आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वसाधारण भन्छन्– ‘बाटो बन्द नगरौं, भीभीआईपीलाई हेलिकोप्टरबाट सवारी गराऔं’

गणतन्त्र भन्छ तर व्यवहार र तौरतरिका अझैं राजा–महाराजाहरुकै जस्तो देखिन्छ
आइतबार, २६ फागुन २०७५, २१ : २०
आइतबार, २६ फागुन २०७५

जब भीभीआईपीहरु एयरर्पोट पुग्ने वा फर्किने बेला हुन्छ, तब काठमाडौंको ट्राफिक अस्तव्यस्त हुन्छ । भीभीआईपी अर्थात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका उच्च पदस्थ पदाधिकारीहरु आफनो कार्यालयबाट विभानस्थल वा कुनै कार्यक्रमस्थल पुग्ने र फर्किने बेला रुटमा पर्ने सबै सडक खाली गराइन्छ । खासगरी विदेश भ्रमण तथा उपत्यका बाहिरको औपचारिक कार्यक्रमका लागि विमानस्थल जाने बेला र राजधानीमै कुनै कार्यक्रम आयोजना गरिएको बेला भिआइपी सवारीका बेला सर्वसाधारणले दुःख झेल्ने गरेका छन् । 

त्यसको प्रभाव सहरका धेरै सडकमा जाम हुन्छ भने गन्तव्यमा हिँडेका सर्वसाधारणको समयतालिका पनि गडबड हुन्छ । एक किसिमले भिआपीलाई सजिलो भएपनि सडकमा हिँडिरहेका सर्वसाधारणले भने सास्ति पाउने गरेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको अमेरिका भ्रमणका क्रममा साँझ ७ बजे शितलनिवास, कमलपोखरी, ज्ञानेश्वर, गौशाला, एयरपोर्ट सडक निश्चित समयको लागि खाली गराइएको थियो ।  

हामीले राजधानीका केही सर्वसाधरणसँग भीआईपी सवारीका बेला उनीहरुले कस्तो अनुभव गरेका छन् भन्ने बारे बुझने प्रयास गरेका छौँ ।  

नवीन कार्की : सवारी अगाडि सूचना दिइयोस्    
म अहिले पेप्सिकोला जान सिनामंगलमा गाडी पर्खिरहेको छु । धेरैजसो अफिसको समयमा सवारी हुने गरेको छ । यसले जनतालाई आउन जान समस्या पार्ने गरेको छ । विशेष गरेर जनतालाई कुन बेला स्रवारी हुन्छ भन्ने जानकारी नै हुँदैन, जसले गर्दा सर्वसाधारणले सास्ती पाइरहेका छन् । मुख्यत सडक साँघुरो हुनु पनि यसको समस्या हो । उनीहरुको सवारीको बारेमा अगाडि नै जानकारी दिने हो भने समस्या कम हुन सक्छ । भीआईपी आउनु तीन चार घण्टादेखि सडक जाम गर्नु राम्रो हैन । म पनि धेरै पटक सवारी भएका बेला जाममा परेको छु । अफिस टाइममा सवारी भएर जाम भएको हुन्छ । हामीलाई अगाडि नै थाहा हुँदैन् । 

रमिता श्रेष्ठ गुरुङ्ग : सडक खाली नगराइ्रकन सरक्क गए हुन्थ्यो
भिआपी सवारी भएको बेला गाडी पाउनै गाह्रो हुन्छ । एम्बुलेन्सहरु आइरहेका हुन्छन्, उनीहरुलाई पनि गाह्रो भइरहेको हुन्छ । सवारी भएको बेला म जाममा त परेको छैन तर सडकको सवारी साधन बन्द नगरी जाँदा राम्रो हुने थियो । सवारी छ भनेर सडक खाली नगराइकन सरक्क गए त भइहाल्यो नि ! तर त्यस्तो कहाँ हुन्छ र हाम्रो देशमा ? जामले कति मान्छेलाई असर गरिरहेको हुन्छ, म पनि धेरै बेरदेखि सडकमा कुरेर बसेको छु । 

सत्यनारायण चौधरी : भीभीआईपी आफ्नो सुरक्षा लिएर जाँदा राम्रो
आखिर ऊ पनि त जनता नै  हुन्छ । उसलाई सुरक्षाका साथ गएदेखि राम्रो । पुरै सडक बन्द गरेर गएपछि सबै जनतालाई सास्ती । कसलाई कहाँ  पुग्नुपरेको हुन्छ । म पनि धेरै पटक सवारीका कारण जाममा परेको छु । भिभिआपी आफनो सुरक्षा साथ गएदेखि अरुले पनि दःुख पाउदैनन्, सास्ती हुँदैन् ।

विश्वनाथ गौतम : राम्रो काम गर्नु, जनतासँग किन डराउनु ? 
भीआईपी सवारीका कारण सर्वसाधारणलाई त दुःख नै हुन्छ नि । गाडी पाँइदैन, पैदल नै हिँडनुपर्छ । कहाँ पुग्नुपर्छ । सवारीका बेला धेरैचोटी म पनि जाममा परेको छु । जाममा मात्र हैन, बस नपाएर हिँडेर घरसम्म पुगेको पनि छु । भीभीआईपीहरुले बाटो खाली किन गराउनुपरयो । राम्रो काम गर्यो भने त जहाँ पनि हिँड्न पाइन्छ । आफूले राम्रो काम गरेर देखाउन सक्नुपर्यो जनतालाई । अनि डर भएन नि । जनतालाई दुःख नदिनका लागि आफूले राम्रो काम गर्नुपर्यो अनि जनताको हाई हाई मै बस्न पाइहालिन्छ नि । 

कुनै नराम्रो काम गरेको हुन्छ, जनतासँगै डर हुन्छ, अनि बाटो बन्द गरेर घुम्न गयो, हुने चाहिँ जनतालाई दुःख मात्रै हो । उनीहरुको सवारी भएको बेला सवारी साधन नपाएर तथा जाम भएर अफिस पनि हिँडेर जानुपर्नेहुन्छ । बिरामी मान्छे होलान्, उनीहरु पनि हिँडेर नै अस्पताल पुग्नुपर्ने हुन्छ । यो अब मैले भनेर मात्र हुने कुरा पनि हैन, सबैले भन्नुपर्ने कुरा हुन् । सबैले बुझ्नुपर्ने कुरा हुन् र हाम्रा ठूलाबडाहरुले पनि बुझ्नुपर्ने कुरा हुन् । 

रमेश कार्की : घरबाटै हेलिकोप्टरबाट एयरर्पोट गए राम्रो
भीभीआईपीले मात्र हैन, गरिबले नि सडकमा स्वतन्त्रतापूर्वक हिँडन पाउनुपर्यो नि ! सवारी छ भनेर यताउता बाटो काट्न पनि दिँदैन । घर अफिस जान गाडीको  सुविधा पनि हँुदैन । दुई तीन चोटी नै म पनि सवारीका कारण जाममा परेको छु । सडकमा सवारी गराउनु साटो सिधै घरबाट हेलिकोप्टरमा एयरपोर्ट लगे राम्रो, हामीलाई नि सजिलो । 

राजकुमार बुढाथोकी :  अहिले पनि राजा हिँडने बेलाको जस्तो प्रथा 
सवारीले गर्दा बाटोघाटोमा मान्छेहरु हिँडन पाँउदैनन् । कहाँ कहाँ पुग्नुपर्ने हुन्छ, बिरामी भइरहेका हुन्छन्, त्यसले गर्दा सर्वसाधारणले त सास्ती नै पाइरहेका छन नि । हाम्रो देशमा ठूलोमान्छेले सानो मान्छेलाई केही पनि गन्दैन । नियम कानुन भन्छ तर नियम कानुन केही पनि छैन के ! ठूलालाई नियम लाग्दैन, सानालाई मात्र नियम लाग्छ । सरकारले एकतर्फीको सडक मात्र खाली गरेर गए त धेरै राम्रो हुन्थ्यो । किन दुईतर्फी नै सडक बन्द गर्नु ? त्यसरी एकतर्फमात्रै बन्द गरिए त कम्तिमा जनताले हिँडन त पाउँथे । 

उनीहरु सर्वसाधारण चढ्ने गाडी नै बन्द गरेर, पूरै बाटो नै बन्द गरेर हिँड्छन् । पहिलाको राजसंस्था जस्तो क्या । पहिला राजा हिडने बेलाको जस्तो त्यही नै प्रथा अहिले पनि ल्याइरहेको छ । अहिले त गणतन्त्र के के भनिरहेका छन् मान्छेहरुले तर पनि त्यो सिस्टम अझै हटेको छैन । राष्ट्रपति उपराष्ट्रपति जोसुकै होउन्, व्यवहार र तौरतारिकाहरु चाहिँ पहिलेका राजा महाराजाहरुकै जस्तो छ । यसलाई बदल्नु पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप