बढ्दो टकराव : केपी–प्रचण्ड भर्सेस विप्लव !
चेतावनी १– प्रधानमन्त्री ओली
फागुन २१ गते इलाम र झापाको सिमाना सुखानीमा सहिदहरूको स्मृतिमा सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कम्युनिस्ट पार्टीको नाम लिएर लुटमार गर्ने काम बन्द गर्नूस् । होइन भने जनताको सरकार छ, शान्ति सुव्यवस्था र अमनचयन कायम गर्नका लागि नियन्त्रण गर्नुपर्ने हुन्छ । केही विस्फोट गराएर, केही मान्छे मारेर, चन्दा उठाउने धन्दा गर्छ भने त्यसलाई पार्टी भनिँदैन । त्यसलाई छुट दिन सकिँदैन ।’
चेतावनी २ –नेकपा अध्यक्ष प्रचण्ड
फागुन २० विराटनगर पुगेका प्रचण्डले भने, ‘अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रूपमा सोच्नुपर्छ, सोच्छ, सोचेको छ । सरकारले राजनीतिक रूपले सहमतिमा आउने हदसम्म सहमतिको प्रयास गरेको छ र भविष्यमा पनि गर्छ । यो समस्यालाई राजनीतिक र सरकारको प्रशासनिक दुवैतिरबाट समाधान गरिन्छ ।’
यसबाहेक प्रचण्डले थपे, ‘शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएका थिए । हुन सक्छन् । त्यो सूचना तत्कालीन सरकारलाई दिएका थियौँ । अब लडाकु शिविरभन्दा बाहिर कसैले लुकाएर राखेको थिए भने हामी जिम्मेवार हुन सक्ने होइन ।’
चेतावनी ३– प्रधानमन्त्री ओली
फागुन ८ गते प्रधानमन्त्री ओलीले भनेका थिए, ‘निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेको छ । क्रान्तिका नाममा हिंसात्मक कार्य भएका छन् । राजनीतिक आवरणमा चन्दा आतङ्क मच्चाउने काम भइरहेका छन् । राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउने खालका कामहरू हुँदैछन् । यस्ता विकासका बाधक र हिंसात्मक कृयाकलाप सरकारले हेरेर बस्दैन । चैतमा हुने लगानी सम्मेलन भाँड्न तथा नेपालमा विदेशी लगानी आउन नदिन यस्ता शक्तिहरू सक्रिय छन् । उनीहरू भारतसँको सम्बन्ध गिराउन चाहन्छन् ।’
चेतावनी ४– प्रधानमन्त्री ओली
फागुन ७ गते अर्थात ६९औँ प्रजातन्त्र दिवसका दिन पनि प्रधानमन्त्री ओलीले सन्देश दिए, ‘देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रसामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्बित भएका छन् । जारी लोकतन्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरू निन्दनीय छन् । यस्ता कतिपय गतिविधिहरू आपराधिकसमेत छन्, जुन सह्य हुँदैनन् ।’
चेतावनी ५ –गृहमन्त्री थापाको दाबी
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले फागुन २२ गते धनगढीमा भने, ‘केही समूहले योबीचमा केही विस्फोटन र ध्वंशात्मक गतिविधि गरेका छन् । यसबारे सरकार गम्भीर छ । यसलाई छिट्टै नियन्त्रण गरिनेछ ।’
विप्लवका ‘एक्सन’
घटना १– एनसेल कार्यालयमा वम विस्फोट
फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेलको टावरलाई लक्षित गरी बम विस्फोट गरायो । बम विस्फोट हुँदा घाइते तीनमध्ये सिंहप्रसाद गुरुङको मृत्यु भयो । दुर्घटनामा परी घाइते भएकामध्ये गुरुङको उपचारका क्रममा मृत्यु भयो । विस्फोटबाट प्रतीक्षा खड्का र उरुषा मानन्धर घाइते भए । त्यहीबेला एनसेलका अरू जिल्लामा रहेका टावरमा पनि आक्रमण भयो ।
घटना २– अरूण तेस्रोमा बम विस्फोट
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजना निर्माणमा केही समयअघि विप्लव नेतृत्वको पार्टीले आयोजनाको पावरहाउस पुखुवामा तीनवटा बम विस्फोट गरायो । बम विस्फोटबाट सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको थियो । त्यस्तै अरूण तेस्रोको कार्यालयमा २०७५ सालको वैशाख १६ मा बम विस्फोट भएको थियो । गत जेठ ३० गते राति फेरि अरूण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय भवनलाई लक्षित गरी बम विस्फोट गराइएको थियो ।
धमाधम पक्राउ
पछिल्लो समय मान्छेको निधन र घाइते हुनेगरी भएको बम विस्फोटपछि सरकारले नेकपाका नेता कार्यक्रता प्रक्राउ गरिरहेको छ ।
आज (विहिबार) मात्रै कपिलबस्तुको शिवराज नगरपालिकामा विप्लवका कार्यकर्तामाथि गोली प्रहार भएको छ । प्रहरीको गोली लागेर विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ता घाइते भएका छन् ।
घर खानतलासी गर्ने क्रममा भागेका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको थियो । गोली लागरे दुर्गाबहादुर रोका घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ ।
फागुन १४ गते विप्लवका पूर्व अङ्गरक्षक सूर्य भुजेल काठमाडौँबाट गिरफ्तार परे ।
त्यस्तै नेकपाका मोरङ–धनकुटा इन्चार्ज एवं कोसी ब्युरो सदस्य देवकुमार लिम्बु सुनसरीको धरानस्थित पानमाराबाट सर्ट मेसिन गन र एम १६ सहित पक्राउमा परे । द्वन्द्वकालमा सेनाले अमेरिकाबाट किनेर ल्याएको हतियार अरूसँग छैनन् ।
त्यस्तै नेकपाका ब्युरो सदस्य केदार खतिवडालाई फागुन २२ गते गिरफ्तार परे । फागुन १४ गते नै इलामबाट पाँचजना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार भए । फागुन २१ नेकपा आबद्ध अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई प्रहरीले काठमाडौँबाट पक्राउ परे ।
त्यसैगरी नेकपा आबद्ध अखिल (क्रान्तिकारी)का बाँके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई अध्यक्ष सुनिल वटालालाई प्रहरीले गिरफ्तार भए । अरू जिल्लामा पनि यस्ता गिरफ्तारी भएका छन् ।
यी घटनाक्रमको सन्देश के हो ?
एकपछि अर्को गरी देशमा विकसित यी घटनाक्रमले देशको राजनीति स्थिरतातर्फ उन्मुख छ भन्ने कुनै छनक दिँदैन । बरु यी घटनाक्रमलाई एकै ठाउँ राखेर हेर्ने हो भने सरकार र अहिलेको संवैधानिक तथा मूलधारको भनिएको राजनीति प्रक्रियाबाट अलग रहेको विप्लव नेतृत्वको नेकपाबीच टकराव बढने सङ्केत प्रष्टै छ ।
एउटा शक्तिले अर्को शक्तिलाई पूरै निशेष गर्ने रणनीतिक योजनासहित अगाडि बढेका छन् । यसको दीर्घकालीन असर के हुन्छ, यकिन गर्न त कठिन छ तर राजनीतिक स्थिरतामार्फत आर्थिक समृद्धि र विकासलाई गति दिने दुई तिहाई बहुमत प्राप्त शक्तिशाली सरकारका लागि अहिलेको टकराव सुखद् चाहिँ छँदैछैन । अहिले देख्दा सरकार र विप्लवको पार्टीबीच तनाव देखिए पनि ढिलोचाँडो यो सत्तारुढ नेकपा र विद्रोही नेकपाबीचको राजनीतिक सङ्घर्ष बन्न सक्छ ।
विप्लवको पनि छ चेतावनी
विप्लवले फागुन १५ गते एक विज्ञप्ति जारी गर्दै सरकारले गिरफ्तार गरेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई विनाशर्त रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिए ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘सामाजिक फासिवादी सरकारले देशैभरीबाट हाम्रो पार्टी, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताहरूलाई भटाभट गिरफ्तार गरेर मानसिक तथा शारीरिक यातना दिइरहेको छ ।’
केही समयअघि आफू एक मिडियामा अन्तरवार्ता दिँदै विप्लवले भनेका थिए, ‘केपी–प्रचण्डले शान्तिपूर्ण कार्यक्रम गर्न नदिए उनीहरूले पनि गम्भीर प्रतिरोधको सामना गर्नुपर्नेछ । उनीहरूका कार्यक्रम पनि चल्न सक्ने छैनन् ।’
उनले भनेका छन्, ‘सरकार जनता र देशका पक्षमा कुनै पनि लोकप्रिय काम गर्न नसकेर असफल भएपछि आफ्नो कुर्सी टिकाउने नक्कली बहाना खोज्दैछ । त्यसको सबैभन्दा सजिलो तरिका भनेको बनावर्टी द्वन्द्व मच्चाउनु हो ।’
त्यस्तै फागुन १९ गते मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले पार्टीले देशैभरि चलाइरहेको सङ्गठन सुदृढ र विस्तार गर्ने राजनीतिक अभियानमा प्रहरीले हस्तक्षेप गरेको भन्दै दमनकोे सशक्त प्रतिरोध गर्ने चेतावनी दिए । उनको विज्ञप्तीमा छ, ‘हाम्रो राजनीतिक अभियानलाई यसरी नै दमन गर्न खोजियो भने जनप्रतिरोधको परिणामप्रति सामाजिक दलाल पुँजीवादी केपी–प्रचण्ड सरकार नै जिम्मेवार हुने चेतावनी दिन चाहन्छौँ ।’
सेना बनाएको विप्लवको दाबी
विप्लवले उक्त अन्तरवार्तामा भनेका छन्, ‘हामीले एकीकृत जनक्रान्तिमा जनमुक्ति सेना अपरिहार्य हो भन्यौँ । एकीकृत जनक्रान्ति अहिले आफ्नै विशेषतामा अगाडि बढिरहेछ । त्यसभित्र जनमुक्ति सेनाको एउटा अवधारणा र संरचना हामीले बनाएका छौँ, लिएर गएका छौँ र एकदम सुदृढीकरणतिर जाँदैछ ।’
एउटा असफल प्रयास
सरकारले संविधानको मूलधारबाट बाहिर रहेका शक्तिसँग वार्ता गर्न उच्च स्तरीय वार्ता टोलीसमेत बनाएको थियो । तर टोलीले विप्लवको पार्टी र सीके साउतको समूहसँग वार्ता नै गर्न सकेन । उक्त वार्ता टोलीको म्याद सकिइसकेको छ । सरकारले बनाएको वार्ता टोलीलाई विप्लवले आफ्ना नेता कार्यकर्ता छुटाउने अस्त्र बनायो । यसबारे विप्लवको एक अन्तरवार्तामा छ, ‘सरकारले वार्ताटोली बनायो तर कोसँग के विषयमा वार्ता गर्ने भन्ने विषयमा बाहिर आधिकारिक ढङ्गले बोल्दा पनि बोलेनन् । वार्ताका विषयमा हाम्रो पार्टीसँग आधिकारिक तरिकाले, जिम्मेवारीपूर्ण तरिकाले कुरा गर्दा पनि गरेनन् ।’
यसबाहेक उनले भनेका छन्, ‘हामी वार्ताबाट त्रसित पनि छैनौँ । वार्ता राजनीतिक आन्दोलनको एउटा आयाम हो । आउँछ, सामना गर्ने कुरा पनि आउँछ । आउँदैन, क्रान्तिमा अगाडि बढ्ने कुरा हुन्छ । यसलाई हामीले यसरी नै बुझ्नुपर्ने हुन्छ ।’
विपक्षीका लागि मुद्दा
शान्ति प्रक्रियासँग जोडिएका काँग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्ण सिटौला र शेखर कोइरालाले पटकपटक यो मुद्दा उठाएका छन् ।
राष्ट्रिय सभामा काँग्रेस सांसद जितेन्द्रनारायण देव प्रश्न उठाए । ‘विप्लवको पार्टी एउटा राजनीतिक पार्टी हो ? या पार्टी राजनीतिक काम कारबाही आतङ्कवादी के हो ? अविलम्ब म माग गर्न चाहन्छु, सरकार र नेकपाको दृष्टिकोण विप्लवप्रति के हो ? नेता देवले संसदबाटै धारणा मागे ।
त्यस्तै केही दिनअघि रसुवा पुगेर काग्रेस नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘केपी ओलीसमेत संलग्न भएको पार्टीले झापाबाट सुरु गरेको हिंसात्मक द्वन्द्वलाई प्रचण्डले देशव्यापी बनाए । अहिले विप्लवको हिंसात्मक द्वन्द्वलाई बेवास्ता गरिरहेका छन् । योभन्दा रहस्य अरू के हुन्छ ?’
फागुन ११ गते विराटनगर पुगेका काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका थिए ।
राजनीतिमा सूचना र पहँुचका हिसाबले यी नेताहरूको अभिव्यक्तिमा राजनीतिक सन्देश देखिन्छ ।
बाबुरामको भविष्यवाणी
फागुन २२ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन सरकारलाई सचेत गराए ।
‘विप्लव समूहमा भर्भराउँदो खालको युवाहरू खटेको देख्दा बडो चिन्ता लागेर आयो । उनीहरू अत्यन्तै गम्भीर ढङ्गले लागेका छन् । यदि हामीले ठीक ढङ्गले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौँ र हामीले जनतालाई सुशासन दिन सकेनौँ भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु । अहिलेको समयमा विप्लवको बाटो ठीक छैन भन्नेमा कुनै भ्रम छैन । त्यसले कहीँ पनि पुर्याउँदैन । तर उनीहरूले रक्तश्राव गरेर यो राज्यलाई कमजोर पारिराख्ने सामथ्र्य राख्छन् ।’ बाबुरामको भनाइ छ ।
ओली, प्रचण्ड र गृहमन्त्रीका ती अभिव्यक्ति
ओली–प्रचण्ड नेतृत्वको नेकपा र विप्लव नेतृत्वको नेकपाबीच गत वर्षको तीन तहको चुनावदेखि नै तनाव सुरु भएको हो । यद्यपि त्यसबेला एमाले र माओवादीबीच पार्टी एकता भएको थिएन, चुनावका लागि बाम गठबन्धन बनेको थियो । यी दुई पार्टीबीच २०७५ जेठ ३ मा एकता भएको थियो ।
यसबाहेक सरकार गठनदेखि नै प्रधानमन्त्री ओली र गृहमन्त्री थापा आफ्ना पूर्वसहकर्मी विप्लवमाथि अनुदार अभिव्यक्ति दिँदै आएका छन् । विप्लव नेकपाबारे प्रधानमन्त्री ओलीका केही टिप्पणी अर्थपूर्ण छन् । उदारणका लागि २०७४ चैत १७ गते प्रधानमन्त्री ओलीले माओवादीको खाल उठिसकेको भन्दै फेरि च्याँखे नथाप्न विप्लवलाई चेतावनी दिएका थिए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक मजाक गरेको भन्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘सुतली बम बनाउनु सिद्धान्त हो ? चन्दा उठाउनका लागि क्रान्तिकारी बन्ने ? केपी ओलीलाई वारेन्ट गरेको रे । प्रचण्डलाई वारेन्ट गरेको रे । मदनकृष्ण हरिवंश र धुर्मुस सुन्तलीलाई भनेर हाँस्यव्यङ्ग्य प्रहसनका लागि सिफारिस गरिदिन्छु । विप्लवलाई म यस किसिमका राजनीतिक मजाक नगर्न आग्रह गर्छु । देश अब यस्ता कुरामा अल्झिँदैन । माओवादीको खाल उठिसकेको छ । फेरि च्याँखे थाप्ने काम बन्द गरे हुन्छ ।’
त्यसपछि जेठ २१ गते प्रदेश ३ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए सह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’ प्रधानमन्त्री केपी ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको भन्दै त्यस्तो गतिविधि भए सरकार हेरेर नबस्ने चेतावनी दिएका थिए ।
गृहमन्त्रीका थापाका विगतका अभिव्यक्ति पनि अर्थपूर्ण छन् । बादल गृह मन्त्री भएसँगै उनको विप्लवसँग सम्बन्धमा दरार आउने काम भयो । जस्तो कि जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले स्थानीय प्रहरी युनिटलाई विप्लवलाई पक्राउ गर्ने पुर्जी पठायो । पुर्जी कपिलवस्तुको शिवनगरस्थित विप्लवको घरमा फागुन १६ मा टाँसियो । संयोगक कस्तो पर्यो भने माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री भएको दोस्रो दिन विप्लवको घरमा पक्राउ पुर्जी टाँसियो । थापा फागुन १४ गते गृहमन्त्री भएका थिए । अहिले पनि विप्लवमाथि वारेन्ट छ । उनी भूमिगत अवस्थामा छन् ।
त्यसपछि २०७४ चैत २४ मा चितवन पुगेर गृहमन्त्री थापाले विप्लव पार्टीका क्रियाकलाप अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिएका थिए । ‘शान्ति, स्थायित्वको विरुद्ध अतिवादी अराजकतातिर लैजान खोजिँदैछ त्यो सरकारलाई स्वीकार्य छैन । विप्लवको पार्टीका काम संविधान र कानुनविरोधी छन् । यो राजनीतिक गतिविधि मानिँदैन, गैरराजनीतिक गतिविधि हो ।’
यसबाहेक विप्लव पार्टीका नेता प्रकाण्ड चन्दा प्रकरणमा पक्राउपरेपछि २६ साउनमा बादलले भनेका थिए, ‘बादल भनेको गृहमन्त्री हो । गृहमन्त्रीको काम भनेको अपराधीहरूलाई नियन्त्रण गर्नु हो । त्यसकारण अपराधीहरूलाई नियन्त्रण गर्ने प्रक्रियामा ती घटना हुने गर्छन् । निश्चित रूपमा उनीहरू अपराधी हुन्, जसले कानुन उल्लङ्घन गर्छ, जसले विधि उल्लङ्घन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ । प्रकाण्डलाई समात्नुका पछाडि चन्दा आतङ्क र ध्वंशात्मक गतिविधिमा यो समूह लागेको छ, राज्यविरुद्ध लागेको छ । उनी वारेन्टेड पनि थिए । यसै सन्दर्भमा उनी गिरफ्तार भएका हुन् ।’
नेकपाका अध्यक्ष प्रचण्डका अभिव्यक्ति पनि बेलाबेला आएका थिए । २०७४ फागुन ३० प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा प्रचण्डले विप्लवमाथि सङ्केत गर्दै भनेका थिए, ‘बाम गठबन्धनको नेतृत्वमा सरकार गठन भएपछि जनताका प्रतिनिधिमाथि आक्रमण सुरु भएको छ । आक्रमण जनताद्वारा बहिष्कृत शक्तिहरूले गरेका छन् ।’
गत २०७५ वैशाख १५ मा खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समूहका नेता तथा कार्यकर्ताहरूलाई स्वागत गर्दै प्रचण्डले क्रान्तिको नक्कल गरेर नहुने बरु विकास गर्नुपर्ने बताएका थिए । उनले विप्लवको नामै नलिई भनेका थिए, ‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०–२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’
विप्लव पार्टीका प्रवक्ता प्रकाण्ड पक्राउ परेको तीन दिनपछि गृहजिल्ला चितवन पुगेर २०७५ साउन २६ मा प्रचण्डले यसबारे आफ्नो पहिलो प्रतिक्रिया दिएका थिए, ‘अहिले बामपन्थीको सरकार छ । सबैसँग संवाद र सहकार्यको उदेश्य राखेको छ । सुशासन र विकासलाई मुख्य नारा बनाएको छ । यो अवस्थामा कुनै वितन्डातिर लाग्नुभन्दा सबैपक्ष खुलस्त ढङ्गले वार्ता गर्ने, संवाद गर्ने, सहमति गर्नेतिर आउनुपर्यो । वितन्डा मच्चाएर, मान्छेलाई आतङ्कित पारेर अहिले बदलिएको परिस्थितिमा केही हुन्छ भनेर सोच्नु साह्रै ठूलो अज्ञानताबाहेक अरू केही पनि होइन । आतङ्क मच्चाउँदै हिँड्ने सरकारलाई वार्ता भन्न त सक्दिनँ नि ।’
वैशाखमा भएको त्यो तालिम
सिन्धुली प्रहरीले विप्लव नेतृत्वको नेकपाले बेसक्याम्प राखेर सैन्य तालिम चलाएको बताएको थियो । वैशाख ८ गते पत्रकार सम्मेलन गरेर प्रहरीले विप्लव पार्टीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमान्डको बेसक्याम्प बनाउन थालेको र विप्लवले वैशाख ५ गते सैन्य तालिमको समापन गरेको दाबी गरेको थियो ।
सरकारले विगतबाट पाठ सिकेन– श्याम श्रेष्ठ, राजनीतिक विश्लेषक
सरकारले राम्रा काम, जनमुखी कामहरू गर्दै गयो भने विप्लव समूह होस् वा अरू कुनै समूहको आकर्षण कम हुँदै हुँदै जाने हो । सरकारले एकपछि अर्को अलोकप्रिय काम गर्दै जाने, जनताको मन जित्न नसक्ने हो भने विप्लवलाई जति चेतावनी दिए पनि विप्लवहरूको आकर्षक बढ्दै जान्छ । भरपर्ने भनेको सरकारको काममा हो । कुनै चेतावनीले वा ‘मिलिट्री अपरेसन’ले हल हुने कुरा होइन । विगतमा शेरबहादुर देउवाले पनि चेतावनी दिएकै हुन् । राज्यले किलोसेरा टु पनि चलायो । रोमियो पनि चलाएकै हो तर माओवादी किन अगाडि बढ्यो ? त्यसकारण अहिलेको समस्या प्रशासनिक समस्या होइन । यो राजनीतिक समस्या हो । अहिले सरकारप्रति जनताको समर्थन पातलिँदै जाने हो भने राजनीतिक स्पेस खालि बस्दैन । त्यो स्पेस कोही न कोहीले लिन्छ ।
अर्को कुरा, यो सरकारले पनि विगतबाट पाठ सिकेन । विगतमा पनि माओवादीलाई आतङ्ककारी भनेकै हो । यहाँ कुन दल हतियार नसमातेका छन् ? काँग्रेसले समात्यो माओवादीलाई आतङ्कारी भन्यो । नेकपा मालेले हतियार समात्यो । त्यसले नै अरूलाई आतङ्ककारी भन्यो । माओवादीले हतियार समात्यो, अहिले उसैले विप्लवलाई आतङ्ककारी भन्दैछ । सरकार अहिले जसरी प्रस्तुत भएको छ, त्यसले भविष्यमा टकराव झन् बढ्ने देखिन्छ । अब विस्तारै विप्लवहरू गतिविधि बढाएर ‘मिलिट्री मोबिलाइजेसन’मा आउँछन् ।
सेना बनाएको भनेर विप्लवले बोलिसकेका छन् । अब उनीहरू मिल्ट्री मोबिलाइजेसनमा जाँदा अनावश्यक सर्वसाधारण मारिने कुरा हुन्छ । त्यहाँ विद्रोहीभन्दा सर्वसाधारण मारिन्छन् । त्यसपछि झन् विद्रोहीप्रति आकर्षण बढ्छ । पहिला माओवादीमा पनि त्यही भएको हो । चार जना मारिएका मध्य ३ जना सर्वसाधारण एक जना विद्रोही मारिए । अहिले त्यो भूल फेरि दोहोरिने देखिँदैछ । हिजो जहाँ जुन ढुङ्गामा ठेस लागेको थियो, अहिले फेरि त्यही ढुङ्गामा ठेस लाग्ने सम्भावना देखिँदैछ । त्यसकारण सरकारले त्यसलाई प्रशासनिक समस्या मानेर आतङ्ककारी भन्दैमा कुनै फाइदा गर्नेवाला छैन । किन विप्लव समूह बलियो हुँदैछ ? किन सेना बनाउँदै छ भनेर पो सरकारले हेर्नुपर्छ । त्यो हेर्ने हो भने सरकारले आफ्नो गतिविधिमा सुधार गर्नुपर्यो । जनताको मन जित्ने काम गर्नुपर्यो । सरकारले मन जित्दैन भने अर्कोले जित्छ । राजनीतिक स्पेस कहिल्यै खालि बस्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता