स्थायी हुने अवसर प्रदान गर्न सरकारसँग माग

काठमाडौं– अस्थायी करार शिक्षकहरुले एक पटक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर प्रदान गर्न सरकारसँग माग गरेका छन् । अस्थायी करार शिक्षकहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फेरि एकपटक आन्तरिक प्रतिस्पर्धाबाट आफूहरुलाई स्थायी हुने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
यदि आफूहरुको सो माग तत्काल पूरा नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी छ । ६ महिना काम गरिसकेका देशभरका करारमा कार्यरत शिक्षकहरुलाई स्वतः स्थायी गनुपर्ने अन्तराष्ट्रिय मान्यता समेत बेवास्ता गरेपछि सरकारलाई फेरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर एक पटक दिन माग गर्नु परेको छुट अस्थायी करार शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले जानकारी दिए ।
उनले यदि सरकारले आफूहरुको माग सम्बोधन नगरे सम्पूर्ण सामूदायिक विद्यालयहरुमा आमहडतालसहितको संघर्षको कडा आन्दोलन सुरु गर्न आफूहरु बाध्य हुने चेतावनी पनि दिए ।
मुलुकमा अझै करिव १३ हजार भन्दा बढि करारमा नियुक्त शिक्षकहरु कार्यरत रहेका छन् । स्थायीका लागि अव भने मौका दिन नसकिने नीतिगत व्यवस्था सरकारले गर्न लागेपछि उनीहरु त्यसको विरोधमा आन्दोलित भएका हुन् ।