केन्द्रीय संस्करण
चलचित्र

छुनै लाग्दा फुट्यो ‘बुलबुल’

person explore access_timeफागुन २२, २०७५ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

केही पहिले ‘प्रसाद’ हेरेपछि ट्रेलर र गीतको भरमा चलचित्र हेर्न नजाने मेरो निर्णय थियो । यो मात्र प्रयाप्त कारण भने थिएन । त्यसअगाडि पनि केही चलचित्रमा म यसैगरी भुक्किएकी थिएँ ।

फेरि पनि चलचित्र ‘बुलबुल’को पालैपालो आएका प्रचार सामग्री टिजर, ट्रेलर र गीतको चर्चाले पनि मलाई हलसम्म तान्न सकिरहेको थिएन । मेरो प्रतीक्षा प्रदर्शनपछि लेखिने  समीक्षामा थियो । दिनैजसो आउने नयाँ नयाँ समीक्षाले अन्तत मलाई हलसम्म तानेरै छाड्यो । बुलबुल हेर्न ।

हलसम्म पुगिसकेपछि केही न केही लिएर अनि महसुस गरेर फर्कन पाइयोस् भन्ने चाहना मेरो थियो । केही हदसम्म उक्त चाहना बुलबुलले पूरा गर्यो ।

चलचित्रमा कि कथा सशक्त हुनुपर्यो कि त्यहाँ कलाको बेजोड सम्योजन हुनुपर्यो कि त मनोरञ्जनका तड्का । जुन ‘छक्का पञ्जा’ जस्ता चलचित्रले पस्कँदै आएका छन् ।

‘बुलबुल’ले हलसम्म तान्नुको अर्काे कारण यसका लेखक तथा निर्देशक विनोद पौडेल पनि थिए । उनले केही पहिले लेखेको यथार्थपरक चलचित्र ‘साँघुरो’को याद मेरो मानसपटलमा ताजै थियो ।

निर्देशक माथिको अर्काे आसा उनी चलचित्रसम्बन्धी अध्ययन गरेका व्यक्ति पनि थिए । त्यसमाथि चलचित्र अध्यापन गराउने नेपालको एक मात्र कलेज अफ फिल्म स्टडिजका कार्यकारी निर्देशक तथा प्रमुख हुन् । यसैले उनीबाट मैले अलि धेरै नै आशा गर्नु स्वभाविक हो ।

जहाँसम्म ‘बुलबुल’को कुरा छ लेखक तथा निर्देशकको बौद्धिक पक्ष प्रसंशा योग्य छ । पौडेलको निर्देशनमा ‘बुलबुल’ डेब्यु चलचित्र हो ।

‘मेरो चलचित्रले सन्देश दिँदैन तर समय अवधिभर दर्शकलाई त्यही बाँधेर राख्न भने सक्छ है’ केही पहिले प्रचारका क्रममा उनले भनेका थिए । कति दर्शक बाँधिए होलान्, कति छटपटाए होलान् र कति निर्माण पक्षलाई गाली गर्दै निस्के होलान् । त्यो उनीहरुको कुरो हो । तर मैले भने ‘बुलबुल’को निर्देशकीय पाटोलाई मज्जैले महशुस गरे ।

प्राविधिक रूपमा यो चलचित्र बलियो छ । सामान्य कथालाई राम्रोसँग बुन्न सफल छन् निर्देशक । बुलबुलको अर्थ पात्रको भावनासँग लगेर जोडिदिएका छन् उनले । यो सायद कमै चलचित्रमा देख्न पाइन्छ ।

सरल र यथार्थ परक रूपमा निर्माण भएको ‘बुलबुल’का केही संवाद भने अपाच्य लागे पनि हरेक दिन बाटो हिँड्दा, टेम्पो, माइक्रो, बसमा चढ्दा सुनिदै आइएका हुन् । त्यसैले पनि खासै अनौठो लाग्दैन ।

एक किसिमले भन्ने हो भने हाम्रै वरिपरिको परिवेश हो ‘बुलबुल’ । सामान्यभन्दा पनि सामान्य वर्ग जो दिनभरी मजदुरी गर्छ, जसको कुनै ठूलो सपना छैन । कहिल्यै आफूलाई माथिल्लो वर्गसँग तुलना गर्दैन, मात्र सरल जीवनको पथमा आफूलाई खोजिरहेको छ । त्यो वर्ग जसलाई कसैको भर चाहिएको छैन । चलचित्रका पात्रहरु मात्र चोखो माया र सम्मानित जीवन खोजिरहेका छन् ।

फिल्मका पात्र, दृश्य, लाइट, क्यामेरा मुभमेन्ट, साउन्ड, स्थान, भेषभुषा, लवज लगायत सबैको केही कमजोरीमा मौन रहने हो भने संयोजन गजबको छ । थुप्रै चलचित्र निर्देशन गरे पनि आस गर्न नसकिने केही निर्देशक छन् चलचित्र क्षेत्रमा । तर विनोदले भने पहिलो चलचित्रबाटै सम्भावना देखाएका छन् ।

बुलबुलका पात्रहरु रणकला (स्वस्तिमा खड्का), चोपेन्द्र (मुकुन भुसाल), भीमा (लक्ष्मी बर्देवा)र मिस्त्री (जोयस पाण्डे)ले निर्वाह गरेको भूमिकाले दर्शकको मनमा गहिरो छाप छोड्न सफल छ ।

सिटी फुक्ने दर्शकका लागि मात्र लक्षित छैन ‘बुलबुल’ । जीवनभित्रको कला खोज्नेहरुका लागि पनि उपयुक्त हुनसक्छ । अँध्यारो कोठाभित्रको दृश्यमा दर्शक विलिन हुन बाध्य पार्ने दृश्य चलचित्रको सबल पाटो हो ।

बेलाबेला पात्रमाथि आइपर्ने परिस्थितिमाथि दर्शकलाई आक्रमण गर्न मनलाग्छ । दृश्यसँगै छटपटाहट बढ्छ । अनि त्यहीँ उनीहरु पुग्न खोज्छन् ।

समाजको यथार्थ प्रतिविम्ब ‘बुलबुल’

पछाडिको सिटमा बस्ने दुई युवाले निकै चाख दिएर फिल्म हेर्दै थिए । कति सारो आर्टिस्टिक हो भन्दै थिए । सायद, केही दृश्यले उनीहरुलाई पट्यार लाग्यो होला । भर्खर २४–२५ का देखिने ती युवा चटपटा, लभ स्टोरीमा चुर्लुम्म ढुबेका फिल्म हेर्नेजस्ता लाग्थे । तर उनीहरुले हरेक सिनमा यति मजा लिँदै विश्लेषण गर्दै थिए कि लाग्यो यी फिल्म हेर्न होइन बुझ्न आएका रहेछन् ।

फिल्म सकियो । पछाडिको सिटबाट एक युवतीको च्याँठिएको आवाज हलभरी सुन्निने गरी आयो ‘योभन्दा राम्रो फिल्म त म आफै बनाइदिन्छु’, उनले आफूले खोजे जस्तो मसला ‘बुलबुल’मा सायद पाइनन् ।

चटपटा शैली, फेसन, रोमान्स, नाच गाना, एक्सन जस्ता खुराक खोज्नेहरुका लागि ‘बुलबुल’ खास होइन । वास्तविक जीवन, दुःख, पीडा, बाध्यतासँग जुधेको परिबन्द बीचको मिस्रित अवस्थाको चित्रण हो चलचित्र ‘बुलबुल’ ।

चाहना र बाध्यता बीचको सङ्घर्ष जुन आजको निम्छरो समाजले भोग्दै आएको छ । त्यसैको यथार्थ चित्रणभन्दा पनि फरक पर्दैन बुलबुल ।

सिम्बोलिक दृश्यहरु जुन मुटुमै बिझाउने छन्, धुरुक्क रोइदिन मन लाग्ने । फिल्मका ट्रेलरहरु हेर्दा लाग्थ्यो, एक टेम्पो चालक महिलाको कथा । तर होइन रहेछ ।

चलचित्रकी मुख्य पात्र रणकलाले आफ्नो इच्छा, चाहना अनि जीवनका सुखद पललाई टेम्पोको पाङ्ग्रासँग साटेकी छिन् । टेम्पोका पाङ्ग्रा फेरिएसँगै फेरिने रणकलाको जीवन खुसीको टेको खोज्दैमा वित्छ । 

एक महिला टेम्पो चालक, जो वर्षौंदेखि विदेशिएका श्रीमानको प्रतीक्षा गर्दागर्दै थाकेकी छन् । आत्मनिर्भर छिन् । तर केही अपुग भएजस्तो ।

७ वर्षकी छोरी र पक्षघातबाट थलिएका वृद्धा ससुराको जिम्मेवारी आफ्नै काँधमा लिएकी रणकला एक हिम्मतिली महिलाका रूपमा चलचित्रभित्र देखिएकी छिन् । बारबार ठोक्किन आउने चोपेन्द्रले देखाएको प्रेमको त्यान्द्रो पनि एउटा सपना जस्तै छ उनका लागि । रातभरी एउटा कम्पनीमा गार्डको काम गर्ने चोपेन्द्र मायालु पाराले रणकलाको ध्यान आफूतिर खिच्न सफल हुन्छन् ।

दिनभरी रणकलाको वरिपरि घुम्ने चोपेन्द्रको अनौठो बोल्ने शैली पनि दर्शकका लागि नौलो खुराक बनेको छ । लामो समयदेखि श्रीमान्को सामीप्यताबाट टाढिँदाको पीडालाई चोपेन्द्रको मायाले राम्रैसँग पुरिदिए पनि लामो समय टिक्न सक्दैन । चोपेन्द्रसँग विवाह गरेर घरजम बसाउने सपना बोकिसकेकी रणकलामा भिन्न तेज आउँदै गर्दा कति छिटो बादल मडारिन्छ पत्तो नै हुन्न ।

एकाएक चोपेन्द्रको पलायन अनि विक्षिप्त बनेकी रणकलाको मनोदसा माथि सुनिने ‘ज्याद्रै बस्यो दिल’ बोलको गीतले आँखा भरिन्छन् । चलचित्रका गीत समय र पात्र सुहाउँदा छन् ।

अनायसै हुने चोपेन्द्रको पलायनबाट नेपाली युवाको मनोदसालाई छर्लङ्ग परिदिएका छन् निर्देशकले । चोपेन्द्र पनि विदेश गएर धन कमाउने सपनाबाट अछुत थिएनन् ।  स्वस्तिमाले रणकलाको भूमिकामा आफूलाई राम्रोसँग ढालेकी छन् । फिल्म हेर्ने धेरैले उनको नाम भन्दा पनि फिल्ममा निर्वाह गरेको भूमिकाले चिन्न सक्छन् ।

चलचित्रको खल्लो पाटो रणकलाका वरिपरिका घुम्ेन पात्रहहरु हुन् । सानै उमेरमा विवाह गरेर बच्चा जन्मिएपछि श्रीमान्बाट टाढिएकी महिलामाथि आइपर्ने विभिन्न उतारचढावमै बिट मार्छ चलचित्रको कथाले ।

पुरुषका गिद्दे दृष्टिबाट पलपल बच्नुपर्ने, जस्तो परिस्थितिमा पनि परिवारको जिम्मेवारी बहन गर्नु पर्ने अनि समाजसँग एक्लै जुध्नुपर्ने रणकलालाई चलचित्रमा बलियो महिला पात्रका रूपमा चित्रण गरिएको छ ।

महिलालाई सो पिसका रूपमा प्रस्तुत गर्ने नेपाली चलचित्रको चलनचल्तीलाई ‘बुलबुल’ले तोडेको छ । यसका लागि लेखकसमेत रहेका निर्देशक प्रसंसाका पात्र हुन् ।

बिझाउने बुलबुल

वर्तमान समयमा चलेको ट्रेनभन्दा बाहिर गएर ‘बुलबुल’ निर्माण गर्नु जोखिम त पक्कै हो । केही नयाँ गर्नका लागि कसैले जोखिम मोल्नु नै पर्छ । यो जोखिम यसका निर्माण पक्षले पनि मोलेको देखिन्छ ।

कमर्सियल चलचित्रसँग नजिकिएका दर्शकका लागि यो चिनी नभएको चिया जस्तै लाग्न सक्छ । केहीले ‘बुलबुल’लाई संवेदनशील चलचित्र भनिरहँदा कतिले मनोरञ्जनविहीन चलचित्रसमेत भनेका छन् ।

चलचित्रमा आत्मा खोज्ने म जस्ता दर्शकका लागि भने यो सही हो । फिल्ममा सुस्त तथा पट्यार लाग्दा दृश्य भने नभएका पनि होइनन् । तर यस्ता दृश्यपछि आउने अन्य दृश्यले दर्शकलाई कमजोरी महसुस हुन दिँदैन ।

प्राविधिक रूपमा सशक्त लाग्ने ‘बुलबुल’ स्टोरी टेलिङमा भने केही कमजोरी छ । यसमा लेखक समेत रहेका निर्देशकले सुधार गर्न सक्नुपथ्र्यो ।

अब के होला, रणकलाले के गर्लिन् भन्ने उत्सुकतामै सकिन्छ चलचित्र । अझै केही आउँछ भन्ने सोचका बीच हलबाट बाहिरिनु पर्दा खल्लो महसुस पक्कै हुन्छ । मैले बुलबुललाई छुन खोज्दा खोज्दै फुट्यो ।

सबैलाई लागेको हुनुपर्छ, चोपेन्द्रले मन तानिसकेकी रणकलाले अब श्रीमान्लाई कसरी स्वीकार गर्लिन् ? छोरीका साथ श्रीमान्को कुराइमा रहेकी रणकलाको जीवन कतातिर मोडिन्छ ? प्रश्नको जवाफ खोज्ने जिम्मा दर्शकलाई नै छाडिदिएका छन् निर्देशकले ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...