भारत–पाक सम्बन्धः युद्धको कालो बादलबीच
शान्तिको किरण
Only the dead have seen the end of war
मृत्यु भएकाले मात्र युद्धको अन्त्य देखेको हुन्छ ।
-Pluto ग्रीक दार्शनिक प्लुटोको एउटा चर्चित भनाइ
यतिखेर भारत–पाकिस्तानबीच युद्धको कालो बादल मडारिइरहेको छ । युद्धको तातो तावामा स्वार्थको रोटी सेकेर अघि बढ्न जम्जमाइरहेका रक्तपिपासुहरुको जमात भारत–पाकिस्तान दुवैतिर कमी छैन । आणविक शक्ति सम्पन्न यी दुई देशबीच युद्ध भड्कियो र त्यसलाई नियन्त्रण गर्न सकिएन भने त्यसको दावानलले दुई देशका वर्तमान र भविष्यलाई नै पनि खरानी बनाइदिने प्रचण्ड खतरा त छँदैछ, त्यसले दक्षिण एशिया क्षेत्रमै पनि अनिष्टको बबण्डर ल्याउने पक्का छ ।
यो स्थिति सबैले बुझेका छन् तर युद्धको आगो दन्काएर राजनीतिको रोटी सेक्ने, भोट व्यांकको खिचडी पकाउने दाउपेचमा भारतका सत्तासीन एवं सत्ताइतर पार्टीका कतिपय राजनीतिक नेताहरु लागिपरेका छन् । युद्धको विभीषिकामा आफ्नो भोटव्यांकको सपनाको खेतीमा रमेकाहरुको अन्ध राष्ट्रवादी हुइँय्यालाई हावा दिँदै प्रज्जवलित गराइदिने अन्ध दौडमा मिडियाको ठूलो तप्का नै पनि लागेको देखिन्छ । चौथो अंग भनिने मिडियाले युद्धमा भोटको राजनीति गर्नेहरुलाई खबरदारी गर्ने र युद्धको साटो शान्तिको बाटोबाट समस्याहरुको समाधान खोजिनु पर्ने दवाव र जनमत सिर्जना गर्ने काम खासै भइरहेको छैन । यस्तो प्रतीत हुन्छ, मिडिया पनि युद्धकै ज्वालामा टिआरपी, क्लिक र पाठक बृद्धिको खरानी खोजिरहेका छन्, भलै त्यो खरानीको मूल्य देश र क्षेत्रकै बर्वादी किन नहोस् ।
बरु सुखद आश्चर्यको कुरा, यतिखेर दुवै देशका सेनाका व्यवहार र कदमहरु संयमित र सन्तुलित देखिएका छन् । सम्भवतः युद्धको विभीषिका, त्यसले निम्त्याउने दुर्दान्त परिणाम र युद्धको मोर्चामा आमनेसामने भिड्दा एकबारको जीवनलाई नै दाउपेचमा राखेर झेल्नु र भोग्नुपर्ने पीडाकष्टको मर्म उनीहरुले राम्ररी आत्मसात गरेका छन् ।
अर्को सुखद आश्चर्यको कुरा के हो भने, पाकिस्तानी शासनसत्तामा प्रचण्ड जनमतका साथ उदाएका शासक इमरान खान पनि युद्धको कालो बादलका बीच शान्तिको किरण बनेर देखापरेका छन् । भारतले पाकिस्तानभित्र छिरेर ‘सर्जिकल स्ट्राइक’ को नाममा पाकिस्तानी सार्वभौमिकतामाथि हस्तक्षेप गर्दा पनि उनले संयम र धैर्य गुमाएका छैनन् । आफ्ना मुलुकका जनताको प्रचण्ड दवाबलाई सम्बोधन गर्न उनले भारतीय आक्रमणको सांकेतिक प्रत्याक्रमण मात्र गरे, तर साथसाथै उनले त्यसलाई आफ्नो बाध्यताको रुपमा पनि इमान्दारितापूर्वक चित्रित गरे । उनले आफ्ना सम्बोधनहरुमा पटक पटक युद्धको भीषण विभीषिकाकाबारेमा इतिहासका उदाहरणहरु पेश गरेर समस्याको शान्तिपूर्ण समाधानको लागि भारतसँग संवाद र सहकार्यमै जोड दिए । भारतले पाकिस्तानमाथि सर्जिकल स्ट्राइक गर्ने क्रममा पाकिस्तानी भूमिमा पक्राउ परेका भारतीय विंग कमाण्डरलाई स–सम्मान रिहा र सुपुर्दगी गरेर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सैन्य तुरुप’को उत्तर ‘शान्तिको भाषाले दिएका छन् । कदाचित पाकिस्तानको शासनसत्ताको बागडोर इमरान खानको हातमा नहुँदो हो भने स्थितिले के कस्तो मोड लिन सक्थ्यो होला ? विगतका इतिहासले सिकाएका पाठहरु हेर्दा अनुमान मात्रै गर्न सकिन्छ ।
सबैभन्दा मुख्य कुरा, इमरान खानले युद्धको कोर्सले सधैं आफूले सोचेको र चाहेको दिशातिर मात्रै अघि नबढ्ने र गति नलिने बरु त्यसले निम्त्याउने परिणाम भयानक र अकल्पनीय हुने खतरातर्फ बारम्बार औंल्याएका छन् । यसले उनको सुझबुझ र युद्धको विभीषिकाप्रतिको संवेदनशीलतालाई दर्शाउँदछ । पछिल्ला घटनाक्रमहरुको विश्लेषण गरेर हेर्दा भन्न करै लाग्छ, क्रिकेटरबाट राजनीतिमा उदाएका इमरान खानले राजनीतिमै लागेर भोटो फटाइसकेको भारतीय राजनीतिज्ञहरुभन्दा उच्च स्तरको परिपक्वता र संवेदनशीलता देखाएका छन् ।
इतिहासले सिकाएको निर्मम पाठ के हो भने युद्धले कुनै पनि समस्याको अन्तिम समाधान अहिलेसम्म गर्न सकेको छैन, गर्नै सक्दैन । त्यसैले भारत र पाकिस्तान दुवै देशका राजनीतिक नेतृत्वले समस्याको समाधानको उपाय सैन्य बललाई हैन, राजनीतिक, कुटनीतिक मार्गहरुलाई बनाउनै पर्छ । युद्धको बाटोबाट समस्याको समाधान खोज्न चाहनेहरुले बुझ्नै पर्छः प्लुटोले भने झै ‘मृत्यु भएकाले मात्रै युद्धको अन्त्य देखेको हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई रोक्न नियमन आयोगले दिएको निर्देशनले सरकारलाई ४० करोड घाटा
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग