सीके राउत अवतरणका आयामहरू
गत शुक्रबार सीके राउतको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच एघार बुँदे सहमती भएको छ । कमलादीमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राउतसँग सहमती भएको हो । सन् २००६ देखि मधेसलाई विखण्डन गर्नुपर्छ भन्दै विभिन्न गतिविधि गर्दैआएको समूहसँग यस्तो राजनीतिक सहमती हुनु सुखद् विषय हो । यसरी मुलुक टुक्र्याउँछु भन्नेहरू वैधानिक मूलधारको राजनीतिमा आउनु अवश्य नै सकरात्मक परिघटना हो । कसैको इसारा र उक्साहटविना हामीले अपनाएको बाटो गलत रहेछ भनेर आत्मसात गर्दै ठण्डा दिमाग लिएर यो निर्णयमा पुगेको हो भने यसमा कसैले पनि टाउको दुःखाउनु आवश्यक छैन । अर्थात यसलाई सरकारको सकरात्मक पहलकदमी र राउतको गलत आत्मसातीकरणका रूपमा ग्रहण गर्नुपर्छ । यसो भए सकरात्मक परिणाम आउँने सम्भावना हुन्छ ।
पछिल्लो समय सरकार र राउतबीच भएको राजनीतिक सहमती पछि राष्ट्रिय राजनीति निकै तरङ्गीत बनेको छ । विभिन्न जोड, कोण र स्वार्थ अनुरूप व्याख्या र विश्लेषण भइरहेको छ । यसरी बेलाबेलामा चर्चामा आइरहने सीके राउत को हुन् ? पछिल्लो राजनीतिक घटनाक्रम र त्यसले पैदा गरेको शंसयहरू बीचमा यो प्रश्न पनि जबरजस्त रूपमा उठिरहेको छ । सीके राउत सप्तरीमा जन्मिएका हुन् । उनले पुल्चोकवाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक, टोकियोबाट स्नातकोत्तर र बेलायतको क्याम्ब्रिज विश्वविद्यालयवाट विद्यावारिधि गरेका छन् । त्यसपछि सन् २००९ मा उनी अमेरिका गए अनि न्युयोर्कको एक संस्थामा कम्प्युटरविज्ञको रूपमा काम सुरु गरे । यही सिलसिलामा उनले गैरआवाशीय मधेसी सङ्गठन स्थापना गरे । यो अमेरिकास्थित पहिलो मधेसी गैरसरकारी संस्था थियो ।
पढाइ समाप्तीपछि सन् २००६ सालमा उनी नेपाल आए, जुनबेला मधेस आन्दोलन चर्किरहेको थियो । यही वस्तुगत सम्भावनालाई पकड्न उनले स्वतन्त्र मधेस गठबन्धन नामक संस्था खोले । यसको मूल नारा मधेसीमाथिको नेपाली औपनिवेशीकरण र जातीय विभेदको अन्त्य भन्ने थियो । यसको छुट्टै झण्डा, राष्ट्रिय गान, सिमाना र सेना हुनुपर्ने आधारभूत मान्यता थियो । यो गठबन्धनको स्थापनापछि उनी अमेरिकामा जागिर खान गएको हुँदा यसले धेरै गतिविधि गरेन । उनी सन् २०११ मा नेपाल फर्किएपछि सन् २०१२ मा एक घोषणापत्र जारी गर्दै छुट्टै स्वतन्त्र मधेस वा विखण्डनकारी अवधारणा अघिसारे । चरम राष्ट्रघाती र देशद्रोही शङ्कास्पद, विवादस्पद गतिविधि र भनाइहरूको बीच सीके राउत एकाएक चर्चामा आए । मधेसी अस्थिरता र आन्दोलनको कमलो परिवेशमा यसले आगोमा घिउ थप्ने काम गर्यो । मधेसमा बढिरहेको क्षेत्रीय भावनासँग मिल्दोजुल्दो एक अतिवादी चिन्तन् प्रवृत्तिका रूपमा स्थापित भयो । उनी पश्चिमा शक्ति केन्द्रहरूद्वारा परिचालित थिए भन्ने कुरा उनलाई जेलमै भेट्न विभिन्न राजदूतहरू पुगेको घटनाबाट पनि अनुमान गर्न सकिन्छ ।
तर माथि उल्लेखित परिघटनाहरू सीके राउतको रूपवादी वा आवरणीय स्केचहरू हुन् । रणनीतिक स्वार्थहरू धेरै भिन्न रहेको अड्कल गरिँदैछ । मूलतः विगतदेखि नै नेपालको राष्ट्रिय राजनीतिमा विदेशी शक्तिकेन्द्रहरूको स्वार्थ हाबी हुँदै आएको छ । यसमा पनि पश्चिम र दक्षिणको भूमिका हस्तक्षेपपूर्ण देखिन्छ । यसरी पश्चिम र दक्षिणको स्वार्थगत चलखेल बढिरहेको सन्दर्भमा उत्तर पनि कानमा तेल हालेर बस्ने अवस्था रहँदैन । वर्तमान अवस्थामा दक्षिण एसियाली रणनीतिक राजनीतिमा चीनको भूमिकालाई नजरअन्दाज गर्नुहुँदैन । हालसालै भारत पाकिस्तान मुठभेडको शान्तिपूर्ण समाधनमा पनि उत्तरले महत्त्वपूर्ण भूमिका खेलेको जगजाहेर नै छ । यसकारण पनि नेपाली राजनीति वैदेशिक रणनीतिक स्वार्थको गुरुत्वकेन्द्र वरिपरि घुमिरहेको छ । यस्तो वस्तुगत धरातलमा कुनै दल, संस्था, समूह, नेता र परिघटनाहरू पनि उक्त रणनीतिक स्वार्थबाट अछुत हुन सक्दैन । यस्तो वस्तुगत रणनीतिक धरातलमा सीके राउतको अवतरणभित्र पनि रहस्या लुकेको हुनसक्छ । यसमा आशङ्का गर्ने ठाउँ देखिन्छ ।
यता पछिल्लो राजनीतिक घटनाक्रम अलि नाटकीयरूपमा विकास भइरहेको देखिन्छ । टीकापुर घटनामा दोषी करार गरिएको रेशम चौधरीलगायत एघार जनालाई बुधबार आजीवन कैद सजाय घोषणा गरी जेल चलान गरिएको छ । यसलगत्तै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्नुको साथै आन्दोलन गर्ने उद्घोष गरेको छ । उता विखण्डन र देशद्रोहको मुद्दा खेपिरहेको सीके राउतलाई बिहीबार अदालतले रिहा ग¥यो । यसको ठिक भोलिपल्ट अर्थात शुक्रबार नै व्यापक तयारी र तामझामसहित सरकारसँग एघार बुँदे सम्झौतामा हस्ताक्षर भयो । सरकार राउत सहमतीको सन्दर्भमा विभिन्न जोड, कोण र स्वार्थजन्य टीकाटिप्पणीहरू भइरहेको छ । स्वयं सत्तारुढ दलमा पनि एकरूपता देखिएको छैन । यो कानुनी दायरा र राजनीतिक सुझबुझ अनुरूप नै भएको हो भने कसैले आपत्ति मान्नुपर्दैन । तर विदेशी शक्ति केन्द्रहरूको रणनीतिक स्वार्थ र योजनामा गरिएको हो भने त्यो तत्काल सामन्य भए पनि भावी दिनमा दुर्भाग्य सिद्ध हुने खतराछ ।
वस्तुतः पश्चिम र दक्षिणले नेपालमा अस्थिरता चाहेकोमा दुई मत छैन । यो हाम्रो लागि नयाँ र अनौठो विषय हुँदैहोइन । यही अस्थिरताको पृष्ठभूमिमा उनीहरूले आफ्नो स्वार्थ सिद्धिको गेम जित्दै आएको देखिन्छ । यस्तो तीतो तर यथार्थ धरातल अन्तर्गत हाल नेपालमा भइरहेको पछिल्लो विकासित राजनीतिक घटनाक्रमहरूलाई नजिकबाट नियाल्दा धेरै आशङ्का गर्ने ठाउँ रहेको छ । फेरि अर्कोतिर हामीले भुल्नै नहुने सच्चाइ के हो भने पश्चिम र दक्षिण दृष्टि नेपालको सन्दर्भमा कतिपय अवस्थामा समान देखिन्छ भने कतिपय सवालमा अन्तरविरोधपूर्ण रहेको छ । यसले को कसको समर्थन र विरोधमा रहेको छ छुट्याउन मुस्किल हुनेगर्दछ । किनकी स्वयं साम्राज्यवादीहरू बीचमा पनि स्वार्थगत अन्तरविरोधहरू टकराउने गर्दछ । यो नियम हो । यद्यपि उनीहरूको एकल मिसन भनेको राजनीतिक अस्थिरता नै हो, जुन उनीहरूको रणनीतिक स्वार्थ सिद्धिको हतियार बन्दै आएको छ ।
यता नेपाली राष्ट्रिय राजनीतिमा पश्चिम, दक्षिण र उत्तरको भूमिका निर्णायक रहेको छ । यसमा पश्चिम र दक्षिणले सनातनी हस्तक्षेपको नीति अनुरूप आफ्नो रणनीतिक अस्त्रहरू प्रयोग गरिरहेको छ । उता चीनले भने पश्चिम र दक्षिणको चलखेल र षड्यन्त्रको पारो अनुरूप आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउँदै आएको छ । यस्तो त्रिकोणात्मक अन्तरविरोध जताबाट नापे तौले पनि नेपाल र नेपालीका लागि हितकर छैन । पश्चिम र दक्षिणको धेरै मुद्दाहरूमा समानता भए पनि मधेसमा पकड जमाउने सन्दर्भमा केही अन्तरविरोधहरू जीवित देखिन्छ । यही मेसोमा राजपालगायतका मधेसवादी दलहरू दक्षिणद्वारा परिचालित भएको दाबी गरिएको छ । उता सीके राउतलाई पश्चिमाहरूले मधेसवादी दलहरूको अर्को विकल्पका रूपमा पेश गर्न खोजिएको विश्लेषण पनि गरिँदैछ । तामझाम र हल्लाखल्ला हेर्दा यो विश्लेषणमा सत्यता छैन भन्न सकिन्न । यद्यपि सत्य तथ्य के हो, भविष्यले नै बताउनेछ ।
सीके राउत र सरकार बीच भएको समझदारीको सन्दर्भमा विभिन्न स्वार्थगत आयामहरू टकराएको देखिन्छ । यसमा पहिलो सीके राउतलाई समर्थन गर्नु भनेको पश्चिमा लाइनको पक्षपोषणका रूपमा अथ्र्याइँदैछ । दोस्रो, सीके राउतको विरोध र मधेसवादी दलहरूको समर्थन भनेको दक्षिण ब्लकको स्वार्थमा आधारित रहेको छ । उता समग्र नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको कोणबाट चिन्ता गर्ने तेस्रो आयाम रहेको छ । यो सही र सकरात्मक आयाम हो । नेपाल र नेपालीविरुद्ध कोही कसैद्वारा परिचालित र सञ्चालित हुनुहुँदैन भन्ने बुझाइ सही हो । राष्ट्रहित विपरीत कोही कसैको स्वार्थमा परिचालित र सङ्गठित हुनु आफैमा जघन्य राष्ट्रिय अपराधबाहेक अरू केही हुँदैन । यसले के कुरालाई स्पष्ट गर्छ भने, पछिल्लो राजनीतिक घटनाक्रमप्रति कसैले अन्धाधुन्ध समर्थन र विरोध गर्नुको पछाडि राष्ट्रिय हितभन्दा पनि विदेशी शक्तिकेन्द्रहरूको स्वार्थगत पक्षधरताको कडी जोडिएको नहोला भन्न सकिन्न । यसमा कसैले पनि पानीमा डुबेर ओभानो रहेको ढोँग गर्न जरुरी छैन ।
त्यसैले हामी अपेक्षा गरौँ कि रेशम चौधरीको जेलचलान र सीके राउतको बहिर्गमनसँगैको राजनीतिक सहमती नितान्त कानुनी र राजनीतिक सुझबुझसहितको परिघटनाहरू हुनुपर्छ । यो संयोग मात्र पक्कै पनि होइन ।
यद्यपि पछिल्लो राजनीतिक परिघटनाहरूले सकरात्मक दिशा पकड्न सकोस् । घटना हुने वित्तिकै एक्कासि तरङ्गित भएर नकरात्मक धारणा निर्माण गर्नुभन्दा गम्भीर भएर चिन्तन मननको संस्कृति विकास गरौँ । यसको मतलब सबै घटना प्रक्रियाहरूमा आँखा चिम्लिनुपर्छ भन्ने होइन । हरेक वस्तु, सत्ता र घटनाप्रति आलोचनात्मक दृष्टिकोण राख्नुपर्छ । आलोचनात्मक चेतविना सत्य र तथ्य पहिचना गर्न सकिन्न । हल्लाको पछि लागेर सत्य पहिल्याउन सकिँदैन । सचेत भएर चिन्तन र मनन गर्नुपर्छ । त्यसमा पनि सीके राउतको सन्दर्भमा शक्तिकेन्द्रहरू जोडिएको आशङ्का गरिएको छ । आज यति सानो विषयमा आवश्यकताभन्दा असाध्यै बढी चर्चापरिचर्चा र समय बर्बादी यसैको उपज नहोला भन्न सकिन्न ।
तसर्थ, सरकार र सीके राउतबीचको एघार बुँदे सहमती कसैको रणनीतिक स्वार्थ सिद्धीको भ¥याङ नबनोस् । यो रणनीतिक चलखेलभन्दा राजनीतिक समस्या समाधनको आयामद्वारा निर्देशित होस । हाम्रो चाहना भनेको हरेक घटनापक्रियाहरूले सकरात्मक र गुणात्मक परिणाम दिन सफल होस् भन्ने हो । तर जब यो वैदेशिक शक्तिकेन्द्रहरूको रणनीतिक स्वार्थमा आधारित सुनियोजित नाटक मञ्चन बन्दछ, त्यो नेपाल र नेपालीहरूका लागि दुर्भाग्य सिद्ध हुनेछ ।
यसले अर्को अस्थिर तथा जटिल राजनीतिक कोर्स आरम्भ हुने खतरालाई पनि इङ्गित गर्छ । त्यसैले जेलबाट छुटेको उपलक्ष्यमा प्रधानमन्त्रीको उपस्थितिमा गरिएको कार्यक्रमवाट सिङ्गो मुलुक तरङ्गीत हुनु बेकारछ । धेरै मिडियाबाजी गर्नु धिक्कार छ । सनसनी फैल्याउनु लाजमर्दोछ । एकजना सीके राउत आउँछ जान्छ । यो कति पनि ठूलो मुद्दा होइन । यद्यपि शक्तिकेन्द्रहरूको दाउपेचमा भने सचेत र गम्भीर बन्नैपर्छ । किनकि बन्दकोठाको षड्यन्त्रले हामीलाई सही दिशानिर्देश गर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको मेयरमा कांग्रेसबाट ११ जना सिफारिस (नामावलीसहित)
-
उपनिर्वाचनका लागि यस्तो छ तयारी, आयोगले मागेको जति बजेट निकासा भएन
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा अनुबन्ध
-
स्वर्णलक्ष्मी सहकारीको बैंक खाताहरू रित्तै, शून्यदेखि ४ रुपैयाँसम्म मौज्दात
-
स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध