शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्तीबारे कक्षा : राम्रोसँग पाठ बुझ्नका लागि कक्षाकोठामै धुम्रपान गर्न छुट

मङ्गलबार, २८ फागुन २०७५, ०९ : २७
मङ्गलबार, २८ फागुन २०७५

कलेजको कक्षाकोठा जस्तै देखिने स्थानमा विद्यार्थीहरुले धुम्रपान गरिरहेको तस्विर केही समयदेखि इन्टरनेटमा ब्यापक रुपमा सेयर भइरहेको छ । उक्त तस्विरले सबैलाई अचम्मित बनाएको थियो । तर, अहिले उक्त तस्विर सुर्तीबारेको कक्षा रहेको खुलेको छ ।

उक्त विवादास्पद फोटो गत नोभेम्बरमा चीनको सामाजिक सञ्जाल वेइबोमा भाइरल भएको थियो । त्यसयता उक्त फोटो अन्य सामाजिक सञ्जालमा पनि ब्यापक रुपमा सेयर भएको छ ।

फोटोमा युवा विद्यार्थीहरुले चुरोट सल्काउँदै गरेको देख्न सकिन्छ भने केही विद्यार्थीले स्मार्टफोनले फोटो खिचिरहेको र शिक्षकले त्यसलाई चुपचाप हेरिरहेको पनि देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा फोटो भाइरल बनेपछि त्यसको व्यापक आलोचना भएको थियो । अन्ततः विश्वविद्यालयका डिनले यसबारे स्पष्टिकरण दिनुपरेको थियो ।

युनान कृषि विश्वविद्यालयका डिन झाओ झेनडियोङका अनुसार उक्त फोटो सुर्तीबारे कक्षाका दौरान लिइएको थियो  । जसमा शिक्षकले विभिन्न ब्रान्डका चुरोट ल्याएर विद्यार्थीहरुलाई चाख्न दिएका थिए ।

सुर्तीबारे विस्तृत रुपमा बुझ्न, यसको स्वाद र यसले घाँटीमा गर्ने प्रभावबारे बुझ्न शिक्षकले सो विधि अपनाएको स्पष्टिकरण उनले दिएका छन् । झाओका अनुसार विद्यार्थीहरुलाई चुरोट पिउन बाध्यकारी नभए पनि सबैले यसमा भाग लिएका थिए ।

यता, विश्वविद्यालयका विद्यार्थीहरुले पनि शिक्षकको उक्त विधिको बचाऊ गरेका छन् । ‘हामीले चुरोट पिएका होइनौँ । हामीले त्यसको बारेमा जानकारी मात्र लिएका हौँ,’ विद्यार्थीले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसका बावजुद धेरैले यो विधि खतरनाक भएको र विद्यार्थीको जीवनलाई जोखिममा पारेको आरोप लगाएका छन् ।

‘अब जाँचमा के गर्ने ? कसले छिटो चुरोट तान्छ भनेर प्रतिस्पर्धा गराउने ?,’ एक जनाले टिप्पणी गरेका छन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप