शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुईपटक क्यान्सरलाई जितेकी महिलाकोे ‘ब्राइडल फोटोसुट’

मङ्गलबार, २१ फागुन २०७५, ११ : ५५
मङ्गलबार, २१ फागुन २०७५

काठमाडौँ – क्यान्सर  रोगहरूको एक वर्ग हो । जसलाई चिकित्सकीय भाषामा घातक नियोप्लास्म भनिन्छ । जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित वृद्धि (सामान्य सीमा भन्दा अधिक विभाजन), रोग आक्रमण (आस–पासको उतकहरूको विनाश आक्रमण) र कहिलेकाँही मेटास्टेसिस (लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ)को रूपमा देखिन्छ । क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ ।

सामान्यतयाः मानिसहरुमा क्यान्सर लागेपछि मानिसको मृत्यु हुन्छ भन्ने धारणा व्याप्त छ । तर मानिस समयमा नै क्यान्सर पत्ता लगाएर यसको उपाचार गर्ने हो भने क्यान्सर निको पनि हुन्छ । 

क्यान्सर लागेपछि हुने शारीरिक पीडा र मानसिक निराशाले मानिसलाई सुख र खुशीबाट पर लैजान्छ । तर, संसारमा यस्ता मानिसहरु पनि छन् जसले क्यान्सरलाई जितेर अरुको लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन् । 

त्यही प्रेरणादायी मानिसहरुको सूचीमा पर्छिन् वैष्णवी पूवनेन्द्रण । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा नवी इन्द्रन पिल्लई नामले परिचित छिन् । पेशाले मोटिभेसनल स्पिकर र डान्सर वैष्णवी ५ वर्षमा दुईपटक क्यान्सरको शिकार भइन् । उनले दुवैपटक हिम्मतका साथ क्यान्सरसँग लडेर देखाइन् । उनले इन्स्टाग्राममा लेखेको पोस्टको अनुसार उनी ५ वर्षपछि क्यान्सरबाट मुक्त भएर साधारण जीवन व्यतित गरिरहेकी छिन् । 

उनको कलेजोको साथसाथै स्पाइनल कर्डमा समेत क्यान्सर फैलिएको थियो । उनले थुप्रैपटक केमियोथेरापी गराइन् । र, अन्ततः २०१८ मा क्यान्सरलाई जित्न सफल भइन् । क्यान्सरसँगको लडाँई निकै मुश्किल भएको र त्यसलाई हार नमानी जित्नु झन् धेरै मुश्किल भएको उनले पोस्ट्मा उल्लेख गरेकी छिन् । 

बेहुलीको भेषमा फोटोसुट


उनले भर्खरै बेहुलीको पहिरनमा फोटोसुट गराएकी छिन् । उनको बेहुलीको भेषमा रहेको फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘दि बोल्ड इन्डियन ब्राइड’ नाम दिइएको उक्त फोटोसुट क्यान्सरको कारण बेहुली बन्न नपाएका युवतीहरुको लागि लक्षित गरिएको उनले उल्लेख गरेकी छिन् । 

उनले क्यान्सरले धेरै युवतीको बेहुली बन्ने मीठो सपना टुटाएको भन्दै उक्त फोटोसुट क्यान्सर पीडित महिलाहरुका लागि सन्देश भएको बताइन् । उनले महिला सुन्दर र बोल्ड हुन्छन् भन्ने सन्देशका साथसाथै क्यान्सरले महिलाको सुन्दरता बिगार्न नसक्ने बताइन् ।

उनले आफूले पनि आफ्नो प्रेमीका साथ बिहे गर्न चाहेको र बेहुली बनेर सजिने सपना भएको तर क्यान्सरका कारण पूरा नभएको दुखेसो पोखिन् । 

त्यसैले ‘ब्राइडल फोटोसुट’ गराएको उनले प्रस्ट्याइन् । उनले एक बेहुलीजस्तै मेकअप गरिन् र फोटोसुट गराइन् । उनी चाहान्छिन् कि हरेक क्यान्सर पीडित महिलाले यसरी नै क्यान्सरलाई जितेर अगाडि बढुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप