस्तो लाग्छ ।

विगतमा जुन उद्देश्यले आन्दोलन गर्नुभयो त्यो गलत थियो भनी भन्नुभएको हो ?

–यो कुरा हामीले जनतामा नै छाडिदिएका छौं । गलत र सही छुट्याउने काम जनताको हो । अहिले धेरै कुरा स्पष्ट हुन बाँकी छ । हामी मूलधारको राजनीतिमा आइसकेपछि जनतामा जान्छौं । जनताले हामीलाई के भन्छ ? जनताको चाहना के हो, त्यसपछि हाम्रो धारणा स्पष्ट आउँछ ।

अहिले मूलधारमा आउँदा जनताको जनमत लिएर आउनु भएको हो कि तपाईंका नेतृत्वहरु गरेर आउनुभयो ?

–जनताको मनोभावना बुझेर गठबन्धनले गरेको निर्णय अनुसार यो सब भएको हो । माओवादीले विगतमा लामो समय सशस्त्र आन्दोलन गर्यो । तर, सम्झौता गरेर मुलधारको राजनीतिमा आयो । पछि जनादेश लिन चुनावमा गयो । चुनावमा पनि राम्रै समर्थन पायो । जनताले अहिलेसम्म उनीहरुलाई साथ सहयोग दिइरहेको छ । त्यस्तै स्थिति हाम्रो पनि छ । हामी संगठनको निर्णयबाट यो कदम चालेका हौं । अब हामी पनि जनताको बीचमा जान्छौं । जनतासँग छलफल गर्छौं, जनताको मनोभावना, जनमत बुझेर संगठनको बैठक बसेर अगाडि बढ्छौं ।

मधेशमा राजपा र फोरम पनि छन्, अब तपाईहरु पनि मूलधारको राजनीतिकमा आउनुभयो । उनीहरुको दलभन्दा तपाईहरुको दलमा के फरक हुन्छ ?

हामीमाथि जनताले विश्वास गरेको छ । र, त्यही अनुसार हामी अगाडि बढ्छौं । संगठन बनाउने, मुद्दा र एजेण्डा आफ्नै तरिकाको छ, त्यसले हामीलाई विश्वास छ कि मधेशका जनतालाई हामीलाई साथ दिनेछ ।

–उनीहरुको दल र हाम्रो दलमा निक्कै भिन्नता छ । यो कुरा विस्तारै तपाईहरु थाह पाउनुहुनेछ । हाम्रो केन्द्रीय समितिको बैठक बस्न लागेको छ । त्यो बैठकबाट पनि हामी धेरै कुरालाई स्पष्ट पार्दै अगाडि बढ्छौं । हामीमाथि जनताले विश्वास गरेको छ । र, त्यही अनुसार हामी अगाडि बढ्छौं । संगठन बनाउने, मुद्दा र एजेण्डा आफ्नै तरिकाको छ, त्यसले हामीलाई विश्वास छ कि मधेशका जनतालाई हामीलाई साथ दिनेछ । विगतमा पनि हामीले मधेशी जनताको अपार माया पाएका थियौं । त्यो माया र विश्वास कम हुनेछैन । डा. सिके राउत एसियाको उच्च ख्यातिप्राप्त वैज्ञानिक हुनुहुन्छ । यस्तो कम उमेरमा यस्तो क्षमता भएको कमै व्यक्ति हुन्छ र उहाँको क्षमतामाथि विश्वास गरेर नै लाखौ युवा उहाँलाई साथ दिएको छ ।

मधेशवादी दलले हालसम्म उठाइरहेको मुद्दाभन्दा तपाईंहरुको मुद्दामा मूलतः के भिन्नता हुन्छ ? अन्य दलहरुले उठाएका मुद्दाभन्दा तपाईंका मुद्दाहरुमा  के फरक छ भनेर कसरी भन्नसक्नु हुन्छ ?

–उहाँहरुको भन्दा धेरै मुद्दा फरक र पृथक छन् । त्यो कुरा तपाईंलाई पनि थाहा छ, सारा दुनियाँलाई थाहा छ । त्यो कुरा विस्तारै हामी वाहिर ल्याउँछौं । आजै सबै कुरा नभनौं । उहाँहरुको मुद्दा र हाम्रो मुद्दामा आकाश जमिनको फरक छ । उहाँहरुले गरेको सम्झौता हेर्नुस्, हामीले गरेका सम्झौता हेर्नुस्, उहाँहरुले गरेको राजनीति हेर्नुस्, हामीले गरेको राजनीति हेर्नुस्, सबै कुरामा हामी फरक छौं । उहाँहरुले थुप्रैवटा सम्झौता गर्नुभएको छ, हामीले एउटा गरेका छौं । तर हामी कसैसँग प्रतिस्पर्धा गर्दैनौं । हाम्रो छुट्टै धार छ, छुट्टै विचार छ, छुट्टै लाइन छ, त्यो अनुसार हामी अगाडि बढ्छौं ।

उहाँहरुको भन्दा धेरै मुद्दा फरक र पृथक छन् । त्यो कुरा तपाईंलाई पनि थाहा छ, सारा दुनियाँलाई थाहा छ । त्यो कुरा विस्तारै हामी वाहिर ल्याउँछौं । आजै सबै कुरा नभनौं ।

मधेशवादी दलले सरकारसँग विगतमा थुप्रै सम्झौताहरु गरे, त्यो कार्यान्वयन नभएको गुनासो भइरहेको बेला तपाईंहरुले गर्नुभएको सम्झौता चाहिँ कार्यान्वयन हुन्छ कि हुँदैन ? के भन्नुहुन्छ ?

–उहाँहरुले गरेको सम्झौता कार्यान्वयन किन भएन, त्यो कुरा उहाँहरुले नै भन्ने हो । हामीसँग भएको सम्झौतामा हामी स्पष्ट छौं र विश्वस्त पनि छौं । हामीसँग भएको सम्झौता अक्षरशः कार्यान्वयन हुन्छ भने कुरामा विश्वस्त छौं ।

विगतमा स्वतन्त्र मधेशका लागि जुन गतिविधि गर्नुभयो, विभिन्न अन्तराष्ट्रिय संघ संगठनको सदस्य बन्नुभयो र अहिले मूलधारमा आउनुभयो । अब ती सम्बन्ध र सदस्यताहरु खारेज हुन्छ कि यथावत रहन्छ ?

–सबै कुरा एकैपटक गर्न सकिँदैन । त्यसको बारेमा हामीले संगठनमा छलफल गर्छौ । विस्तारै त्यसको बारेमा निर्णय गर्छौ । सिके राउतको अध्यक्षतामा केन्द्रीय समितिको बैठक एक दुई हप्तामा बस्छ र त्यसको बारेमा निर्णय लिन्छौ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप