सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

अर्गानिक कृषि उपज किन जबर्जस्ती महँगो ?

मङ्गलबार, २८ फागुन २०७५, १७ : ३३
मङ्गलबार, २८ फागुन २०७५

फागुन २५ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भृकुटीमण्डपमा जारी तेस्रो अर्गानिक मेलाको अवलोकनपछि सामाजिक सञ्जालमा आफ्ना कुराहरू यसरी पोष्ट गर्नुभयो, ‘हामीले अर्गानिकलाई किन महँगो बनायौँ र के स्वस्थ तरकारी सम्भ्रान्तका लागि मात्रै हो वा यो अधिकार आम मानिसको पनि ? यो तरिकाले हाम्रो अर्गानिक खेतीको भविष्य कतातिर जाला ?’

कृषि मन्त्रालयका प्रवक्ताले यसरी अर्गानिक भनिने कृषि उपजको उच्च मूल्यका विषयमा सामाजिक सञ्जालमा नै लेख्नुपर्ने भएपछिको अवस्था के होला ? के हामीले उत्पाादन गर्ने कृषि उपज सम्भ्रान्तहरूले मात्रै खानका लागि हो ? यसले एउटा कुरा स्मरण गराउँछ– गाउँका किसानले आफ्ना बच्चाहरूलाई पनि खान नदिई घरमा बनाउने शुद्ध घिउ गाउँको मुुखियालाई दिएजस्तो । 

केही समयअघि हामीले ‘सिन्धुका’ (सिन्धुली, काभ्रे र काभ्रे जिल्लाका १४ वटा सहकारी र ४ हजार किसानले उत्पादन सुरु गरेको स्वस्थ कृषि उपज) को ट्रेडमार्क सार्वजनिक कार्यक्रममा एक जना सहभागीले मलाई कार्यक्रमपश्चात एउटा प्रश्न गर्नुभएको थियो, ‘जयरामजी ! यसरी स्वस्थ उत्पादन भनेर अर्गानिकमा काम गर्ने तपाईंहरूले उत्पादन गरेको तरकारी खाने मान्छे छन् ?’ एकछिन त म अक्मकाएँ, पछि उहाँले नै भन्नुभो, ‘अर्गानिक उत्पादन खाने मान्छे छन् र ? यो त असाध्यै महँगो हुन्छ त !’ यसले अर्गानिक उत्पादन र यसको औचित्यमाथि एउटा प्रश्न खडा गरेको छ भने मन्त्रालयका प्रवक्ताले जाहेर गर्नुभएको चिन्तासँग पनि मेल खान्छ । 


अर्गानिकलाई किन महँगो बनाइयो ?
अर्गानिक शब्द यति दुरुपयोग हुँदै गएको छ कि, अब मान्छे पनि अर्गानिक कि नन् अर्गानिक ? भन्न थालिसकेको अवस्था छ । पछिल्लो समय बढी सोधिने र विश्वासमा समेत सङ्कट आइसकेको अवस्था पनि छ ।

अर्गानिक यो कारणले महँगो हुन्छ भनेर पुष्टि गर्ने आधार के छ ? यो किन महँगो ? अर्गानिक नै भन्ने आधार के हो ? प्रमाणित गर्ने कुनै संयन्त्र छ वा छैन ? यस्ता खाले प्रश्नको सामना अहिले गर्नुपर्ने अवस्था छ ।

१२औं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीमा स्टल राखेका मित्र सुहृद चापागाईंले फेसबुकमा एउटा भिडियो पोस्ट गरे । उनले त्यो भिडियोमा बन्दा र काउली अर्गानिक हो वा होइन भनेर जाँच गरिएको देखाएका छन् । पास भएको भनेर ताली पड्काएको पनि देखिन्छ । यसबाट के बुझिन्छ भने अर्गानिक भन्ने कुराको पुष्टि गर्नका लागि अब मेला वा प्राङ्गारिक बिक्री स्थलहरूमा चेकजाँच गर्ने सुविधा उपलब्ध हुनुपर्छ भन्ने सन्देश पनि हो । यी सबैको कारण भनेकै अर्गानिक महँगो हुन्छ भन्ने मान्यता स्थापित हुनु हो । अर्गानिक उत्पादन आफैमा महँगो हुने कुरा पनि होइन । उत्पादनका हिसाबको कुरा गर्ने हो भने विषादी, रासायनिक मललगायतमा लाग्ने लगानी अर्गानिकमा लाग्दैन । विषादी हालेजस्तो फल्दैन भन्ने पनि हुन सक्छ । विषादी हाले जसरी नफल्न सक्छ तर यसका लागि प्राङ्गारिक फसल बढाउने तरिकाहरू पनि छन् भने जैविक विषादी र जैविक मल पनि सरकारले अनुदानमै उपलब्ध गराएको पनि छ । 

अर्गानिक उत्पादन अलि बढी परिमाणमा उत्पादन गर्ने, अर्गानिक उत्पादनका लागि उपयुक्त जमिन कता हो ? ढुवानी वा बिक्री वितरणका लागि अवस्था के छ ? यी सबै कुराहरूको आवश्यक तयारीका साथ काम गर्नु अहिलेको जल्दोबल्दो उपाय हो ।  

अर्गानिक साँच्चै महँगो छ ? 
नेपाल सरकारले ५ वर्षभित्र प्राङ्गारिक देश बनाउने भनेको छ । तर यसका लागि तयारी कस्तो छ वा यो सम्भावना के छ ? भन्नेमा चाहिँ कुनै ठोस विश्लेषण गरेको पाइदैन । जबकि यो अवस्था हेर्दा हामीलाई अर्गानिक देश बनाउन कम्तीमा १० वर्ष लाग्ने अवस्था छ । यसो भनिरहँदा के अर्गानिक उपज साँच्चै महँगो हो ? भन्ने प्रश्न पहिलो रूपमा आउने गरेको छ । तुलनात्मक रूपमा अर्गानिक उत्पादन हालको माटोको अवस्था र विषादीको बढ्दो प्रयोगले पनि उत्पादनमा समस्या छ । काभ्रे जिल्लामा कुल भूगागको ५.१ प्रतिशत जमिन समथर छ । जहाँ उत्पादनका हिसाबले विषादी प्रयोग गरिएको समाचार धेरै मिडियामा आउने गरेको छ । तर कूल भूभागको ५ प्रतिशतका कारण अन्य बाँकी खेतीयोग्य जमिनमा उत्पादित उपजलाई पनि विषादी हालिएको करार गरियो । 

यसरी हेर्दा विषादी हालिने जमिन र नहाली उत्पादन हुने जमिनबाट उत्पादित उपजको वर्गिकरण गरी अर्गानिक बनाउने प्रक्रियामा सहभागी हुन त्यति गाह्रो विषय पनि होइन र यो बजार भाउभन्दा निकै महँगो हुने पनि होइन । एकाथरीको प्रश्न के पनि छ भने अर्गानिक बनाउनका लागि जैविक मल वा गाईवस्तुको मल आवश्यक हुन्छ र वस्तु पाल्नुपर्दा महँगो पर्न जान्छ भन्ने तर्क पनि छ, यो ठीकै पनि छ । तर अर्गानिक असाध्यै महँगो पनि होइन । जबकि कुनै समय अर्गानिक मार्सी ७०० रुपैयाँमा पनि किन्ने मान्छे थिए भने अहिले १८० रुपैयाँमा पाइन्छ, यो पछिल्लो उदाहरण हो । 

अर्गानिक उत्पादनलाई यसरी जबर्जस्ती महँगो बनाउने हो भने प्रवक्ता सुवेदीले भन्नु भएझैँ यो सम्भ्रान्त वर्गका लागि हुन जान्छ भने कम मूल्यमा उत्पादित अर्गानिक उपजले पनि भोलि बजार नपाउने र विश्वसनीयतामा कमी आउने हुन सक्छ । यसकारण अर्गानिक कृषि उपजलाई अर्गानिक मूल्य नै कायम गरौँ नत्र विषादी प्रयोग जस्तो हानिकारक पनि हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जयराम सिग्देल
जयराम सिग्देल

सिग्देल कृषि उद्यमी हुन् ।

लेखकबाट थप