शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रंगशाला निर्माण गर्न वार्षिक १० करोड बिनियोजन गर्न महानगर तयार : रेनु दाहाल

बुधबार, २९ फागुन २०७५, १९ : ०५
बुधबार, २९ फागुन २०७५

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक महिनामा क्रिकेट रंगशालाको काम सोचेभन्दा बढी भएको बताएकी छन् । प्रमुख दाहालले मिलेको खण्डमा भरतपुर महानगरबाट रंगशालाको लागि वार्षिक १० करोड बिनियोजन गर्न आफू तयार भएको समेत बताइन् । 

भरतपुर महानगरपालिकाले आज निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले सम्झौता भएको मितिले एक महिना कटेर आएको र यो अवधिमा सोचेको भन्दा बढी काम भएको बताइन् । 

कार्यक्रममा महानगर प्रमुख दाहालले भनिन्, ‘यो एक महिनामा धमाधम निर्माणका काम अघि बढिरहेको छ, कपाउण्डिङको काम भइरहेको छ । बस्ने टहराहरु बनिरहेका छन्, मास्टर प्लानको योजना बनिरहेको छ ।’

प्रमुख दाहालले एक महिनामा सोचेको भन्दा बढी काम भएकोले तोकिएकै समयमा रंगशाला निर्माण काम सम्पन्न हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले डीपीआर भएको मितिले दुई वर्षभित्रमा रंगशाला सक्ने जनाएको छ । 

कार्यक्रममा महानगर प्रमुख दाहालले चितवनको गौरवको आयोजना भएको हुनाले यसमा अझ चितवनवासी लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘अब रंगशाला सुरु गरिसकियो, यो जसरी पनि बनाउनु नै पर्छ, रंगशाला अलपत्र पार्ने छुट कसैलाई छैन, नकारात्मक टिप्पणी नगरौँ ।’

कार्यक्रममा प्रमुख दाहालले सामाजिक सञ्जालमा फैलिएका केही तीता टीकाटिप्पणीप्रति चिन्ता जाहेर गरेकी थिइन् । कार्यक्रममा उनले भनिन्, ‘स्थानीय सरकार भरतपुर महानगर हिजो जग्गा उपलव्ध गराउनदेखि सम्झौता हुँदै आज निर्माणको काम दिनरात नभनी लागिरहेको छ, यसमा सबैको जोडबल गर्न जरुरी छ ।’ 

कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले आफूहरुलाई इमानले यहाँसम्म ल्याएको बताए । उनले भने, ‘अबको ५ महिनाभित्र गुरुयोजना तयार हुन्छ, हामीले विश्वको रंगशालाको अध्ययन गरिरहेका छौँ ।’

कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, गीता वाग्ले, कृष्णप्रसाद भुर्तेल, रिना गुरुङलगायतले रंगशालाको लागि प्रदेशबाट सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतले रंगशाला निर्माणमा रकम संकलन गर्ने उपायहरु सुझाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप