शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवलाई समात्ने प्रहरी ‘प्लान’, सुरक्षा निकायका प्रमुखसहित गृहमन्त्रीको देश दौडाहा

शुक्रबार, २४ फागुन २०७५, ०९ : १५
शुक्रबार, २४ फागुन २०७५

काठमाडौँ– कमलपोखरीस्थित आँगन स्विट्समा एकजना ग्राहक छिर्छन्, अनि केही सामान अर्डर गर्छन् । फागुन १० गते साँझ ९ बजेतिर आँगनमा सामान अर्डर गरेपछि काउन्टरमा रहेका कर्मचारी अर्डर स्लिपमा केही लेख्दै थिए, ठीक त्यति नै बेला सामान अर्डर गर्ने ग्राहकले आफ्नो साथमा भएको लामो साइजको झोला टेबुलमा राखेर फुत्त बाहिर निस्कन्छन् । केही बेरमा आवाज आउँछ बम.. बम.. !
कमलपोखरीमा बम फेला परेको सूचना भाइरल हुन नपाउँदै अर्को डरलाग्दो सूचना भाइरल हुन्छ, ‘नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट ।’ 

फागुन १० गते साँझ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङ, रोल्पा, लतिलपुर र दोलखालगायतका जिल्लामा रहेको एनसेल टावरमा आगजनी तथा बम विस्फोट गरेपछि सुरक्षा निकाय र राजनीतिक क्षेत्रमा तरङ्ग नै आएको छ । राजनीतिको उच्च तहमा रहेकाहरू पनि प्रश्न गर्न थालेका छन्, ‘कतै विप्लवले युद्ध नै गर्ने त हैनन् ?’ 

कतिपयले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलमाथिको आक्रमण विप्लवको ‘चन्दा मोह’सँग दाँजेर व्याख्या गर्न थालेका छन् । जे होस्, अहिले विप्लव तरङ्ग ह्वात्तै बढिसकेको छ । 

विप्लवले एनसेलका टावरमा आगजनी र नख्खुस्थित मुख्यालयमा बम विस्फोट गराएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु सहित देश दौडाहामा निस्किएका छन् । 
क्षेत्रीय ‘सुरक्षा गोष्ठी’को आवरणमा फागुन २१ गते धनगढीबाट सुरु भएको देश दौडाहामा गृहमन्त्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी छन् । धनगढीबाट सुरु भएको ‘सुरक्षा गोष्ठी’ लगातार सबै प्रदेशमा सम्पन्न गरिने गृह मन्त्रालयले जनाएको छ । 

बम विस्फोटको घटनापछि प्रहरीले विस्फोट र आगजनीमा संलग्न विप्लवका कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले सम्बन्धित कसुरमा संलग्न भएकाहरुलाई कानुनी दायरामा ल्याउन लागिपरेको भए पनि ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिलाई राजनीतिक रूपमा कसरी सम्बोधन गर्ने भन्नेबारे राजनीतिक तहमा कुनै छलफल हुन सकेको छैन । 

सरकारी तहबाट स्पष्ट निर्देशन नहुँदा सुरक्षा निकायहरु ‘वेट एन्ड सी’कै चरणमा छन् । तर, विप्लव विस्तारै बलियो बन्दै गएका छन् । गाउँ गाउँमा नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ले सङ्गठन विस्तार गरिरहेका छन् । त्यो सूचना नेपाली सेनादेखि नेपाल प्रहरीसम्मले नपाएका हैनन् । 

‘विप्लवका कार्यकर्ताहरु सैन्यदस्ता बोकेर हिँडेका छन्’, नेपाल प्रहरीका एक उच्च अधिकृत भन्छन्, ‘उनीहरु एकै ठाउँमा बसेका छैनन्, सङ्गठन विस्तार गरिरहेका छन् ।’  

‘विप्लव’लाई समात्ने प्रहरी प्लान !
पछिल्लो समय विप्लवका कार्यकर्ताबाट धमाधम अत्याधुनिक हतियार फेला पर्न थालेको छ । बिहीबार कपिलवस्तुको शिवराज नगरपालिकाबाट दुर्गाबहादुर रोक्काको घरमा खानतलासी गर्दा ‘टाइप–५४ पेस्तोल’ एक थान र सर्ट मेसिनगन (एसएमजी) दुई थान फेला परेपछि प्रहरीले फायर नै गरेर उक्त हतियारसहित रोक्कालाई नियन्त्रणमा लिएको छ । 

टेलिकम सेवा प्रदायक कम्पनी एनसेलमाथि आक्रमण गर्नु र कार्यकर्ताबाट अत्याधुनिक हतियार बरामद हुन थालेपछि नेपाल प्रहरीले नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’का अध्यक्ष नेत्र विक्रम चन्दलाई पक्राउ गर्ने तयारी गरेको छ । ‘विप्लव’लाई गिरफ्तार गर्ने योजना अनुरूपम नै तीन वर्षअघि नयाँ पार्टी गठन गरी नेतृत्व गर्दै आएका चन्दविरुद्ध फागुन २१ गते राज्यको तर्फबाट मुद्दा दर्ता गरिएको छ ।

यो पनि.....

विप्लवको ‘मिनी रोल्पा’मा प्रहरी अपरेसन 

चन्दसहित दर्जन नेताविरुद्ध गएको मङ्गलबार जिल्ला प्रहरी कार्यालय रोल्पामा मुलुकी अपराध संहिता– २०७४ अुनसार सरकारबादी फौजदारी मुद्दा दर्ता भएको रोल्पा प्रहरीले जनाएको छ । 

राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको अभियोगमा मुद्दा दर्ता गरेर पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विप्लवलाई पक्राउ गरिने नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिएका छन् । 

‘नेत्रविक्रम चन्दविरुद्ध मुद्दा दर्ता भएको छ’, प्रहरी प्रवक्ता सुवेदीले रातोपाटीसँग कुरा गर्दै भने, ‘अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा जुन–जुन आपराधिक घटनामा विप्लवको संलग्नता देखिन्छ हामी पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाउँछौँ ।’ 

अर्धभूमिगत भएर हिँडेका विप्लव र उनका कार्यकर्ता प्रहरी झुक्याउनका लागि एउटै व्यक्तिले ३० वटासम्म सिमकार्ड प्रयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

नख्खुमा बम विस्फोट गराएको अभियोगमा फागुन १४ गते कलङ्कीबाट पक्राउ परेका नुवाकोटका सूर्य भुजेलले दर्जनौँ सिमकार्ड प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

‘प्रहरीलाई झुक्याउन भुजेलले धेरै मात्रामा सिमकार्ड प्रयोग गरेको देखिन्छ’, महानगरीय अपराध महाशाखाका निमित्त प्रमुख (एसपी) सोमेन्द्रसिंह रोठौर भन्छन्, ‘नख्खुमा बम विस्फोट गराएको कुरा भुजेलले स्वीकार गरेको छ, हामीले कर्तव्य ज्यान र बम विस्फोटमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ ।’ 

प्रहरीले कमलपोखरीस्थित आँगन स्विट्समा बम राखेको आशङ्कामा किसान महासङ्घ क्रान्तिकारीका केन्द्रीय संयोजक राजु कार्की र शङ्खरापुर नगरपालिका–३ का स्थायी बासिन्दा जयराम दंगाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

पछिल्लो समय एनसेल टावर आगजनी र बम विस्फोटको घटना अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाबाट विशेष टोली खटिएका छन् । 

देशभर विप्लवको सङ्गठनमा आबद्ध नेता–कार्यकर्तामाथि प्रहरीले निगरानी बढाएको छ । मङ्गलबार स्थानीय निकाय, स्कुल तथा उद्योगहरुमा चन्दा आतङ्क सिर्जना गरेको अभियोगमा दाङको तुल्सिपुरबाट प्रदीप वली, ईश्वरी पाण्डे र रुद्र वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलस्थित एनसेलको टावरमा आगजनी गरेको अभियोगमा टीकाराम नेपाली, लालबहादुर सुनार र दीपेन्द्र सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सुलिचौर र गजुलको टावरमा आगो लगाउन नेत्रविक्रम चन्द ‘विप्लव’ले निर्देशन दिएको भन्दै प्रहरीले विप्लवविरुद्ध मुद्दा दर्ता गरेर जिल्ला अदालत रोल्पाबाट पक्राउ आदेश लिइसकेको छ । 
उक्त पक्राउ पुर्जीलाई आधार मान्दै विप्लवलाई नियन्त्रणमा लिने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । 

एनसेलसँग डेढ अर्ब चन्दा मागेपछि...


एनसेल मुख्यालयमा बम विस्फोट हुनुअघि ‘डेढ अरब’ चन्दाको डिमान्ड गरिएको थियो । तर, एनसेलका जिम्मेवारी अधिकारीहरुले उक्त कुरा बम विस्फोटबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुलाई खुलेर बताउन आनाकानी गरिरहेका छन् । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार विप्लवका कार्यकर्ताले एनसेसँग ‘डेढ अरब’ चन्दा माग गरेका थिए । चन्दा नदिएपछि एनसेल मुख्यालयमा  बम विस्फोट गराउँदा सिंहप्रताप गुरुङको मृत्यु भएको थियो । नख्खु विस्फोटमा विप्लवको उपत्यको इन्चार्जसमेत रहेका सूर्य भुजेलको मुख्य भूमिका रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

यो पनि.....

बढ्दो टकराव : केपी–प्रचण्ड भर्सेस विप्लव ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप