शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला प्रकरण  : पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

बिहीबार, २३ फागुन २०७५, ११ : ०९
बिहीबार, २३ फागुन २०७५

काठमाडौं– निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी,  इन्सपेक्टर एकेन्द्र खड्का र  चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । 

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग सम्बन्धित प्रमाण नष्ट गरेको र असम्बन्धित मानिसहरुलाई शारीरिक तथा मानसिक यातना दिएको भन्दै मुद्दा दर्ता भएको थियो । यातना र प्रमाण नष्टसम्बन्धी मुद्दाको अनुसन्धान सकेर अदालतमा मुद्दा बुझाउने क्रममा संलग्न प्रतिवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता सुवेदीले बताए । 

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) विष्ट चाहिँ पक्राउ परेका छैनन् । 

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा जिल्ला प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा मुद्दाको फाइल बुझाएको छ । 

खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए । 

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् । 

सरकाले प्रहरी उपरीक्षक (एसपी) विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् । 

२०७५ साउन १० गते निर्मला पन्तको शव उखुबारीमा फेला परेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप