आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वतन्त्र मधेस गठबन्धन अन्त्यको घोषणा गर्दै सिके राउतले भने, ‘हामी बुद्धका सन्तान हौँ’

अरुलाई हिंसात्मक आन्दोलन नगर्न सुझाव
शुक्रबार, २४ फागुन २०७५, १४ : १९
शुक्रबार, २४ फागुन २०७५

काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतले आफूहरु बुद्धका सन्तान भएको बताएका छन् ।

आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले सो कुरा बताएका हुन् । उनले आफूले शान्तिपुर्ण आन्दोलनको मार्ग समातेर आएको भन्दै यो आन्दोलनमा सरकारी पक्षले देखाएको संयमता पनि सराहनीय रहेको बताए ।

‘आजको दिन ऐतिहासिक छ । हामीले विगत केही बर्षदेखि देशमा विकाराल समस्याका रुपमा जुन मुद्दा उठेको थियो जसमा राज्यपक्ष र हामी पनि चिन्तित थियौँ । जिम्मेवार नागरिकलाई चिन्तित बनाएको थियो त्यसले कस्तो भयाभह रुप लेला भनेर । तर, आज बढो सुरक्षित र शान्तिपूर्ण रुपमा अवतरण हुँदैछ । यो सवै जनताका लागि खुसीको कुरा हो’ सम्बोधनका क्रममा उनले भने । 

‘यस्तो महत्वपूर्ण सहमतिका लागि प्रधानमन्त्री स्वयम्ले पहल गरेर, मुद्दाको बेदना बुझेर कदम चालेकोमा प्रधानमन्त्री धन्यवादको पत्र हुनुहुन्छ,’ राउतले भने ।

२०६९ साल जेठ सात गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गर्नुभयो । बल प्रयोग गर्नुभएन । जसले गर्दा आन्दोलनले नकारात्मक मोड लिएन ।’

यसअघिका प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको राउतले जिकिर गरे ।

‘हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ,’ उनले भने ।

हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि सहज गाह्रो हुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई आह्वानसमेत गरे ।

‘हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनताले चाहेपनि जे पनि हासिल गर्न सक्छ । वार्तामार्फत राज्यले प्रतिबद्धता पनि जनाएको छ । सबै शक्ति जनताको हातमा निहित रहेको छ । जस्तो व्यवस्था ल्याउन छ, त्यसका लागि अभिमत प्रयोग गरुन् । समग्र देशको विकास हासिल गर्ने बेला आएको छ ।’

राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभुतालाई स्वीकार गर्दै आफूलाई राजनीतिक स्पेश प्रदान गरेको बताउँदै राउतले भने, ‘जनता नै सर्वोपरी हो । यो राज्यको पनि जीत हो । जताको पनि जित हो । कसैले पनि अनर्थ नलगाउन अनुरोध गर्दछु ।’

उनले जनमत संग्रहको आधारमा समस्या समाधान गर्न दुवै पक्ष तयार भएकाले यो सहमति भएको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप