शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

प्रदेश २ का सबै जिल्लामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान, छोरी जन्मिनेवित्तिकै एक लाख २५ हजारको बीमा

आइतबार, १९ फागुन २०७५, १७ : २४
आइतबार, १९ फागुन २०७५

 जनकपुर– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रदेशका ८ वटै जिल्लामा लागु हुने बताएका छन् ।

संघीय सरकारले प्रदेश नम्बर २ सरकारलाई ५० करोड रुपैयाँ विशेष अनुदान दिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम २ नम्बर प्रदेशका सवै जिल्लामा गत माघ १ बाटै लागु भएको घोषणा गरे ।

प्रदेश सरकारले २०७५ साल माघ १ पछि जन्मेका छोरीहरुका लागि जन्मेको २० वर्षपछि १ लाख २५ हजार रुपैयाँ सम्बन्धित बैंकबाट पाउने गरी व्यवस्था मिलाएको जानकारी दिए ।

जसका लागि सरकारले प्रभु बैंकको खातामा  १३ हजार ६ सय ४६ रुपैयाँ जम्मा गरिदिने र बैंक आफैंले पनि १ हजार थपिदिएपछि त्यो रकम २० वर्षमा एक लाख २५ हजार रुपैयाँ हुनेछ । उक्त रकम २० बर्षपछि मात्रै झिक्ने सकिनेछ । 

योजना अन्तर्गत छोरी जन्मिएपछि बिमा बापतको रकम प्राप्त गर्न केही शर्तहरू राखिएको छ । त्यो शर्त पुरा गर्नुपर्नेछ । जसअन्र्तगत छोरीका अभिभावकले बिमा गराउँदा प्रतिबद्धता–पत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । कम्तिमा विद्यालय शिक्षा अन्तर्गत कक्षा १२ वा सो सरहको शिक्षा पूरा गराएको हुनुपर्न व्यवस्था छ ।

प्रचलित कानूनको अधिनमा रहेर छोरीको उमेर २० वर्ष पूरा नभएसम्म विवाह गराउन पाइने छैन भने छोरा र छोरीबीच लैंगिक विभेदरहित समान व्यवहार गर्नुपर्ने हुन्छ । 

बिमा अवधि समाप्त भएपछि प्राप्त हुने मुद्दती बचत रकम छोरीको क्षमता विकासमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बुँदागत सर्त सहितका प्रतिबद्धतापत्रमा अभिभावकले बिमा गराउने बेलामा हस्ताक्षर गर्नुपर्ने हुन्छ । अर्थात् बिमा गराएको भएपनि कक्षा १२ पास नभएको बेटीले २० वर्षभन्दा कम उमेरमा बिहे गरेको खण्डमा ती छोरीले उक्त रकम प्राप्त गर्ने छैनन् ।

बिमा भएको अवस्थामा पनि बिमित रकम पाउन नसक्ने छोरीको रकम भने प्रदेश सरकारको सञ्चित कोषमा जम्मा हुने मुख्यमन्त्री राउतले जनाए ।

उनले कुनै गम्भीर रोग लागेमा छोरीले १२ कक्षासम्मको पढाई पूरा गर्न नसके मुख्यमन्त्रीको नेतृत्वमा गठित निर्देशन समितिको वैठकबाट उक्त रकम छोरीलाई प्रदान गर्न सकिने प्रावधान राखिएको छ ।
यो व्यवस्थाले प्रदेशमा डरलाग्दो अवस्थामा रहेको भु्रण हत्या न्यूनीकरण हुने अपेक्षा गरिएको मुख्यमन्त्री राउतले बताए ।

यसरी हुन्छ बीमा
छोरी जन्मेको मितिले १ सय ८० दिनभित्र अभिभावकले बीमाका लागि निवेदन दिनुपर्ने हुन्छ । त्यसका लागि छोरीको जन्मदर्ता प्रमाण पत्र अनिवार्य छ । त्यस्तै जन्मदर्ता प्रमाणित प्रतिलिपि, अभिभावकमध्ये एक वा दुवैको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, छोरी र अभिभावकको पासपोर्ट साइजको ६ थान फोटो सहित विभिन्न कागजात सहितको निवेदन दिनुपर्नेछ ।

प्रदेश सरकारले पहिलो पटक लागु गर्दा ५ करोड ६० लाख रुपैयाबाट प्रदेशको विभिन्न जिल्लाका ८ वटा स्थानीय तहमा लागु गरेको थियो । संघिय सरकारले ५० करोड रुपैया विशेष अनुदान दिएपछि ८ वटै जिल्लाको हरेक स्थानीय तहमा लागु गर्ने भएका छन् ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि सहजकर्ता नियूक्त
प्रदेश नम्बर २ सरकारले मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्रभावकारी बनाउनका लागि ८ वटै जिल्लामा सहजकर्ता नियूक्त गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलनबाटै प्रत्येक जिल्लामा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई प्रभावकारी तथा सहयोगका निम्ति सहजकर्ता नियूक्त गरेको घोषणा गरे ।

सहजकर्ताका लागि सप्तरीमा दिलकुमारी चौधरी(थारु), सिरहामा त्रिपुरा झा, धनुषामा ममता मण्डल, महोत्तरीमा निर्मला यादव, सर्लाहीमा सुनैना देवी चौधरी कलवार, रौतहटमा शोभा देवी साह कानु, बारामा निभा सिंह र पर्सामा पुष्पा पाण्डेलाई नियूक्त गरेको मुख्यमन्त्री राउतले जनाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप