शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुक भीडन्तको दिशातिर उन्मुखः प्रमले दिउँसै गरेका थिए प्रतिबन्ध लगाउने संकेत

मङ्गलबार, २८ फागुन २०७५, २२ : २७
मङ्गलबार, २८ फागुन २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग वार्ता नगर्ने’ बताएको १२ घण्टा नबित्दै सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको छ । सरकारको यो निर्णयले फेरि मुलुकमा द्वन्द्व थप चर्किने खतरा बढेको छ । सरकारको निर्णय लगत्तै त्यसको ‘प्रतिवाद गर्ने’ विप्लव पक्षको प्रतिकृयाले पनि सरकार विप्वलबीच भीडन्त हुने गम्भीर स्थितितिर घटनाक्रमहरु अगाडि बढ्ने खतरा बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो नेपाल बैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा ध्वंसात्मक गतिविधिमा संलग्न जो कसैलाई कानुनी कारबाही गरिने बताएका थिए ।
शुक्रबार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको बिषयमा सरकारको ध्यानाकर्षण गराउन बालुवाटार पुगेको व्यवसायीकोे टोलीसँग प्रधानमन्त्री ओलीले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता नगर्ने बरु कारवाही गर्ने स्पष्ट संकेत दिएका थिए । ‘कतिपयले वार्ता गर्नुपर्यो भन्छन् तर केका लागि वार्ता गर्ने ? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन् ? आक्रशित हुदै प्रधानमन्त्री ओलीले भनेका थिए  । बम पड्काउने, आतंकित पार्ने, पैसा असुल्ने कुरा राजनीतिक हुन सक्दैनन् । जहाँ जहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता ?उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिइन्छ ।’

प्रधानमन्त्री ओलीले ‘एउटा गिरोहले कम्युनिष्टका नाममा घिनलाग्दो काम गरिरहेकले उसलाई प्रशासनिक कारवाही गर्ने’ बताएका थिए ।

त्यसो त प्रधानमन्त्री ओलीमात्रै होइन सत्तारुढ दल नेकपाका अर्का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आजै विराटनगरमा विप्लवलाई प्रचण्ड बन्ने प्रयास नगर्न चेतावनी दिएका थिए ।

यसअघि गत विहीबार स्वतन्त्र मधेस गठबन्धनसँग भएको सहमति घोषणा कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले विप्लवको पार्टीप्रति आक्रोश पोखेका थिए । उनले सिके राउत राजनीकि मुलधारमा आएलगत्तै द्वन्द्व समाप्त भएको दावी गरेका थिए । उनले उक्त सभामा चन्द नेतृत्वको नेकपालाई मुलुकमा चन्दा आतंक र हिंशाका गतिविधि त्याग्न चेतावनी दिदै यदि त्यस्ता गतिविधि नत्यागे सरकार कडा कारवाही गर्न बाध्य हुने बताएका थिए ।

फागुन २३ गते बिहीबार मात्रै पनि विप्लवको गढ मानिने तथा ‘मिनी रोल्पा’ भनेर चर्चित कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ मा प्रहरी अपरेशन गरेर सरकारले विप्लवको ‘गतिविधिलाई नसहने बरु बल आवश्यक परे बल प्रयोग गर्ने’ कुराको सांकेतिक प्रदर्शन गरिसकेको थियो ।

त्यसो त विप्लवलाई समात्ने प्लानका प्रहरी कारवाहीमा उत्रिएको, अनि सोही सिलसिलामा सुरक्षा वैठकहरु गर्दै गृहमन्त्री बादल देश दौडाहा निस्केको समाचारहरु पनि आइसकेको छ । सोही क्रममा गृहमन्त्रीले विप्लवको पार्टीलाई ‘तत्त्व’ को संज्ञा दिँदै उक्त समुहलाई निस्तेज र नियन्त्रण गर्ने बताउँदै आएका थिए ।

पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले पनि मुलुकमा आफ्नो गतिविधिलाई आक्रामक र हिंसात्मक बनाउँदै लगेको छ । सोही क्रममा नख्खुस्थित एनसेल कार्यालयमा वम विष्फोट गराउँदा एक जनाको ज्यान गएको थियो भने अरु २ जना घाइते भएका थिए । त्यसपछि गत शुक्रबार पनि सोही पार्टीले वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुगको घरमा पनि विष्फोट गराएको थियो ।

यसअघि सरकारले असन्तुष्टपक्षसँग वार्ता गर्न गठन गरेको वार्ता टोलीले केही साना समुहसँग वार्ता गरेपनि विप्लव नेतृत्वको नेकपाले सो टोलीमार्फत् आएको वार्ता प्रस्तावलाई टेरपुच्छर लगाएको थिएन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप