बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के तपाईं पनि आवश्यकता बिना नै किनमेल गर्नुहुन्छ ? बेलैमा याद राख्नुस् है

सोमबार, २० फागुन २०७५, ०९ : ४२
सोमबार, २० फागुन २०७५

जुलिसा ट्रेविनो /बीबीसी

हना लुईस पोस्टन पछिल्लो थुप्रै वर्षदेखि आफ्नो एउटा बानी छुटाउन चाहन्थिन् ।

उनी सौन्दर्य सामग्री, कपडा र घरको सामान किनिरहन्थिन्, उनीसँग पैसा नभएपनि ।

उनी भन्छिन्, ‘मलाई पूर्ण रुपमा किनमेलको लत लागेको थिएन । तीन हजार वा चार हजार डलरको बिल भएपछि म डराउँथे र त्यसलाई शून्यमा झार्ने बाटो खोज्दथेँ । मेरो बचत शून्य थियो ।’

३३ वर्षको पोस्टनले सन् २०१८ मा एक वर्षका लागि किनमेल बन्द गर्ने निर्णय गरिन् ।

यसो गरेर उनी पैसा मात्र बचाउन चाहँदैनथिन्, किनमेलमा खर्च हुने समय र ऊर्जा पनि बचाउन चाहन्थिन् ।

उनले कसमै खाइन् – वर्षभरीका लागि कुनै मेकअप, स्किन केयर प्रोडक्ट, कपडा, साजसज्जाको सामान किन्ने छैनन् । फेशवास जस्ता आवश्यक वस्तुहरुलाई उनले अपवादमा राखिन् ।

कम उपभोग, पुनः प्रयोगः

पोस्टनले अनलाइन रिटेल साइट्सले आफ्नो क्रेडिट कार्डको सूचना पनि हटाइदिइन् ।

उनले आफ्नो अनुभव यु–ट्युबमा सेयर गरिन् । उनको भिडियो हेर्नेहरुले पनि आफ्नो यस्तै अनुभव साझा गरे ।

उनको यु–ट्युब च्यानलले एक वर्षमा २० हजारबढी सब्सक्राइबर पायो । उनी भन्छिन्, ‘मैले दैनिक महिलाहरुको इमेल पाउँथे । उनीहरुले पनि यस्तै अनुभव गरेको बताउँथे ।’

पोस्टनको जस्तै किनमेल बन्द गर्ने कसम खानु कुनै नौलो कुरा होइन । थुप्रै ब्लगर्सले यो चुनौती स्विकार्दै आफूसँग भएका पुराना सामानलाई राम्रोसँग प्रयोग गर्ने उनीहरुले सोचे ।

अन्य मानिसहरुले कम उपभोग र पुनः प्रयोग गर्ने कोसिस गरे ।

मन भुलाउनका लागि किनमेलः

सन् २०१७ मा लेखक ऐन पेचेटले एक वर्षसम्म किनमेल नगर्नेबारे लेखेकी थिइन् । उनलाई लाग्थ्यो कि उनी मन भुलाउनका लागि किनमेल गरिरहेकी थिइन् ।

वित्तिय विषयकी लेखक मिशेल म्याक्ग्राले त्यसै वर्ष ‘दि नो स्पेन्ड इयर’ नामको किताब लेखिन् ।

गुगल, युट्युब र रेडिटमा ‘नो बाइ इयर’ वा ‘नो स्पेन्ड च्यालेन्ज’ खोजी गर्नुभयो भने थुप्रै परिणाम पाइन्छ । त्यहाँ उपभोक्ता आफ्नो अनुभव साझा गर्छन् ।

युट्युबको ब्यूटी च्यानलमा ‘नो बाय’ साधारण शब्द हो । त्यहाँ ‘नो बाय मन्थ’ अर्थात् ‘लिपिस्टिक नो–बाय’ लगायत अत्यधिक भेटिन्छन् ।

सान फ्रान्सिस्कोको कन्जुमर साइकोलोजिस्ट किट येरो मानिसहरुले ‘नो बाय’ मा पनि किनमेल गरिरहेको देख्दा अचम्मित हुँदिनन् ।

उनी भन्छिन्, ‘पछिल्लो करिब २० वर्षदेखि हामी सस्तो सामानले भरिएका छौं । मानिसहरुसँग सामान राख्ने ठाउँ कम भइरहेको  छ ।’

मेरी कोन्डोले कम सामानबाट काम चलाउने अभियान सुरु गरेकी थिइन् । येरो भन्छिन्, ‘लक्ष्य एउटै हो, आफ्नो सामानमाथि नियन्त्रण राख्नु ।’

किनमेल एक समस्याः

यो चुनौती स्विकार गर्ने केही मानिसहरु अति–उत्पादनको युगमा कम उपभोग गर्न चाहन्छन् । उनी पर्यावरणको मद्दत गर्न चाहन्छन् र आफ्नो घरलाई सफा–सुग्घर राख्न चाहन्छन् ।

केही अन्यलाई लाग्छ कि उनीहरुको किनमेल एक समस्या बन्दै गएको छ ।

एक शोध समिक्षाबाट थाहा हुन्छ कि किनमेलको तल वा बाध्यात्मक किनमेलले संसारको लगभग ५ प्रतिशत जनसंख्यालाई प्रभावित पार्छ ।

विशेषज्ञलाई लाग्छ कि यो लतको गम्भीरता विभिन्न व्यक्तिहरुमा भिन्न भिन्न स्तरमा हुनसक्छ ।

यो समस्या बढिरहेको छ र यसको उपचारका लागि उत्कृष्ट साधनहरुको आवश्यकता पर्छ ।

किनमेल एक नशाः

यो लतबाट पीडितहरु किनमेल गर्ने बेला एक प्रकारको नशामा हुन्छन् लगभग त्यस्तै जुन केही लागुऔषध सेवन गर्नेहरुले अनुभव गर्छन् ।

न्यूयोर्कको मनोवैज्ञानिक जोर्डना ज्याकब्स भन्छिन्, ‘जब हामी किनमेल गर्छौं तब हामीले डोपामाइन (मस्तिष्कको न्यूरोनबाट निस्कने रसायन) को एउटा हिट पाउँछौं । यसले केही समयका लागि हामो मुड राम्रो हुन्छ । ’

जोर्डना ज्याकब्स जुन बिरामीको उपचार गछिएन् उनीहरु धेरैजसो स्वाभिमानका लागि किनमेल गर्छन् ।

सन् २०१६ को चुनावपछि पोस्टनको बानी बिग्रिएको थियो ।

उनी भन्छिन्, ‘जीवनको केही कुराबारे सोच्न चाहँदैनथे । त्यस्ता कुराबाट ध्यान हटाउनका लागि म सपिङ गर्थेँ ।’

उनी दिउँसोको समय कस्मेटिक चेन सेफोरामा बिताउँथिन् । उनी आफूलाई आवश्यकता नै नपरेका मेकअपको सामान खोजिरहन्थिन् ।

सुध्रिनेछ मानसिक स्वास्थ्य

विशेषज्ञका अनुसार एक वर्षसम्म किनमेल नगर्दा मानसिक स्वास्थ्य सुध्रनेछ ।

ज्याकब्स भन्छिन्, ‘धेरै मानिसहरु दुःख, समस्याबाट ध्यान हटाउनका लागि किनमेलको सहारा लिन्छन् ।’

येरोका अनुसार एक वर्षसम्म किनमेल नगरेर तपाईं पैसा बचाउन सक्नुहुन्छ तर ‘नो–बाय इयर’ को उद्देश्य मानसिक स्वास्थ्यलाई बचाउनका लागि हो ।

सिड्नी, अष्ट्रेलियाकी २६ वर्षे लेखिका र ब्लगर एम्मा नोरिस सन् २०१९ लाई नो–बाय ईयर बनाउने प्रयास गरिरहेकी छिन् ।

नोरिसलाई आशा छ कि यसो गर्दा उनीसँग धेरै पैसा हुनेछ र उनी आफ्नो पार्टनरसँग बाली र अन्य देश घुम्न सक्नेछिन् ।

उनी अल्छी लाग्दा र एक्लो हुँदा धेरैभन्दा धेरै कपडा खरिद गर्दथिन् ।

‘मलाई लाग्थ्यो कि म कहिले यसबाट बाहिर निस्कन सक्दिनँ किनभने म केही नसोची सामानहरु किनिरहन्थेँ ।’

कम सामानमा पनि काम चल्छः

किनमेल बन्द गर्ने निर्णय गर्नुअघि नोरिसले आफ्नो दराज मिलाइन् । यसबाट उनलाई थाहा भयो कि उनीसँग कति कपडा छन् र अब कति कपडाको आवश्यकता छ ।

केही अत्यावश्यक वस्तु खरिद गर्नुबाहेक अब उनी सपिङको कुनै योजना बनाउने छैनन् ।

नोरिसलाई लाग्छ कि उनको खर्च अब घट्नेछ । अहिले उनी आफ्नो सामान कम गर्ने कोसिस गरिरहेकी छिन् ।

नयाँ कपडा खरिद गर्नुको साटो उनी ९९ अष्ट्रेलियाली डलर प्रति महिना (७० अमेरिकी डलर वा ५४ पाउन्ड) को दरमा भाडामा लिन्छिन् ।

पोस्टन किनमेलमा लाग्ने समय आफ्नो व्यापार र युट्युब च्यानलमा खर्च गर्छिन् । उनी ट्याङ्गो डान्स गर्नेहरुका लागि कपडा पनि तयार गर्छिन् ।

उनी क्रेडिट कार्डको ऋणबाट पनि मुक्त भइसकेकी छिन् र अब उनले बचत गर्न सुरु गरिसकेकी छिन् ।

परिवर्तन भयो जीवनः

किनमेल बन्द गर्दा पोस्टनको जीवन पूर्ण रुपमा परिवर्तन भयो ।

उनी भन्छिन्, ‘मेरो व्यवहार मात्र परिवर्तन भएन, मेरो मैमाथिको धारणा पनि परिवर्तन भयो । म आफूभित्रको खराब पक्षबाट बच्नका लागि किनमेल गर्दथेँ ।’

तर यो सजिलो थिएन । उनी भन्छिन्, ‘म थेरापीमा जान सुरु गरेँ । प्रेमीसँग मेरो अत्यधिक झगडा हुन्थ्यो । मेरो जीवनशैली केही परिवर्तन भएको थियो ।’

येरोका अनुसार वर्षभरीका लागि हरेक चिजको किनमेल बन्द गर्नु आवश्यक छैन । तर यो प्रयोग नाटकीय रुपमा तपाईंको समस्याग्रस्त व्यवहारलाई परिवर्तन गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप