केन्द्रीय संस्करण
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नारीका कहालीलाग्दा दिन र ८ मार्च

खाँट्टी श्रमिक महिलाहरुलाई खासै छुन नसकेको नारी दिवस

person explore access_timeफागुन २४, २०७५ chat_bubble_outline0
photo : Nepal | UK Aid Direct

पछिल्ला केही वर्षयता नेपालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । यसै दिवसको अवसर पारेर महिला हिंसाविरोधी लम्बे अभियान सञ्चालन गरिँदै आएको छ । मार्च ८ लाई नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रूपमा मनाउन सुरु गरिएको त बीपी कोइराला नेपालको प्रधानमन्त्री हुँदाकै बखत अर्थात वि.सं. २०१६ देखि नै हो (भीमलाल लामिछाने, नागरिक दैनिक २५ फागुन २०७३) । विश्वका अन्य केही मुलुकहरूमा भन्दा नेपालमा यो दिवस मनाउन सुरु गरिएको केही पछिबाट हो । यद्यपि सामान्य जागरण ल्याउनका लागि झण्डै पचास वर्षको यो अवधि अपर्याप्त पक्कै होइन । मार्च ८ को यो पछिल्लो संस्करणको सन्दर्भमा नेपालमा लामो समयदेखि मनाउँदै आइएको यो दिवसको प्रभाव, यसले चेतनाको स्तरमा ल्याएको परवर्तन, जागरणको दर आदि विषयमा प्रश्न उठ्न थालेका छन् ।

मार्च ८ भन्ने बित्तिकै समान ज्याला, समान मताधिकार र विश्व शान्तिका लागि उठेका लाखौँ करोडौँ महिला मुठ्ठीहरू सम्झनामा  आउँछन् । ती मुठ्ठी न्याय, समानता र मुक्तिको खातिर मृत्युलाई पनि सहर्ष स्वीकार गर्दै उठेका थिए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले आज यो स्तरमा जुन व्यापकता र समर्थन बटुलेको छ, यसको जगमा करोडौँ महिला, त्यसमा पनि विशेषतः महिला मजदुरको त्याग र सङ्घर्षहरू चट्टानसरी उभिएको छ ।

यो दिवसले महिला मजदुर मुक्तिको लामो प्रक्रियाको शुभारम्भको दिनलाई सङ्केत गर्छ । पछिल्ला दिनहरूमा यो महिला मुिक्तको अन्य आयामहरूमा पनि फैलिएको छ । यो एक महान ‘पर्व’ होे । तर नेपालको सन्दर्भमा, नेपाली महिलाहरू जो गाउँ तथा सुदूर बस्तीहरूमा बस्छन्, सामाजिक आर्थिक रूपले पिछडिएका छन्, यो चाडसँग आफ्नो खुसी साट्नु र अधिकारको लागि थप बल प्राप्त गर्नु त कहाँ हो कहाँ यो दिवसका बारे जानकारसमेत छैनन् । यही हालतमा सहरका मजदुर महिलाहरू समेत छन् ।

कसका लागि यो दिवस ?

मार्च ८ नजिकिँदै जाँदा राजधानी काठमाडौँमा यसको सरगर्मी बढिसकेको छ । ब्यानर र प्लेकार्डको तयारी तीव्रतर हुँदो छ । तर यसै सहरमा महिला मजदुर यो महान ‘चाड’सँग लगभग बेखबर छन् ।

आफ्नो नाम शान्ति बताउने एक महिला राजधानीकै सडक पेटीमा व्यापार गरी आफ्नो जीवनको डरलाग्दो भीर उक्लिरहेकी छिन् । दुई तीन महिनाकै उमेरमा एउटा हात जलेको उनका दुई छोरा छन्, एउटा सत्र वर्षको र अर्काे तीनको । आफूले दुःख गरी कमाएको पैसा घर बनाउन भनी श्रीमानले लिएर गए । घर पनि बनाए । तर त्यो घरमा उनलाई छाडेर अर्की श्रीमती ल्याएर राखे ।

उनलाई सहयोगको आशा धेरैले देखाउँछन् तर सहयोग गर्ने कोही छैनन् । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे सुनेकी नै छैनन् । पैंतिस वर्षको उमेरमा जीवनमा काहालीलाग्दा क्षणहरू भोगेकी उनले अहिलेसम्म यो दिवसबाट केही हुने आशा पटक्कै नराखेको बताउँछिन् ।

आफ्नो नाम ठुल्देवी र घर डललु बताउने सत्तरी हाराहारी उमेरकी एक महिला पनि बसन्तपुर दरबार अगाडि व्यापार गर्ने, छिन्नै लागेको जीवनको धागो जसोतसो बचाइरहेकी छिन् । परिवारका अन्य सदस्यहरूबाट चरम बेवास्ता बेहोरेकी उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कुन चरीको नाम हो, अहिलेसम्म थाहा पाएकी छैनन् । यो उमेरमा पनि पूर्णतः आफ्नै श्रमले मात्र बाँचेकी उनी किन बेखबर छिन् यो दिवससँग ? यो निकै उदेकलाग्दो प्रश्न हो ।

बालबच्चा र आफन्तसमेत कोही नभएकी एक उनन्सत्तरी वर्षीय महिला भूगोलपार्कमा डाले पसल राखी आफ्नो जीविका चलाउने गर्छिन् । श्रीमान्को मृत्यु हुँदा उनले विधवा पहिरन लगाउनु पर्दैन भनेर नारी स्वतन्त्रतामाथि ठूलो न्याय गरे पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने अभियान्ताहरू चाहिँ अहिलेसम्म त्यो आँट गर्न नसक्नेहरूदेखि दिक्क लाग्छ उनलाई । भाषण मात्र ठूला गर्ने, काममा चाहिँ माखो नमार्ने प्रवृत्ति देखेपछि उनी अहिले यस्ता दिवसको वास्तै गर्दिनन् ।

जागरण त आएको छ । मात्रात्मक रूपमा धेरै वा थोरै फरक कुरा हो । सञ्चार माध्यमबाट प्रसारित, प्रकाशित खबरले यदाकदा गाउँहरू पनि सुसूचित त भएकै छन् । छाउगोठ भत्काउने गरी चेतना नउठे पनि स्थापित मान्यतामा सानोतिनो लहर त छुटेकै छ । नगण्य नै होस् त्यो सङ्ख्या केही न केहीले न्यायको प्रत्याभूति पनि गरेकै छन् । सोह्र दिने अभियानमा या अन्य अभियानहरूमा प्रभावहीन बन्दै त पक्कै छैनन् ।

को के भन्छन् ?

विभिन्न लेखकदेखि महिला अधिकारकर्मीसम्मको एउटै कन्फेस छ, ‘यो दिवस साँच्चै पुग्नुपर्ने ठाउँमा पुगेन ।’ यसमा चुकेका धेरथोर आफै पनि हुन् भन्ने सहजै स्वीकार गर्छन् उनीहरू । महिला अधिकारकर्मी नारायणी देवकोटा भन्छिन्, ‘सरकार र एनजीओहरूले नारी दिवस मनाइरहँदा श्रमिक महिलाहरू बेलुकीका छाकको चिन्तामा समय व्यतित गर्छन् । बेलुकी सहनुपर्ने श्रीमान्को लात सम्झँदै दिनभर श्रममा खट्छन् ।’

महिला दिवस सकिँदा नसकिँदै महिलाहरूको कालरात्रिको आगमन भइसक्छ । एक दिनको दिवसबाट उलटफेर पनि हुन सक्दैन भन्छिन् देवकोटा ।

तर महिलाहरू हालसम्म आफ्नो अधिकारबारे बेखबर छन् भन्ने भनाइबाट भने उनी असहमत छन् र भन्छिन्, ‘बरु महिलालाई अधिकारका लागि लड्ने उचित तरिका थाहा छैन र त्यसबारेमा यो दिवसले केही खास गर्न सकेको छैन ।’

महिला अधिकारकर्मी अरुणा उपे्रतीको ८ मार्चबारे धारणा अलि बेग्लै छ । उनी भन्छिन्, ‘गरिखाने महिलाका लागि आठ मार्च कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हो ।’ ठूलाठूला पाँचतारे होटलबाट कार्यक्रम बाहिर ननिकालिएसम्म यो दिवस प्रभाव शून्य नै रहिरहनेछ भन्ने बुझाइ छ ।

लेखक सरिता तिवारीको ८ मार्चसम्बन्धी धारणा पनि अरुणा उप्रेतीसँग लगभग मिल्ने खालको छ । जुन तहको महिलासम्म मुभमेन्ट पुर्याउनु पथ्र्यो त्यहाँसम्म पुर्याउन नसकिएपछि दिवसले आफ्नो अस्तित्व मात्र कायम गर्न सक्छ तर सकारात्मक प्रभाव जमाउन नसक्ने धारणा छ उनको ।

श्रमिक महिलाको सङ्घर्षको जगमा टेकेर उभिएको यो दिवसका श्रमिक विशेषण गायव बनाएकोप्रति रोष प्रकट गर्दै उनी भन्छिन्, ‘कम्युनिस्टहरूको एकोहोरो बलमा यो शब्दले त्यहाँ स्थान पाएको थियो तर अहिले उनीहरू नै पार्टीका निर्णयहरूलाई ओके गर्नु शिवाय अरू काम गरेनन् । तर पनि इतिहासप्रति न्याय गर्न सकेको जस्तो उनलाई लाग्दैन ।’

के गर्नुपर्छ ?

नेपालमा लैङ्गिक हिंसा छब्बिस प्रतिशत रहेको छ भने लैङ्गिक असमानता सूचक ०.४८९ रहेको छ । नेपालमा महिला घरमुलीको सङ्ख्या २५.७ रहेको छ । हरेक क्षेत्रमा महिला असमानताको दर उच्च भइरहँदा महिला अधिकारकर्मीहरू भने महिलाहरूले असमानताको पक्षमा आवाज कसरी उठाउने भन्ने कुरा नै थाहा नपाएको दाबी गर्छन् ।

मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको जोड छ, यो दिवसमा महिलाहरूलाई कानुनको यथार्थ जानकारी गराउने खालको कार्यक्रम गर्नुपर्छ । बलात्कार, हिंसालगायतका घटना पीडित र पीडक दुवैलाई कानुनको पर्याप्त ज्ञान नहुनाले नै घट्ने धारणा राख्दै मार्च ८ ले यो विषयमा कार्यक्रम गर्ने सोच रहेको उनले बताइन् । दिवसको एउटा सिम्बोलिक म्यासेज हुन्छ र त्यस म्यासेजबाट अघि बढ्ने प्रेरणा मिल्छ । उनी भन्छिन्, ‘एउटा दिवसले मात्र सबै कुरा गर्न सक्दैन’ ।

८ मार्च महिला र श्रमसँगको सम्बन्धको उपज हो भन्ने मान्यता अनुरूप श्रमिक महिलाहरूसम्म यो दिवसको प्रभाव पुर्याउनुपर्ने सरिता तिवारीको धारणा छ । महिला र श्रमसँग जोडिएका मुद्दाहरू क्रमशः ओझेल पर्दैगर्दाको ८ मार्च निकै अस्वाभाविक अनुभूति हुन्छ । सरकार र एनजीओ, आईएनजीओको भरमा यो दिवसले सार्थकता पाउन नसक्ने तर्क उनको छ ।

अरुणा उप्रेती पनि सरिता तिवारीकै टोनमै सुनिन्छिन् । उनीहरूको साझा धारणा छ ‘८ मार्च एक दिन जागरण ल्याउने दिन हो र बाँकी जागरणको उचित स्याहार सम्भार गर्ने दिन ।’

नारायणी देवकोटाको तर्क छ, ‘आठ मार्चले डिस्कोर्स बनाउँछ र बनाउनुपर्छ । आम महिलाहरूको जीवनमा यस डिस्कोर्सले प्रत्यक्ष प्रभाव पार्दैन तर अप्रत्यक्ष रूपमा महिलाको भविष्यमाथि यसले प्रभाव पार्छ । उक्त डिस्कोर्सले महिला आन्दोलनका लागि मार्गदर्शन गर्ने क्षमता राख्नुपर्छ ।’

अधिकारबारे बुझ्दै नबुझ्नेलाई डिप्रेसन नहुने गरी सचेत गराउनेबारे गम्भीर हुनुपर्ने आवश्यकतालाई सङ्केत गर्दै उनी भन्छिन्, ‘ हामी सात सालदेखि लडेका लड्यै छौँ । तर किन लड्यैँ भन्ने विषय अमूर्त बन्दै गयो । यसले त जागरुकमै पनि डिप्रेसनको खतरा निम्त्याउन सक्छ ।’

केही भएको छैन ?

जागरण त आएको छ । मात्रात्मक रूपमा धेरै वा थोरै फरक कुरा हो । सञ्चार माध्यमबाट प्रसारित, प्रकाशित खबरले यदाकदा गाउँहरू पनि सुसूचित त भएकै छन् । छाउगोठ भत्काउने गरी चेतना नउठे पनि स्थापित मान्यतामा सानोतिनो लहर त छुटेकै छ । नगण्य नै होस् त्यो सङ्ख्या केही न केहीले न्यायको प्रत्याभूति पनि गरेकै छन् । सोह्र दिने अभियानमा या अन्य अभियानहरूमा प्रभावहीन बन्दै त पक्कै छैनन् ।

अब आम रूपमा यो दिवसप्रति चासो जगाउँदै सरकार र एनजीओको पञ्जाबाट माथि पुर्याउनुपर्छ ८ मार्चलाई । कर्णाली र सुदूरपश्चिमसम्म पनि । अर्काे वर्ष धेरै केही नभए पनि थोरबहुत बदलाव पक्कै आउनुपर्छ । ८ मार्च केवल तारिकको ८ मार्च नबनोस् ।

सबैजसो विद्वानहरू सहमत छन्– एक प्रतिशतको कुरामा अल्झिएको छ, यो दिवसको लामो शृङ्खला । बाँकी उनान्सयबारे सोच्न निकै हतार भइसकेको छ । यो दिवस मनाउने क्रमको लामो शृङ्खलाबाट स्थापित धारणा र विचार अनि पुनरजागृत चेतनालाई उनान्सय प्रतिशतको जीवनमा परिवर्तन आउने गरी कार्य थाल्नु जरुरी छ ।

अरुणा उपे्रती भन्छिन्, ‘एक दिन जागरुक गराउँछ । एक दिनले ठूला परिवर्तन त ल्याउँदैन तर मानिसको चेतनाको स्तर बढाउँछ ।’

सरिता तिवारी यसैसँग मिल्दो विचार राख्छिन्, ‘एक दिन दिवस मनाउने र ३ सय ६४ दिन शान्त बस्ने परिपाटीले जागृत चेतनासमेत मृतप्रायः बन्दैछ । यसमा तत्काल पूर्णविराम लगाउनुपर्छ ।’

कस्तो छ अहिलेको तस्बिर ?

साहित्यकार रमेश विकलले एउटा कथामा उत्कृष्ट र निकृष्टको भाव प्रष्ट्याउन प्रयोग गरिएको उदाहरण थियो, ‘नयाँ सडकको झिलिमिलीको अगाडि मखनटोलको रछाने गल्ली ।’ अहिले निश्चित महिलाहरूलाई नयाँ सडकको झिलिमिली र बाँकी महिलाको विशाल समूहलाई मखनटोलको रछाने गल्लीका रूपमा चिन्दा अत्युक्ति नहोला । सगरमाथाको चुचुरो नटेकी आरोहण सफल भएको मानिन्न । चाहे सय मिटर मात्र तल आरोही किन नहोस् । पूर्ण सफल नभई परिवर्तन गोचर हुँदैन ।

सरिता तिवारी सटिक रूपमा भन्छिन्, ‘उनान्सय प्रतिशत महिलाहरू विभेद र अन्यायकै जाँतोमुनि पिसिएकै छन् । एक प्रतिशतलाई हेरेर परिवर्तन भयो कसरी भन्न सकिन्छ ?’

बलात्कारको शृङ्खला पूर्णविराम लाग्ने कुनै सङ्केत छैन । बरु शृङ्खलामा थप कडीहरू दिन दुगुना रात चौगुना थपिरहेका छन् । न ज्यालामा वास्तविक समानता आएको छ न घरेलु हिंसामा कमी । न मजदुर महिलाहरू हक प्राप्त गर्न सक्ने अवस्थामा छन् न कृषक महिला आर्थिक रूपमा स्वतन्त्र । उदेक लाग्दो अवस्था त यो छ कि दुई हातका औँलामा गन्न सकिनेबाहेक अन्य विद्वान महिलाहरू यो स्थितिमा चैनको निद्रा सुतिरहेका छन् । बसन्तपुर र भूगोलपार्कमा ठुल्देवी र शान्तिहरू जीवनप्रति  अपलक आशावादी छन् । तर यो आशाको सिर्जनामा मार्च आठको भूमिका कतै देखिँदैन । शिक्षक, सेना, प्रहरी, निजामतीदेखि पत्रकार र मजदुरसम्म महिला नै तल्लो श्रेणीमा यथावत छन् । विभेदका रूपहरू मात्र छन् फरक ।

अन्त्यमा

मार्च ८ को अर्काे शृङ्खलामा पनि काठमाडौँकै सडकमै यसबारे नसुनेका थुप्रै महिला पक्कै भेटिने नै छन् । छाउगोठमा लासको सङ्ख्यामा कमी हुनेछैन । श्रीमानका निर्मम लात्तीहरू थापिरहेकै हुनेछन् र गनिरहेकै हुनेछन् निलडामहरू । कृषि मजदुर महिला पुरुषको तुलनामा निकै कम ज्याला थापिरहेकै हुनेछन् । विद्यार्थीहरू शिक्षकदेखि तर्सने नै छन् । पुरुष सहककर्मीबाट महिला सहकर्मीमाथि गिद्देदृष्टिले निरन्तरता पाएकै हुनेछ । पुरुषभन्दा महिला साक्षरता दर कम नै हुनेछ । पत्रकारहरू पक्कै यस्तै रिपोर्ट गरिरहेकै हुनेछन् ।

हठात यो क्रम टुङ्गिनेछैन । किनकि यो जादुको छडीले गर्ने काम होइन । तर आम अपेक्षा अधिक छ । ८ मार्च ती अपेक्षसँग निरिह छ । विद्वानहरू भन्छन् ‘सरकार र एनजीओले केवल औपचारिक कार्यक्रम गर्दै भत्ता पचाउँछन् तर देखिने गरी कुनै काम पनि गर्दैनन् ।’

अब आम रूपमा यो दिवसप्रति चासो जगाउँदै सरकार र एनजीओको पञ्जाबाट माथि पुर्याउनुपर्छ ८ मार्चलाई । कर्णाली र सुदूरपश्चिमसम्म पनि । अर्काे वर्ष धेरै केही नभए पनि थोरबहुत बदलाव पक्कै आउनुपर्छ । ८ मार्च केवल तारिकको ८ मार्च नबनोस् ।

सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेका हुन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...