बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उन्मुलन भइसकेको अमानवीय कमारा प्रथाबारे विमर्श

सोमबार, २० फागुन २०७५, २३ : ००
सोमबार, २० फागुन २०७५

नेपाली इतिहासका अध्येताहरूका लागि सोधखोज गर्न मनपर्ने विषयमा पर्दछ कमारा प्रथा पनि । यसै विषयमा ललितपुरको यलमाया केन्द्रमा गत शनिबार र आइतबार राष्ट्रिय अभिलेखालय र हाइडलवर्ग विज्ञान तथा मानवशास्त्र प्रतिष्ठानद्वारा संयुक्तरुपमा गोष्ठि आयोजना गरिएको थियो ।

नेपालमा उन्मुलन भइसकेको कमारा प्रथाबारे नेपाली तथा जर्मन विद्वानहरूले सो गोष्ठिमा आ–आफ्ना धारणा राखेका थिए । मानव समाजमा कलङ्कको रूपमा रहेको यो प्रथा नेपालमा झन्डै एक सय बर्षअघि, प्रधानमन्त्री चन्द्रशम्शेर राणाको समयमा, सम्वत् १९८१ माघ १४ गते उन्मुलन गरिएको थियो ।  

दासानुदासको परम्परा रहेको पूर्वीय समाजमा दास परम्परा ऋग्वेदिक कालदेखि नै रहेको पाइन्छ ।

लिच्छविकालिक अनन्तलिङ्गेश्वरको अभिलेखमा उल्लेख भएका देवदास र देवदासी शब्दले यो परम्परा हामीकहाँ पनि रहेको खुलाउँदछ । परम्परागत रूपमा प्रयोग हुने दास शब्दले नोकर, चाकर, भक्त, गुलाम, भृत्य, करिया, कमारो के हो स्पष्ट खुलाउँदैन । तर, नेपालको आधुनिक कालभन्दा केही अघिका कागजातले मानव बेचविखनको यो प्रथालाई कमारा प्रथा भनी चिनाउँछ । गोष्ठिको शुरुमा प्राध्यापक अक्सेल मिखायल्सको यही तर्क थियो; ‘दासले कमारा वा नोकर कुन हो अर्थ स्पष्ट पार्दैन ।’

ललितपुरको उकुबहालको बाह्रौँ शताब्दीको कागजातमा उल्लेख भएको अन्न लिएवापत केही वर्ष बाँधा राखिएको भन्ने विषयलाई प्राध्यापक दिनेशराज पन्तले दासप्रथासँगै जोडेर आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्ठिमा राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले अभिलेखालयमा दासप्रथासम्बन्धी अनगिन्ति कागजातपत्र रहेको र अभिलेखालयले आगामी साल यसैबारे अनुसन्धान कार्य अघि बढाउने योजना बनाएको जानकारी दिइन् ।

पहिलो दिनमा कैथरान वार्नरले सीमा क्षेत्रका बासिन्दाबारे, संजोग रुपाखेतीले १८औँ शताब्दिको कानूनबारे, अरिक मोरानले महाकाली पारीका कमाराबारे, रामहरि तिमिल्सिनाले साहित्यमा बाँधाबारे र नदीन प्लात्चाले हिमाली क्षेत्रका कमाराबारे आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए । 

गोष्ठिका अधिकांश वक्ताहरूले राजा सिद्धिनरसिंह मल्लले पाटनको कृष्ण मन्दिरमा चढाएको दासी, बालकृष्णदेव शर्माले पशुपति मन्दिरमा चढाएको दुई दासी तथा पृथ्वीनारायण शाहको युद्ध अभियानमा शत्रुक्षेत्रमा शिकार गरी बनाइएका कमाराहरूकाबारे चर्चा चलाएका थिए । यसै प्रसङ्गमा पृथ्वीनारायण शाहद्वारा काठमाडौँ उपत्यका विजय गर्नुभन्दा दुईवर्ष अघि, भीमसेन कार्कीसँग लिएको एक राँगोको सट्टा वैरी क्षेत्रका जहानवच्चा कमारा–कमारीको रूपमा पक्डेर राँगोको मोलको लागि सुम्पिदिनु भनि लेखिएको पत्रको बिशेष चर्चा चलेको थियो ।

यसलाई बुझ्ने कोशिश गर्ने हो भने, नेपालको परम्परागत खुकुलो दासप्रथा आधुनिककालको शुरुआततिर युद्धका कारण राज्यको आर्थिक अवस्था जर्जर हुँदा कमारा प्रथाको रूपमा बढी मौलाएको थियो भन्ने सरल निष्कर्ष निकाल्न सकिने देखिन्छ; किनकि मध्यकालमा कमारा कमारी बेचबिखनका लागि साहुको मात्रै होइन, खुद कमारा–कमारीको पनि स्वीकृति रहनुपर्ने अनिवार्यता थियो ।

गोष्ठिको दोस्रो दिनको ध्यानाकर्षण मानिक बज्राचार्य, सिमोन कुबेलिक र राजन खतिवडाको जङ्गबहादुरकालिक नेपालको मुलुकी ऐन र तत्कालिक कागजातपत्रमा रहेका कमारा, चाकर र बाँधा प्रथा सम्बन्धि विश्लेषणको कार्यपत्र थियो ।

यसमा तत्कालिक कमारा कमारीको मोल, कमारा प्रथालाई राज्यको संरक्षण, कमारा भाग्दाको सँजाय, कमारा प्रथाबाट उत्पन्न भएका जात, त्यसका समस्या र कमाराका सम्पत्तिको अधिकारबारे चर्चा गरिएको थियो ।

खवास र घर्ति जात कमारा प्रथाबाट उत्पन्न भएको तर्क पनि त्यहाँ गरिएको थियो । चाकरीमा दर्माह खाएर र मानु खाएर गर्ने दुई किसिमका चाकरबारे चर्चा भएको थियो । मुलुकी ऐनमा कमारी केटीलाई वेश्याको श्रेणीमा राखिएको र कमारा किनबेचमा प्रयोग हुने परंभट्ट भन्ने कागजातबारे पनि चर्चा गरिएको थियो ।

कमारा कमारी अमलेख गर्दा गरिने कर्मविधि, तेल ठोकेर कमारा कमारीलाई घर परिवारमा भित्र्याउने परम्पराको पनि त्यहाँ चर्चा गरिएको थियो । नेपालको इतिहासको एक अमानवीय पाटाको रूपमा रहेको कमारा प्रथाबारेको यस गोष्ठिको प्रकाशन इतिहासका अध्येताहरूका लागि उपयोगी हुने कुरामा दुईमत हुने ठाउँ रहँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नूतनधर शर्मा
डा. नूतनधर शर्मा
लेखकबाट थप