बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको ‘मिनी रोल्पा’मा प्रहरी अपरेसन

बिहीबार, २३ फागुन २०७५, १४ : ०७
बिहीबार, २३ फागुन २०७५

बुटवल– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गाउँमा प्रहरीले सर्च अपरेशन चलाएपछि कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बिहीबार बिहानैदेखि तनाव जारी छ ।

 प्रहरीको विशेष टोलीले विहीबार विहान विप्लवका कार्यकर्ता यादव चन्दको घरमा सर्च अपरेशन गरेको थियो । सर्च अपरेशन पश्चात चन्दको घरमा केही हतियार भेटिएको जनाइएको छ । शिवगढीमा नेकपाका महासचिव विप्लवको समेत घर रहेको छ । 

प्रहरीले सर्च अपरेशन गर्दैगर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुई जना प्रहरी जवान सामान्य घाइते भएका छन ।

 स्थानीयबासीले प्रहरीलाई ढुङ्गाले प्रतिकार गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यालय कपिवस्तुका प्रमुख प्रहरी उपरीक्षक अच्यूत पुडासैनीनै सर्च अपरेशनको क्रममा फिल्डमा खटिएको कपिलबस्तुका प्रहरीका प्रवक्ता रविराज खनालले रातोपाटीलाई जानकारी दिए ।  फिल्डमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

 प्रहरीको यस्तो दावी 
  प्रहरीले बिहान जिल्लाको  शिवराज नगरपालिका वडा नम्बर ९ स्थित यादव चन्दको घरमा विशेष सुराकीको आधारमा सर्च अभियान थालेको थियो । यादव चन्द विप्लवका भतिजा भएको जनाइएको छ । सो क्रममा प्रहरीले विभिन्न  हतियार नियन्त्रमा लिएको जनाएको छ। 

यादव चन्दको घरबाट प्रहरीले एसएमजी २ थान, त्यसमा लाग्ने गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस,  थप म्यागजिन १ थान र  विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद भएको प्रहरीले जनाएको छ ।

 हतियार फेला परेपछि नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाउँदा स्थानीय दुर्गा बहादुर रोकाको बायाँ खुट्टामा गोली लागेको छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आफ्नो काम शान्तिपूर्वक रुपमा गरिरहँदा एक्कासी स्थानीयले ढुङ्गा प्रहार गरेको प्रहरीको दावी गरेको छ । 

‘मिनी रोल्पामा प्रहरी अपरेशन’ 
शिवगढी दाङसँग सीमा जोडिएको स्थान हो । जहाँ यादव चन्दको सँगै नेकपाका महासचिव विप्लवको पनि घर रहेको छ । यहाँ विप्लवका सबै परिवारको बसोबास रहँदै आएको छ ।  

मिनी रोल्पा रुपमा यो ठाउँलाई लिइन्छ । सशस्त्र यद्धका क्रममा पनियो गाउँमा १४ जना भन्दा धेरैको मृत्यु भएको थियो ।  तराइका जिल्लाहरु माओवादीको प्रभाव कम भएको मानिए पनि शिवराजलाई  तत्कालीन माओवादीले ‘मिनी रोल्पा’ भन्दै  आएको थियो । 

 प्रहरीले अपशेसन बारेमा विस्तृतमा खुलाउन चाहेको छैन  ।

डीआईजी भन्छन् –विप्लवको गाउँमा शंकास्पद गतिविधि
पाँच नम्बर प्रदेश कार्यालयका प्रहरी प्रमुख डीआईजी पिताम्बर अधिकारीले विप्लवको गाउँमा शंकास्पद गतिविधि देखिएकाले अपरेशन चलाइएको रातोपाटीलाई बताए ।

उनले १ सय ५० भन्दा धेरै प्रहरी परिचालन गरेर अपरेशन चलाइएको बताए । सो क्रममा केही विप्लवका कार्यकर्ता पक्राउ परेको पनि अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप