बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘गणतन्त्रले भीआइपीहरुको ऐश बढायो’

‘ट्राफिक प्रहरी पनि गफाडी भएछ !’

भीआईपी सवारी बहस
बिहीबार, २३ फागुन २०७५, १६ : ०२
बिहीबार, २३ फागुन २०७५

मङ्गलबार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री नेपाली सेनाले आयोजना गरेको भोजमा जानका लागि ४० मिनेट बाटो बन्द गरिएपछि लैनचौरमा जनताले ‘अवज्ञा’ गरे ।

पिक आवर अर्थात् कार्यालय समय सकिएपछि ६ बजे बाटो बन्द गरेर भीआईपीको सवारी गराइएपछि सवारीचालक आक्रोशित बने ।

प्रधानमन्त्री र उपराष्ट्रपति गइसकेपछि पनि राष्ट्रपति आउन समय लाग्ने भएपछि उनीहरुले अवज्ञा गरिदिए ।

सामान्य कार्यक्रममा उपस्थित हुँदा पनि बाटो बन्द गरेर भीआइपीको सवारी गराउने प्रवृत्तिका सम्बन्धमा बुधबार रातोपाटीले समाचार टिप्पणी र ट्राफिक विज्ञ तथा सुरक्षा विज्ञसँग कुराकानी गरी समाचार सामग्री तयार पार्यो ।

ती दुई समाचार सामग्रीमाथि थुप्रै तीखा, आक्रोशजन्य अनि कतिपय चाहिँ रचनात्मक टिप्पणीहरु पनि प्राप्त भएका छन् । खासगरी, सत्तासीनहरु जनतासँग पर पर हुँदै कटिएपछि र आफ्ना गुनासाहरु सोझै राख्ने माध्यमहरु नभएपछि आमजनताका लागि आफ्ना गुनासो आक्रोश पोख्ने मुख्य माध्यम भनेकै अनलाइन तथा सामाजिक सञ्जालहरु भएका छन् । जनताका तहबाट उठेका आक्रोश, टिप्पणी र गुनासोहरुलाई सुन्नु र त्यसलाई सम्बोधन गर्नुपनि लोकतान्त्रिक शासनपद्दतिमा जरुरी हुन्छ भन्ने ठान्दै हामीलाई प्राप्त टिप्पणीहरुमध्ये छानिएका प्रतिनिधिमूलक केही टिप्पणीहरुलाई आज हामीले समाचार सामग्रीका रुपमा प्रस्तुत गरेका छौँ ।

पहिले हेरौं, सवारी निषेधको अवज्ञा : ‘जनआक्रोश’ को झिल्कोले ‘राष्ट्रपति’माथि बज्रेको झापड शीर्षकको समाचार टिप्पणीमा आएका केही प्रतिक्रियाहरु ।

रातोपाटीको फेसबुक पेजमा प्रतिक्रिया दिँदै हुसेन जी नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, हिँजो बेलुकीको सडक ताण्डब बढो अजिबको थ्यो ! म स्वयम थिएँ । बाटैभरी प्रहरी । सडक पूर्णरुपमा सिल गरिएको थ्यो । हामी यात्रुको रिसको बेग नबढ्ने कुरै थिएन ।

त्यसैगरी प्रदीप एमएसके नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘उनको सवारीको तामझामको अवस्था हेर्दा लाग्छ उनी कुनै बेला कम्युनिष्ट पार्टीको उपाध्यक्ष तथा महिला संघको अध्यक्षजस्तो सर्वोच्च पदमा आसिन नेतृ होइनन्, बरु बडामहारानीकी नयाँ अवतार हुन् ।

जननिर्वाचित हो भने राष्ट्रपति भण्डारीले जवाफ दिनुपर्छ हामीले फालेको राजतन्त्र र स्थापना गरेको गणतन्त्रमा के कति फरकपन आयो ? राजा र राष्ट्रपतिको आचरणमा के साँस्कृतिक भिन्नता भयो ? एउटा सेतो हात्तीलाई नागार्जुनतिर लखेटेर पनि अनेक सेता हात्ती शहरमा पाल्नुपर्ने बाध्यता ...

त्यसैगरी मणि हराएको सर्प नाम गरेका फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘राष्ट्रपतिले भोज खान जाँदा एक घण्टा बाटो जाम गर्नु कुन प्रजातन्त्र हो ? लाजको पसारो ।

त्यसैगरी अर्का प्रयोगकर्ता राजु बोहराले यस्तो लेखेका छन् ।

‘यदि राष्ट्रपति जनताको पक्षमा छन् भने कदापि सुरक्षा घेराभित्र हिँड्नुपर्दैन र सुरक्षा घेरा पनि चाहिँदैन । जनताले आफ्नो प्रमुखको सुरक्षा आफै गर्छन् । त्यसैले जनताको साथमा हिँड्ने प्रयास गरे राम्रो, जनता कुनै अपराधी होइनन् । जनतासँग डराउनु भनेको जनतामाथि भरोसा नहुनु हो ।

त्यसैगरी विनय पुरी लेख्छन्, ‘केही वर्षमा हेर्दै जानुस् हरेक दिन भीआइपी भीभीआइपी लगायतलाई स्कर्टिङ गराउने बहानामै काठमाडौंका  साँघुरा सडक अस्तव्यस्त हुन्छन् । जे होस् गणतन्त्रले भीआइपीहरुको ऐशचाहिँ बढाएको छ ।’

त्यसैगरी राजु पौडेलले लेखेका छन्, ‘कुनैपनि राजनीतिक व्यवस्था देश विकासका लागि साध्य होइन, साधन हो । तर हाम्रो देशमा व्यवस्था बदलिएपनि, राष्ट्रध्यक्ष तथा सरकार बदलिए पनि तिनीहरुको संस्कार बदलिएको पाइएन । राणा, राजा र गणतन्त्रसम्म आइपुग्दा उनीहरुको संस्कार उही र जनतालाई सास्ती यथावत ।’

मंगलबार बाटो बन्दको अवज्ञा गरेपछि बुधबार नै रातोपाटीले अर्को सामग्री पनि तयार पार्यो । ट्राफिक तथा सुरक्षा विज्ञ र ट्राफिक प्रहरीसँग गरिएको कुराकानीमा आधारित भई तयार पारिएको भीआइपीको सवारी : विज्ञ भन्छन् –‘थ्रेट’भन्दा रवाफ बढी शीर्षक तथा राष्ट्रपतिको सवारीमा ‘अवज्ञा’ होइन, हामीले नै छाडेको हो शीर्षकको उपशीर्षकको समाचारमा आएका केही प्रतिक्रियाहरुलाई पनि यहाँ समावेश गरिएको छ ।

फेसबुक प्रयोगकर्ता राना तामाङले लेखेका छन्, ‘होइन हाम्रो नेताले मात्रै झूठो बोल्छ भनेको त ट्राफिक प्रहरीले पनि गफ दिन सिकेको रहेछ त !’

अर्का फेसबुक प्रयोगकर्ता बलराम रिजालले लेखेका छन्, ‘अनि दुई हात फैलाउँदै रोक्न दगुरेको चाहिँ भिडियो होला है हाकिम साप ?’

अर्का फेसबुक प्रयोगकर्ता रुपेश गौतमले व्यङ्ग्य गर्दै लेखे, ‘अनि हर्न पनि ट्राफिकले बजा भनेको रे नि त !’

त्यसैगरी अर्का फेसबुक प्रयोगकर्ता ड्रिमसेचर स्थापितले लेखेका छन्, ‘नेपालमा त हुँदा हुँदा ट्राफिक पनि गफ दिने भइसकेछ ।’

त्यसैगरी प्रिन्स प्रिन्सले लेखेका छन्, ‘अवज्ञा कि छाडेको त देखेकै हो नि ट्राफिक दाइ ।’

बसन्त थापा मगर लेख्छन्, ‘जनता र भीआइपीहरुको सवारी एकै साथ एकै लाइनमा गर्दा के फरक पर्ला र ! अगाडि पछाडि, दायाँ बायाँ केही सुरक्षाका गाडी राख्ने तर सर्वसाधारणहरुसँगै उही समय र सडकमा जाने गरी छोटो र छिटो हुने गरी भीआइपीहरुको सवारी चलाऔँ । जनता अभद्र, भीआईपीको रवाफ, सुरक्षा निकाय र सडकको अस्तव्यस्त अवस्थाको कारण समस्या बनेको र देखिएको पो हो कि ? होइन भने किन घन्टौदेखि सडक बन्द गरी आवागमन रोक्ने का भीआइपीहरुको भ्रमणको बेला गरिन्छ ? के विकल्पका बाटाहरु छैनन् त ?’

अर्का फेसबुक प्रयोगकर्ता दिनेश गौतमले लेखेका छन्, ‘साँच्चिकै राष्ट्रवादीहरुलाई मात्रै थ्रेट हुन्छ र सुरक्षाको बन्दोबस्त गर्नुपर्छ । सैनिक घेरामा आफ्नै घरमा बस्दा राजपरिवार जोगिएनन् भने नेपालमा ...’

जनताले प्रकट गरेका अभिमतका केही 'स्क्रीनसट'हरु पनि हेरौ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप