शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संस्कृतिका यी विकराल रुपबाट हामी कहिले मुक्त हुने ?

आइतबार, १९ फागुन २०७५, १० : ३०
आइतबार, १९ फागुन २०७५

सुखसमृद्धिका नाराले गगन गुन्जित हुँदासम्म पनि कथापुराणकै वरिपरि घुम्न पर्नु हामी जनताका निमित्त आफ्नै बुद्धि, विचार र क्रियाशीलतालाई व्यङ्ग्य गर्नु बराबर बनेको छ । अनुमान त अनेकौं हुन सक्छन् तर बाटो हिँड्दा ठेस नलागी लडिँदैन । ठेस लाग्नुमा बाटो मात्र कारण हुँदैन आँखा र वातावरण पनि कारण हुन सक्छन् । यदाकदा हामी हतारमा पनि दगुर्छाैं ।

हेलिकोप्टर दुर्घटनाको कारणबारे खोज्ने काम विज्ञहरुको हो । हामी त दुर्घटनापछि स्तब्ध हुन जान्ने मान्छे मात्र बनेका छौं । दिवंगतहरुप्रति श्रद्धान्जली अर्पण गर्ने र त्यस्तो घटना फेरि नदोहोरियोस् भनेर २÷४ दिन सतर्क हुने अनि पुनः पुरानै चलनमा फर्कने हाम्रो सत्तासंस्कति नै बनेको छ ।

सरकारले जनहितकारी चलन चलाउनै सकेन । जनवादी संस्कृति निर्माण गर्नैसकेन । आफ्नो दायित्वप्रति निष्ठावान् बन्नै सकेन सरकार !

सवारीयन्त्र, सवारीभार, वातावरण आदिप्रति ध्यान दिएर, जाँचेर बुझेर मात्र सवारी चलाउने चलन दृढ रुपमा स्थापित हुँदो हो त दुर्घटनाहरु घरिघरी दोहोरिने थिएनन् । जनजीवनले पटक पटक दुःखित हुनुपर्ने थिएन । 

हरेक दुर्घटनाले देश र जनतालाई क्षति पु¥याउँछ । कति क्षतिहरु अपूरणीय हुने गर्छन् । हालैको हेलिकोप्टर दुर्घटनाले पु¥याएको क्षति अपूरणीय छ । यस्तो घटना अब कहिल्यै नदोहोरियोस् । यस प्रसङ्गमा अहिले यत्ति ।

यहाँनिर हाम्रो संस्कृतिको अर्को एउटा अलिखित प्रसङ्ग पनि उल्लेख गर्न आदरणीय पाठकमित्रहरुसँग अनुमति माग्छु । 

बिचरा देउताहरु स्वर्गका कुरा मात्र गर्छन्, सुखसमृद्धिका कुरा मात्र गर्छन् । यिनै कुरा हामी जनताका लागि कथा बन्छन् । हो, कथैकथाले बहकिएर आजका हाम्रा सत्तासीनहरु देउता नै बनिसकेका छन् त म भन्दिनँ । यिनीहरु न देउता न मान्छेको मिश्रित हैसियतमा भने पुगेका छन् ।

यही फाल्गुन ३ गतेको कुरा हो, नारायणघाटबाट लोकल गाडीमा पर्सा बजारतिर गइँदै थियो । बस चढेको केही मिनेटपछि १५÷१६ वर्ष उमेरका देखिने एक जना बालकले गाडीको भाडा उठाउनुभयो । भाडा उठाइसकेर ती भाइ कता बस्नुभयो थाहा पाइएन । (सहचालकलाई पनि थकाइ लाग्छ, बस्न मन लाग्छ,, सिट दिनुपर्छ, सम्मान दिनु पर्र्छ भन्ने विवेक त हाम्रो यातायात संस्कृतिमा अद्यावधि पलाएकै छैन) गाडी आफ्नो गतिमा गुड्दै गयो । टिकौलीको जङ्गल कटेको मात्र थियो हामी चढेको बसबाट ठूलै केही खसेको आवाज आयो । ढोकानिरका यात्री कराए । “ए...कस्तो हाँकेको हो ? मानिस खसिसक्यो..!”

बस रोकियो । यात्रीहरु सल्बलाए । बसबाट भर्खरै खसेको त तिनै सहचालक बालक पो हुनुहुँदोरहेछ । उहाँ पीच सडकमा बिलकुलै अचेत अवस्थामा देखिनुभयो । उहाँको टाउकोबाट रगत बगेको देखिन्थ्यो । चालकसहितले उठाएर अचेत बालकलाई बसको भुइँमा सुताए । केही अगाडि बढेर बस रोकियो । चालकसहितले उठाएर बालकलाई त्यहीँ सडकनजिकैको मेडिकलतिर दगुराए ।

(शहरबजारबीच घटित त्यस घटनामा सरकारका कान आँखा पुगेका देखिएनन् । बालबालिकाका हक अधिकारका कुरा संविधान र कानुनका किताबमा छापिदिएपछि सरकारी कर्तव्य पूरा भयो भन्ने सोच विकसित भएर  हो कि ? यत्रो दुर्घटनामा पनि सरकारी वास्ताको छेकछन्द केही देखिएन ।)

दुर्घटनापछि यात्रीहरु लिएर मिनिबस आफ्नो गतिमा पर्साबजारतिर लाग्यो । सहचालक बालकको अवस्था कस्तो थियो, उहाँ स्वस्थ हुन पाउनुभयो कि पाउनु भएन । समाचारमाध्यममा यो कुरा कतै आएन ।
मेरो यस यात्राको गन्तव्य एउटा गाउँ थियो । बसबाट ओर्लेपछि आफ्नो गन्तव्य गाउँतिर लागेँ । विभिन्न गाउँ हुँदै बेलुका खरकट्टा गाउँमा एक निकटतम आफन्त किसानका घर पुगेँ । त्यहाँ विवाह र व्रतबन्धका कार्यक्रमहरु थिए । युद्धस्तरमा तैयारी हुँदै थियो । सँगसँगै बाली भित्र्याउने चटारो पनि थियो । मौसम अनुकूल थिएन । छिनछिन पानी पथ्र्यो । गाईबाख्रालाई दाना पानी जुटाउने, तयार पार्ने, समयमा दिने, गोठ सफा गर्ने, समय समयमा गाइ दुहुने, झण्डै दुई किलोमिटर परको डेरीमा दूध पुर्याउनेलगायतका कामले हाम्रा किसान आफन्त दम्पतिलाई टाटी टेक्ने फुर्सद् थिएन । 

त्यति हुँदा पनि किसानहरु बेलुका एकछिन बुढाघरमा जुटेर दुःखसुखका कुरा गर्न समय निकाल्नुहुँदोरहेछ । म त पाहुँना थिएँ ।  पाहुनाले गोठ, बारी र घरका काममा सहभागी हुने समझदारीको संस्कृति हाम्रो समाजमा अभैm विकसित हुनसकेको छैन । अरु कुरामा सहभागी हुन नसके पनि साँझको जमघटमा कुरा सुन्न सहभागी बनेँ ।

जमघटमा एक किसानले दुखेसो पोख्ने लयमा भन्नुभयो, “खै केराउको त मोलै आएन । ठेकेदाहरु ९ रुपैयाँ किलोमा लिने भन्छन् । ९ रुपैयाँ त केराउ टिप्दामात्र खर्च भएको छ । यस्तो भएपछि खेती किन गर्ने ?”
अर्का किसानले भन्नुभयो, “यसपाली तोरीमा पनि फाइदा देखिएन । तोरीलाई झरीले बिगार्यो । यसपाला लागत पनि उठ्दैन । बर्वाद भयो !” “अझ बन्दाको त कुरै नगरौँ । एक रुपैयाँ किलो रे । त्यो पनि बजार पुर्याएपछि । मैले त बन्दाखेतमा ट्याक्टर लगाइदिएँ !” अर्का किसानले भन्नुभयो ।

सवाद चल्दै थियो । एक पशुचिकित्सा सहायक आइपुग्नुभयो । र सरासर गोठमा गएर गाईलाई इन्जेक्सन दिन लाग्नुभयो । 

यस भेगमा गाईलाई खोरेत सल्केको रहेछ । एकछिन खोरेतबारे कुरा चल्यो । कुरैकुरामा थाहा भयो, खोरेत भेगैभरी छ । सरकारी चिकित्सक त्यहाँ पुग्दैनन् । खोज्दा पनि भेटिँदैनन् । प्राइभेट चिकित्सक बोलाउनु पर्छ । बजारमा औषधिको पनि अभाव छ । बाहिर किन्दा तोकिएकोभन्दा बढी पैसा लाग्छ । गुनासो गर्न कहाँ जाने ? जाने ठाउँ छैन ।

किसानहरुबीच आपसी संवादमा मैले यो सवै थाहा पाएँ । राजधानीका महङ्गा उज्याला होटलहरुमा किसानबारे ठुलाबडाका गोष्ठी चल्छन् । समृद्धिका कथा भनिन्छन् । धरातलमा उत्रेर हेर्दा सवैभन्दा व्यवस्थित भनिएका चितवनका किसानहरुको त हालत यस्तो छ भने दूरदराजको कुरै नगरौं । पहाडी जिल्लाका खेतबारीहरु प्रायः बाँभैm छन् । मुलुकका तन्नेरीतरुना हातहरु जीविकाको खोजीमा खाडी मुलुकको विकास निर्माणमा रगतपसिना पोख्न पुगेपछि हाम्रा गाउँबस्तीहरु वृद्धाश्रममा परिणत हुनु स्वाभाविक भएको छ । यस स्थितिमा रेमिट्यान्सका भरमा बाँडिने सुखुसमद्धिका सुन्दर सपनाको काल्पनिक गङ्गा सत्तासीनहरुको शिवजटा पार गरेर जनताको जीवनमैदानमा ओर्लन कसरी सम्भव होला र ?

 मुलुकमा आज जो बाँकी किसान छन्, अस्तव्यस्त स्थितिमा छन् । मगनमस्त स्थितिमा त  बिचौलियाहरु छन् । काठमाडौनजिकको चितवनमा बन्दा नबिकेर खेतमा कुहिन्छ, काठमाडौको बजारमा भारतेली बन्दा बिक्छ । यहाँ यस्तो पनि हुँदोरहेछ ।

वर्षाैं लगाएर मुग्लिनदेखि नारानघाटसम्मको सडक केही सुधार भयो, सडकका पुलहरु पुरानै छन् । नवनिर्माण, पुनर्निर्माण, सुधार केही पनि भएको छैन । आम रुपमा भन्नुपर्दा राजधानी लगायत मुलुकका प्रायः सडकहरु बिचल्लीको अवस्थामा छन् । सडकदुर्घटना सामान्यजस्तो भएको छ । कति गाउँबस्तीले सदरमुकाम जाने बाटो पाएका छैनन् । मानिसहरु बाँदर लड्ने भिरमा हिँड्न बाध्य छन् । कति भीरबाट लडेका छन् । मरेका छन् । दुर्घटनाका सरकारी टिपोटमा ती दुर्घटना पर्दैनन् । यहाँ यस्तो पनि छ । 
 

   हाम्रा पुराणकारहरु भन्छन्, देउताहरु भुुइँमा खुट्टा टेक्दैनन् । देउताहरु भुइँभन्दा माथि माथि टेकेर हिँड्छन् । यसैभएर धर्तीमा भएका गौंडा, गल्छेडा, गेगर, ढुङ्गा काँडा, ठोसा आदिमाथि खु्टााले टेकेर हिँड्नुको मर्म देउताहरुलाई थाहै छैन । यसै कारण बिचरा देउताहरु स्वर्गका कुरा मात्र गर्छन्, सुखसमृद्धिका कुरा मात्र गर्छन् । यिनै कुरा हामी जनताका लागि कथा बन्छन् ।

    हो, कथैकथाले बहकिएर आजका हाम्रा सत्तासीनहरु देउता नै बनिसकेका छन् त म भन्दिनँ । यिनीहरु न देउता न मान्छेको मिश्रित हैसियतमा भने पुगेका छन् । यसै कारण पनि यिनीहरु जनताका नजरमा विश्वस्त बन्न सकेका छैनन् । 
 

   अवस्थाको विकराल रुप सम्झँदा दुःख लाग्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप