बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

डार्बिनको विकासवाद : एक मार्क्सवादी दृष्टिकोण

आइतबार, २६ फागुन २०७५, १२ : ४०
आइतबार, २६ फागुन २०७५

युरोपमा आधुनिक कालको सुरुवातसँगै पुँजीवादको आगमन भएको थियो । त्यसले मानव समाजमा आमूल परिवर्तन ल्यायो । पुँजीवादले जति प्रगति गर्‍यो त्यो प्रगतिको अगाडि विगतका सबै प्रगतिहरू केटाकेटीका खेलजस्ता थिए ।

प्राचीन कालदेखि मध्यकालसम्मका सातवटा आश्चर्यहरूको बारेमा हामीले सुन्दै आयौँ । पहिलो इजिप्टको पिरामिड, मध्यकालमा बनेको ताज महल, बेबिलोनको झुलन बगैँचा, चीनको ग्रेटवाल प्राचीन कालका ठूला उपलब्धिहरू हुन् । तर ती सबै उपलब्धिको अगाडि पुँजीवादले ल्याएको उपलब्धि अद्वितीय र अभूतपूर्व थिए । आज हामीले जति पनि विकास, सभ्यताहरूको उपभोग गरिरहेका र देखिरहेका छौँ, त्यो सबैको श्रेय पुँजीवादलाई जान्छ । पुँजीवादकै परिणाम स्वरूप आज हामी त्यो स्तरमा आएका छौँ  ।

पुँजीवादले कति प्रगति गर्यो भन्ने विषयमा मार्क्स एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’मा हेर्नुपर्छ । त्यसको पहिलो अध्यायमा बुर्जुवा र सर्वहारा वर्ग भन्ने अध्याय छ । उक्त अध्यायमा पुँजीवादले कति प्रगति गर्‍यो भन्ने कुराको विस्तृत विवरण छ । मार्क्स र एङ्गेल्स कम्युनिस्ट हुनुहुन्थ्यो । तर उहाँहरूले पुँजीवादको प्रशंसा गर्नुभएको छ । पुँजीवादले कति प्रगति गर्‍यो यसबाट देखिन्छ । तर अठारौँ शताब्दीको अन्त्यसँगै पुँजीवादमा सङ्कट देखिन थाल्यो । पुँजीवादले तीनवटा आदर्श लिएर आएको थियो– स्वतन्त्रता, समानता र भातृत्व । तर परिणाम त्यसको विपरीत भयो ।

 स्वतन्त्रता– लुट्ने र लुटिने स्वतन्त्रतामा पर्‍यो । सुरुमा स्वतन्त्रता भनेर हरेक व्यक्ति स्वतन्त्र हुन्छ भनियो । तर परिणाममा एकले अर्कालाई लुट्ने मात्र भयो । सके लुट्ने नसके लुटिने । छानी छानी  लुट्ने । लुटिँदा पनि छानी छानी लुटिने । अहिले आएको पशुपति शर्माको गीत जस्तो । त्यो गीतमा भनेजस्तै त्यो बेला लुट्ने र लुटिने स्वतन्त्रता थियो ।

मार्क्सले प्राचीन कालका दासहरू र आधुनिक कालका सर्वहाराबीच भिन्नता भनेको स्वतन्त्रता हो भनेका छन् । तर मार्क्सको भनाइअनुसार के बुझिन्छ भने प्राचीन कालका दासहरू स्वतन्त्र थिएनन् रे । अहिलेको सर्वहारा वर्ग स्वतन्त्र छन् । त्यही स्वतन्त्रताले प्राचीन कालको दास र आधुनिक कालको सर्वहारा वर्गबीच भिन्नता छ ।

मार्क्सले प्राचीन कालका दासहरू र आधुनिक कालका सर्वहाराबीच भिन्नता भनेको स्वतन्त्रता हो भनेका छन् । तर मार्क्सको भनाइअनुसार के बुझिन्छ भने  प्राचीन कालका दासहरू स्वतन्त्र थिएनन् रे । अहिलेको सर्वहारा वर्ग स्वतन्त्र छन् । त्यही स्वतन्त्रताले प्राचीन कालको दास र आधुनिक कालको सर्वहारा वर्गबीच भिन्नता छ । तर त्यो स्वतन्त्रता कस्तो स्वतन्त्रता ? त्यो भनेको लुटिने स्वतन्त्रता । छानी छानी लुटिने । को बाट लुटिने कसरी लुटिने ? कति लुटिने ? तर प्राचीन कालको दासहरूलाई लुटिने तर छानेर लुटिने स्वतन्त्रता थिएन । एउटै दास मालिकको अधिनस्त रहेर लुटिने हुन्थ्यो । तर अहिलेको सर्वहारा वर्ग छानी छानी लुटिएको छ । त्यस्तै यो पुँजीवादको अन्तिममा स्वतन्त्रता भन्ने चिज लुट्ने र लुटिने स्वतन्त्रतामा परिणत भयो । सक्नेले लुट्ने नसक्ने लुटिने ।

समानता– धन दौलतको समानता । पैसाले नाप्ने समानता । कसको मूल्य कति नाप्ने मापदण्ड के हो ? पैसा । पुँजीवादमा प्रेमको पनि मूल्य हुन्छ । प्रेम पनि पैसामै मापन गरिन्छ । त्यो पुँजीवादको विशेषता हो । तर, पुँजीवादभन्दा पहिले प्राचीन कालदेखि मध्यकालसम्मको प्रेम भनेको वास्तविक प्रेम हो । तर पुँजीवादले प्रेमलाई पनि पैसामा मापन गर्‍यो । अर्थात समानता भनेको पैसामा मापन गरिने समानता भयो ।

भातृत्व– रक्तसम्बन्धमा आधारित सम्बन्धलाई भातृत्व भन्ने गरिन्छ । तर त्यो भातृत्व प्रतिस्पर्धामा एकअर्काको घाँटी रेट््ने प्रवृत्तिमा रूपान्तरण भयो । पुँजीवादको जुन उपलब्धि थियो । त्यसको परिणाम स्वरूप मानव समाजमा जुन समस्या सिर्जना भयो त्यसको विकल्पमा त्यसबेलाका दार्शनिकहरूले नयाँ विकल्प सोच्न थाले र त्यो नयाँ  विकल्पको रूपमा समाजवाद भन्ने ल्याइयो ।

पुँजीवादको ठाउँमा समाजवाद आयो । त्यो समाजवाद कुरामा आउँथ्यो तर यथार्थमा आउँदैनथ्यो अर्थात् काल्पनिक थियो । कुरामा समाजवाद आउने, सुन्दर समाज आउने, सुन्दर संसार आउने तर यथार्थमा उस्ताको उस्तै । अहिलेको हाम्रा नेपालको समृद्धि जस्तै । कुरामा आइरहेको छ समृिद्ध । रेल गुडेको गुड्यै छ । पानी जहाजको त टिकट नै अग्रिम खुला भइसक्यो । कति किन्ने हाम्रो समृद्धि ? त्यस्तै त्यसबेलाको समाजवाद जुन दार्शनिकहरूले सोचेर ल्याएका थिए त्यो कुरामा मात्र ल्याइएको समाजवाद थियो । त्यसबाट यथार्थमा समाजवाद आएन ।

समाजवादपछि मार्क्सवाद आयो । मार्क्सवादले पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवाद ल्यायो । त्यो वैज्ञानिक समाजवाद वास्तमै आउने समाजवाद थियो । त्यो पहिलो पटक पेरिस कमिनमा आयो । दोस्रो पटक १९१७ मा सोभियत सङ्घमा आयो । तेस्रो पटक १९४९ चीनमा आयो । हामीले पनि  ल्याउने भनेकै छौँ । त्यही समाजवाद हो, त्यसबेला मार्क्सले लिएर आएको समाजवाद । मार्क्सवादले त्यो समाजवादको निष्कर्ष एउटा दर्शनको आधारमा निकाल्यो । त्यो दर्शन द्वन्द्वात्मक भौतिकवाद थियो । द्वन्द्वत्मक भौतिकवाद भन्ने बित्तिकै त्यसमा दुईवटा दर्शनहरू छन् । एउटा द्वन्द्ववाद एउटा भौतिकवाद ।

द्वन्द्ववाद हेगेलले अठारौँ शताब्दीमा ल्याएका थिए । हेगेल जर्मनीका राष्ट्रिय दार्शनिक हुन् । हेगेलको दर्शन सबैका लागि मान्य हुन्थ्यो । त्यसबेला हेगेलको दर्शनलाई हरेक बुद्धिजीवीले आफ्नो विचारधाराको  आधार बनाउँथे । त्यो दर्शनको मार्क्स र एङ्गेल्सले पनि अध्ययन गरे र आफ्नो विचारधारका लागि आधार बनाए ।

अर्काे दर्शन भौतिकवाद थियो । भौतिकवाद त्यसबेलाकै अर्का दार्शनिक हेगेलकै चेला लुट्विग फाएरबाखले लिएर आएका थिए । तर, उनले हेगेलको दर्शनलाई सिङ्गै उठाएर डम्पिङ साइडमा लगेर राखिदिए । हेगलको दर्शन अध्याध्मवादी थियो । त्यसकारण उनले त्यो दर्शनको ठाउँमा भौतिकवादी दर्शन स्थापित गराइदिए । हेगेलको द्वन्द्ववाद र फाएरबाखको भौतिकवाद मिलाएर द्वन्द्वात्मक भौतिकवाद बनाउने काम मार्क्स एङ्ेल्सद्वारा गरियो ।

दर्शन त ल्याइयो । द्वन्द्व र भौतिकवादलाई मिलाएर द्वन्द्वात्मक भौतिकवाद त बनाइयो । तर त्यसका लागि प्रमाणहरूको अभाव थियो । द्वन्द्ववादले यो सम्पूर्ण संसार परिवर्तनशील छ, विकासशील छ र अन्तरसम्बन्धित छ भन्ने धारणा लिएर आएको थियो । भौतिकवादले सम्पूर्ण संसारको आधार भौतिक तत्वको पदार्थ हो भन्ने कुरा ल्याएको थियो । यी दुवैलाई मिलाएपछि त्यसबेला दर्शन पूर्ण हुन्थ्यो । हेगेलको दर्शनमा एउटा कुराको कमी थियो । हेगेलको दर्शन अत्याध्मवादी थियो  । उक्त दर्शनले आत्मा र चेतनालाई प्रधान मान्थ्यो । त्यसैगरी फायरबाखको दर्शनमा पनि कमी थियो । उक्त दर्शनले यो संसार स्थिर छ, अपरिवर्तनशील छ, जस्ताको तस्तै रहिरहन्छ भन्ने मान्यता राख्दथ्यो । त्यसकारण त्यो अदिभूतवाद थियो । फायरबाखको दर्शनमा रहेको अदिभूतवाद र हेगेलको दर्शनमा रहेको अत्याध्मवादलाई हटाएर मार्क्स एङ्गेल्सले द्वन्द्वात्मक भौतिकवादको निर्माण गरे ।

त्यसपछि द्वन्द्वात्मक भौतिकवादी  दर्शन सम्पूर्ण संसारको हरेक घटनालाई व्याख्या गर्न प्रर्याप्त हुन्थ्यो । त्यसैको आधारमा मार्क्सवादले पुँजीवादी व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादको स्थापना गर्ने परिकल्पना लिएर आएको थियो । तर त्यसबेलाको समयमा प्रकृति विज्ञानमा त्यति धेरै प्रगति भइसकेको थिएन । जस्तो एङ्गेल्सले भन्छन्, द्वन्द्ववादको प्रमाण प्रकृति हो । द्वन्द्ववादलाई हामीले प्रकृतिमा खोज्नुपर्छ । तर प्रकृति विज्ञानमा मार्क्सको समयमा त्यति धेरै प्रगति भइसकेको  थिएन । त्यति धेरै आविष्कार र खोज भइसकेको थिएन । जसले गर्दा प्रकृतिमा हामीले द्वन्द्ववादी प्रक्रियालाई देख्न सक्यौँ । एङ्गेल्सका अनुसार द्वन्द्वात्मक भौतिकवादलाई निर्णयात्मक चरणमा पुर्याउनका लागि प्रकृति विज्ञानमा तीनवटा आविष्कारहरू भएको थिए ।

१८३८ मा जीव कोषको आविष्कार भएको थियो । जीवहरू भन्नाले बनस्पति र प्राणी दुईवटा बुझिन्छ । वनस्पती र प्राणी दुईवटै जीवहरूमा भिन्नताहरू देखिए पनि तिनीहरूको बीचमा एउटा चीज साझा छ– त्यो हो जीवकोष । तर वनस्पति र प्राणीको बीचमा पनि जुन जीवकोषको भिन्नता छ, त्यो धेरै छैन । त्यसकारण जीवकोषले अलग अलग रहेको प्राणीका भिन्नतालाई मेटाइदियो ।

दोस्रो १८४२ मा शक्ति संरक्षणको नियमको आविष्कार भयो । बेलायत र जर्मनीमा अलग अलग वैज्ञानिकहरूले आविष्कार गरे । जर्मनीमा रोवर्ट मायर र बेलायतमा जेम्स जुलले । त्यो शक्ति संरक्षणको सिद्धान्तले अलग अलग शक्तिको बीचमा अभिन्न सम्बन्ध छ । शक्तिहरू एकअर्काको बीचमा रूपान्तरण हुन सक्छन् । सम्बन्ध सँगसँगै एकअर्कामा रूपान्तरणीय पनि छन् भन्ने कुरा प्रमाणित गर्‍यो । त्योभन्दा पहिले शक्ति (विद्युतीय शक्ति, चुम्बकीय शक्ति, गती शक्ति, रासायनिक शक्ति) हरूलाई अलग अलग मानिन्थ्यो । यी शक्तिहरू अलग अलग थिए । तर तिनीहरूको बीचमा अन्तरसम्बन्ध देखाउन सकिएको थिएन ।

ओरिजिन अफ इस्पेसिसको प्रकाशनसँगै १८५९ मा डार्बिनको विकासवाद आयो । डार्बिनको विकासवादले सम्पूर्ण प्राणीहरू सरल रूपबाट विकसित हुँदै मानवसम्म आइपुग्छन भन्यो ।

तेस्रो डार्बिनको विकासवाद हो । ओरिजिन अफ इस्पेसिसको प्रकाशनसँगै १८५९ मा डार्बिनको विकासवाद आयो । डार्बिनको  विकासवादले सम्पूर्ण प्राणीहरू सरल रूपबाट विकसित हुँदै मानवसम्म आइपुग्छन भन्यो । साथै, हरेक प्राणीको उत्पत्ति कसरी भयो त्यसको विकास क्रमविकासबाट अर्थात सरल रूपबाट विकसित हुँदै क्रमशः यो विभिन्न प्राणीहरूको रूप विभिन्न वनस्पतीहरूको रूपमा परिणत हुन्छ पनि भन्यो ।

यी तीनवटा खोजले द्वन्द्वात्मक भौतिकवादलाई सही छ भन्ने कुरा पुष्टि गर्छ । द्वन्द्वात्मक भौतिकवादका तीनवटा सिद्धान्तहरू छन् । परिवर्तनको सिद्धान्त, विकासको सिद्धान्त र अन्तरसम्बन्धको सिद्धान्त । यी तीनवटा सिद्धान्तहरूबाट द्वन्द्वात्मक भौतिकवादले संसारमा घट्ने हरेक घटनाहरूको उत्पत्ति कसरी हुन्छ भन्ने कुराको व्याख्या गर्न सक्छ । यी तीनवटा सिद्धान्त भएपछि हामीले यो संसारमा घट्ने घटनाहरूको व्याख्या विश्लेषण गर्न सक्छौँ । जसरी  गणितमा एउटा सूत्रले सम्पूर्ण समस्याहरूको हल गर्न सकिन्छ, त्यसरी द्वन्द्वात्मक भौतिकवादका यी तीनवटा सिद्धान्तहरूले सम्पूर्ण संसारको व्याख्या विश्लेषण गर्न सकिन्छ ।

द्वन्द्ववादकै तीनवटा सिद्धान्तहरूलाई डार्बिनको क्रमविकासको सिद्धान्तले पुष्टि गर्छ । अर्थात् डार्बिनको सिद्धान्त आएपछि द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त वस्तुगत छ भन्ने कुरा पुष्टि हुन्छ । डार्बिनको सिद्धान्तको रूपमा १८५९ मा  ओरिजिन अफ स्पेस बाई नेचुरल सेलेक्सन भन्ने ग्रन्थ प्रकाशित भइसकेपछि मार्क्स एङ्गेल्सले रातारात पढे रे । १८६७ मा कार्ल मार्क्सले आफ्नो प्रमुख कृति क्यापिटलको प्रमुख खण्ड प्रकाशन गर्छन् । पहिलो खण्ड डार्बिनलाई उपहार स्वरूप पठाए । डार्बिनले त्यसको उत्तरमा के भने भन्ने कुरा आएको छैन । डार्बिनलाई फुर्सद नै थिएन । डार्बिनको विकासवाद आएपछि समाजमा ठूलाठूला विरोधहरू भए ।

पश्चिमी जगतमा तीनवटा सिद्धान्तले ठूलो झड्का दिए । डार्बिनको सिद्धान्त, मार्क्सवादको सिद्धान्त र अर्काे सिग्मन्ड फ्रायडको मनोविज्ञान । डार्बिनको सिद्धान्त आएपछि विरोध भयो । चर्चले कोपरनिकस, ग्यालिलियोलाई गरे जति त विरोध गरेन । किनभने त्यसबेलासम्म धेरै परिवर्तन भइसकेको थियो । तर डार्बिनको विकासवादलाई चर्चले चिरोध गर्‍यो । चर्चभन्दा पनि त्यसबेलाका आफूलाई बुद्धिजीवि भन्नेहरूले विरोध गरे । पब्लिकमा गएर डार्बिनले उनीहरूसँग बहस गर्दा गर्दा बिरामी नै भएका थिए । त्यसकारण मार्क्सको उपहारको प्रतिउत्तरमा केही रेस्पोन्स गरेको देखिँदैन । तर मार्क्स एङ्गेल्सले डार्बिनको विकासवादलाई सबैभन्दा महत्त्वपूर्ण उपलब्धि द्वन्द्वात्मक भौतिकवादलाई पुष्टि गर्ने सबैभन्दा ठूलो प्रमाणको रूपमा लिएको थियो ।

डार्बिनको सिद्धान्त आएपछि द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त वस्तुगत छ भन्ने कुरा पुष्टि हुन्छ । डार्बिनको सिद्धान्तको रूपमा १८५९ मा ओरिजिन अफ स्पेस बाई नेचुरल सेलेक्सन भन्ने ग्रन्थ प्रकाशित भइसकेपछि मार्क्स एङ्गेल्सले रातारात पढे रे ।

द्वन्द्वात्मक भौतिकवादलाई पुष्टि गर्ने दुई ग्रन्थहरू प्रमुख मानिन्छन् । एउटा डार्बिनको क्रम विकासको सिद्धान्त र अर्को एल.एच. मोर्गनद्वारा लिखित एन्सिएन्ट सोसाइटी । डार्बिनको ग्रन्थको सन्दर्भ मार्क्स एङ्गेल्सले कतै कतै उल्लेख गरेको देखिन्छ । तर एन्सिएन्ट सोसाइटी (प्राचीन समाज)को सन्दर्भमा एङ्गेल्सले एउटा ग्रन्थ नै लेखेका छन् । परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति । त्यो ग्रन्थ एलएच मोर्गनको एन्सिएन्ट सोसाइटीको आधारमा लेखिएको हो ।

एन्सिएन्ट सोसाइटी १८६२ मा प्रकाशन भएको थियो । डार्बिनको विकासवाद एन्सिएन्ट सोसाइटी र मार्क्सको क्यापिटल लगभग सँगसँगै प्रकाशन भएको थियो । ती तीनैवटा ग्रन्थहरू द्वन्द्वात्मक भौतिकवादलाई पुष्टि गर्ने ग्रन्थहरू हुन् । द्वन्द्वात्मक भौतिकवादको एउटा  सिद्धान्त छ । त्यो सिद्धान्तले यो संसारमा हरेक घटना र वस्तु निम्न स्तरबाट उच्च स्तरमा, विशेषबाट सामान्यमा, अपूर्णबाट पूर्णमा, सरलबाट जटिलको विकासको प्रक्रियामा छन् । त्यही विकासको प्रक्रियामा मानव समजको पनि विकास हुन्छ । मार्क्सवादले त्यही भनेको छ । मानव समाजम पहिले जङ्गली अवस्थामा थियो । त्यसपछि क्रमशः विकसित हुँदै पुँजीवादी व्यवस्थामा आइपुगेको छ । पुँजीवादी व्यवस्था अन्तिम हो त ? द्वन्द्ववादको विकासको सिद्धान्तले अन्तिम होइन भन्छ । यो समाज विकासको क्रममा एउटा चरण मात्र हो । जसरी पुँजीवादी व्यवस्थाहरूले यो व्यवस्था अन्तिम हो भन्छन् । यो प्रजातन्त्र अन्तिम हो भन्छन् । चुनावी प्रक्रिया राजनीतिको अन्तिम स्वरूप हो भन्छन् । तर द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तले यो अन्तिम होइन भन्छ । अहिले पुँजीवादी व्यवस्था छ । वर्गीय समाज छ । वर्गीय समाजबाट वर्गहीन समाजमा जान्छ । यो विकासको सिद्धान्त हो । डार्बिनको क्रमविकासको सिद्धान्तले सम्पूर्ण जीवमा यो प्रक्रिया चल्छ भनेको छ  ।

क्रमविकासकै प्रक्रियाद्वारा अमिबाबाट मानव बनेको छ । सुरुमा अमिबा थियो रे । त्यो अमिबा कहाँबाट आयो ? त्यो निर्जीवबाट आयो । विकास अजैविकबाट जैविक वस्तुमा, जैविकबाट जीवित वस्तुमा, जीवित वस्तुबाट सचेतमा रूपान्तरण हुन्छ । अमिबाभन्दा पहिले जैविक वस्तु थियो प्रोटोपलाज्म ।  त्यसबाट अमिबा बन्यो ।  अमिबा बनिसकेपछि एक कोषीयबाट बहुकोषीय बन्दै आयो । बाँदर हुँदै मानव बन्यो । यो प्रक्रिया सरलबाट जटिलमा, अपूर्णबाट पूर्णमा  विकास हुन्छ । अमिबाभन्दा मानव पूर्ण हो । अर्थात बाँदरभन्दा मानव पूर्ण हो । मानवमा पनि पूर्णता छैन । मानव भनेको तीन आयाम देख्ने प्राणी हो रे । लम्बाइ, चौडाइ र उचाइ । आइन्स्टाइनले एउटा आयाम थपिदिए । त्यसपछि दुनियाँको दिमाग घुम्यो । तीन आयाममा अर्काे आयाम थपिदिनुहोस् कस्तो हुन्छ ? चौथो आयाम भनेको समय हो । आइन्साइटाइनको समयमा सापेक्षतावादको सिद्धान्त बुझ्ने जम्मा पाँच जना थिए । पहिले दुई जना थिए रे पछि तीन जना थपिए रे ।

चार आयाम थप्नासाथ जम्मा पाँच जनाले बुझे । पाँच आयाम थप्दा आइन्सटाइनले पनि बुझेनन् रे । अहिले एघार आयाम आएको छ । अब यो कसले बुझ्ने हो ? हामीले बुझ्ने सम्भावना छैन । चार आयामसम्म काम चलाउ हो । पाँच आयाम आइन्सटाइनको पनि बलभुतामा परेन । एघार आयाम बुझ्नका लागि हामी विकसित हुनुपर्‍यो । हाम्रो मस्तिष्क, हाम्रो बुद्धि विकसित हुनुपर्‍यो । त्यसकारण हामी कति पूर्ण हो ? हाम्रो आगमन अमिबाबाट भएको थियो । अमिबा आफै अपूर्ण थियो । त्यसकारण त्यो परिवर्तन भएको थियो । हामी पूर्ण होइन ।

हामीले आफूलाई उत्कृष्ट प्राणी मानेका छौँ । हाम्रा पौराणिक कथाहरूमा मान्छे ईश्वरको सर्वश्रेष्ठ सृष्टि भनेर वर्णन गरिन्छ । तर त्यो सृष्टिको बुँता कति रहेछ त ? जम्मा तीन आयाम बुझ्ने । तीन आयामभन्दा बढ्दा बुझ्न सक्दैन हाम्रो दिमागले । जब तीन आयामले काम गर्छ हामी सर्वश्रेष्ठ नै रहन्छौँ । जब चार आयामको आवश्यकता पर्छ, आइन्स्टाइन मात्र रहन्छन् । पाँच आयामको आवश्यकता पर्‍यो आइन्स्टाइन पनि रहँदैनन् । हाम्रो विकासक्रम एउटा चरण मात्र हो । प्राणीहरूको विकासक्रम भनेको एउटा सानो चरण हो । अब यसपछि हाम्रो दिमाग पाँच आयाम, एघार आयाम बुझ्ने भयो भने शरीर बादल जस्तै होला । स्वेच्छाले उडेर हिँड्ने ।

 समस्या आएपछि विकासको आवश्यकता पर्छ । अन्यथा हाम्रो विकास यत्तिकै रोकियो भने हामी त डाइनोसर हुने भयौँ । डाइनोसर इतिहासमा सबैभन्दा ठूलो प्राणी हुन्थ्यो रे । सगरमाथा जत्रो । त्यति ठूला प्राणी बिलाएर गए । त्यसकारण मानवले पनि यो अन्तिम भनेर मान्न सम्भव हुँदैन । विकासको सिद्धान्तअनुसार हरेक चीज स्टेजमा रहँदैन । विकासको क्रममा त्यो अगाडि बढ्छ । यो कुरा डार्बिनले विस्तृत रूपमा सम्पूर्ण ऐतिहासिक तथ्यहरू जियोलोजीका तथ्यहरू र प्राचीन अवशेषहरूलाई जम्मा गरेर प्रमाणित गरेका थिए । त्यसले द्वन्द्वात्मक भौतिकवादले भनेको विकासको प्रक्रिया सही छ भन्ने कुरा पुष्टि गर्छ ।

डार्बिनको विकासवादमा अलि समस्या छ । डार्बिनको पनि केही कमजोरी देखिन्छ । डार्बिनको क्रम विकासको सिद्धान्तमा विकास क्रम विकासमा हुन्छ रे । क्रमशः एकपछि अर्को । त्यसबाट नयाँ जीवको उत्पत्ति हुन्छ भन्ने डार्बिनको सिद्धान्त हो । त्यो बेलायतको एउटा परम्परा हो भन्ने छ । युरोपमा तीनवटा देशहरू सबैभन्दा अगाडि बढेको देखिन्छ । बेलायत फ्रान्स र जर्मनी । तिनीहरूको आफ्नै आफ्नै परम्परा थियो । बेलायती क्रमशः विकास हुने कुरामा विश्वास राख्थे रे । त्यही हुनाले अहिलेसम्म उनीहरूको राजतन्त्र बाँकी छ । तर फ्रान्स जर्मनीमा कतै पनि बाँकी छैन । त्यसकारण त्यसैको प्रभाव हो भन्ने एउटा कुरा छ । यो सिद्धान्त त्यसबेलाको वैज्ञानिक तथ्यको आधारमा डार्बिनले निकालेका हुन् । उक्त सिद्धान्तले क्रमशः विकास हुन्छ भन्छ । तर द्वन्द्वात्मक भौतिकवादले विकासले दुईवटा प्रक्रिया हुन्छ भनिन्छ । एउटा  क्रमविकास, अर्को क्रान्ति ।

दुईवटा प्रक्रियाबाटै नयाँ गुणको आरम्भ हुन्छ । त्यसलाई  द्वन्द्वात्मक भौतिकवादले मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन भन्ने नियमद्वारा सूत्रबद्ध गरेको छ । हरेक गुणात्मक परिवर्तनका लागि मात्रात्मक परिवर्तन हुन्छ । मात्रात्मक परिवर्तनले गुणात्मक परिवर्तन ल्याउँछ । यो संसारमा जति पनि नयाँ नयाँ गुणहरू रहेका छन्, ती सबैका अलग अलग विशेषता छन् । यो संसारमा जति पनि विविधता देख्छौँ, त्यसको धेरै ठूलो कारण छैन । एउटै कारण छ । एउटा भनेको मात्रात्मक परिवर्तन हो । एउटा चीज जब त्यसको मात्रामा परिवर्तन हुन्छ, त्यो नयाँ गुणमा रूपान्तरण हुन्छ ।

मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तन भन्ने जुन नियम छ त्यही नियम विकासको सिद्धान्तमा क्रमविकास र क्रान्ति । क्रमविकास भनेको मात्रात्मक परिवर्तन हो । क्रान्ति भनेको गुणात्मक परिवर्तन हो । जब गुणात्मक परिवर्तन हुन्छ तब मात्र परिवर्तन भएको मानिन्छ । मात्रात्मक परिवर्तनलाई मात्र परिवर्तन मानिदैन । जस्तै पानीलाई सय डिग्री सेन्टिग्रेटमा तताएपछि वाफ बन्छ तर त्यसमा  एकदेखि उनान्सय डिग्रीसम्म तताउँदा त्यो पानी नै रहन्छ । त्यो मात्रात्मक परिवर्तन हो । त्यो क्रमविकास हो । अब त्यो उनान्सयसम्म मात्र तताएर छाडियो भने बाफ बन्दैन । डार्बिनको विकासवादको सिद्धान्तले त्यति मात्र भन्छ । एकदेखि उनान्सयसम्म तताउँदा नयाँ चिज आउँछ भन्छ । तर आएन । त्यसमा एक थपेपछि गुणात्मक परिवर्तन हुन्छ । क्रमभङ्ग भएपछि मात्रै परिवर्तन हुन्छ । त्यो कुरा डार्बिनको विकासवादमा रहेको कमी हो ।

एङ्गेल्सले डार्बिनको विकासवादमा रहेको कमीमा त्यो कुरा भनेका छन् । त्यसकारण डार्बिनको क्रमविकासको सिद्धान्तमा जुन कमी थियो, त्यो कमी मात्रात्मक परिवर्तनलाई मात्र विकासको प्रक्रियाका रूपमा स्वीकार गरिएको थियो । द्वन्द्वात्मक भौतिकवाद थपेपछि त्यो पूर्ण हुन्छ ।

एङ्गेल्सले डार्बिनको विकासवादमा रहेको कमीमा त्यो कुरा भनेका छन् । त्यसकारण डार्बिनको क्रमविकासको सिद्धान्तमा जुन कमी थियो, त्यो कमी मात्रात्मक परिवर्तनलाई मात्र विकासको प्रक्रियाका रूपमा स्वीकार गरिएको थियो । द्वन्द्वात्मक भौतिकवाद थपेपछि त्यो पूर्ण हुन्छ । त्योपछि नव डार्बिनवाद भनेर आएको छ । त्यो ग्रेगर मेन्डलको आनुवांशिकताको सिद्धान्त र मोर्गनले थप सामेल गरेपछि नवडार्बिनवाद बन्यो । त्यसमा उत्परिवर्तन प्रक्रिया आउँछ । उत्परिवर्तनले नयाँ गुण भएको प्राणी सिर्जना गर्छ । नयाँ गुण भएको जीवको उत्पत्ति हुन्छ । क्रमशः एउटै गुण रूपान्तरण हुँदै जाने होइन । त्यहाँ ब्रेक हुन्छ । त्यो ब्रेकलाई क्रान्ति वा गुणात्मक परिवर्तनको रूपमा मान्न सक्छौँ । पछि त्यो कुरा थपिसकेपछि डार्बिनको विकासवाद नवडार्बिनवाद बन्यो । त्यो नवडार्बिनवाद भौतिकवादसँग सम्बन्धित हुन्छ । त्यसकारण अहिले डार्बिनको कमीकजोरीलाई हटाएर नवडार्बिनवाद आइसकेपछि द्वन्द्वात्मक भौतिकवादका लागि सबैभन्दा महत्त्वपूर्ण उदाहरण हुन्छ । त्यसकारण हामीले प्रकृति विज्ञानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि डार्बिनको विकासवादलाई मिलाउन र त्यसको प्रमाणको रूपमा उपयोग गर्न सक्छौँ ।

(फागुन १७ गते डिस्कोर्स डबलीमा रमेश सुनारले प्रस्तुत गर्नुभएको विचारको सम्पादित अंश । प्रस्तुतिः सुनिता न्यौपाने)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश सुनार
रमेश सुनार
लेखकबाट थप