बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल फुड्स : विदेशी भूमिमा नेपाली स्वाद !

बुधबार, १५ फागुन २०७५, ०० : ३१
बुधबार, १५ फागुन २०७५

काठमाडौं– नेपालमा एसएलसी सकेर उनी उच्च शिक्षाका लागि भारत पुगे । भारतबाट ग्य्राजुएशन सकेपछि थप अध्ययनका लागि संयुक्त अधिराज्य बेलायत जाने योजना बनाए । सन् २००९ मा एमबीए गर्न लण्डन पुगेका वीरगन्जका विकाश नेपालको करियरले १० वर्षको बीचमा नसोचेको सफलताको बाटो समात्न पुगेको छ । 

त्यतिबेला केही गरेर देखाउन अवसरको खोजीमा थिए, विकाश । त्यही क्रममा उनले बेलायतकै प्रतिष्ठित मध्येको एक कम्पनी ब्रिटीस ग्यासमा मार्केटिङको काम गर्ने अवसर पाए । 

‘त्यतिबेला अवसरको खोजीमा अवसर थिएँ, त्यही क्रममा बेलायतकै प्रतिष्ठित मध्येको एक कम्पनी ब्रिटीस ग्यासमा मार्केटिङको काम पाएँ’ विकाश १० वर्षअघि फर्किए, ‘त्यतिबेला मलाई मार्केटिङ कम्पनीबाटै केही गर्न सकिन्छ भन्ने विश्वास जागिसकेकाे थिएन ।’ तर, त्यहाँ ५ वर्ष काम गरेपछि उनमा यो क्षेत्रमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो । र, सन् २०१४ मा स्थापना गरे आफ्नै स्वामित्वको मार्केटिङ कम्पनी ‘मार्केट डाइरेक्ट’ ।

विकाश प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको मार्केट डाइरेक्टले अहिले बेलायतभरी बाटिका, डाबर, कोहिनूर अशोकालागायतका चर्चित २७ भारतीय ब्राण्डको मार्केटिङ गर्छ । जसबाट बार्षिक  २ मिलियन पाउण्डभन्दा बढीको कारोबार हुने गरेको विकाश बताउँछन् । ती कम्पनीका ब्राण्डको सेल्स मार्केटिङ, प्रोमोशन, टेस्टिङलगायत सबै मार्केटिङको पाटो विकाशकै कम्पनीले हेर्छ । 

नेपालबाट दालदेखि अचारसम्म
दिनरातको मेहनत र जनसम्पर्क र कुशल बजार व्यवस्थापनले विकाशको कम्पनी लण्डनमा परिचित छ । यही क्रममा स्वदेशसँग पनि जोडिएर केही गरौं भन्ने योजनाका साथ विकाशले दुई वर्षअघि ‘नेपाल फुड्स’ नामक ब्राण्ड खोलेका छन् । 

जुन ब्राण्डमार्फत उनको कम्पनीले नेपाली चिउरा, दाल, भटमास मैदा, फापरको पिठो, कोदोको पिठो, मकैको च्याख्ला, अचारका परिकारलगायत नेपाली बस्तुहरु बेलायत आयात गर्ने गरेको छ । यस्तै वाइवाई चाउचाउका साथै वर्ल्ड दरबार, खुकुरी रमजस्ता मदिरासमेत नेपाल फुड्समार्फत बेलायत लगिने गरिएको छ ।

‘नेपालको लागि पनि केही गरौं भनेर हामीले नेपाल फुड्स ब्राण्ड खोलेका छौं । नेपाली पहिचानसहितको उच्चगुणस्तरको सेवा दिइरहेका छौं’, विकाशले भने, ‘अहिले हामी युकेभर छौं । युरोपका बेल्जियम, फ्रान्स, स्पेन, जर्मनी, पोर्चुगललगायतका देशमा पनि हामीले नेपाली ब्राण्डको बजार प्रबद्र्धन गरिरहेका छौं ।’

नेपाली स्वादको प्रवर्द्धन
लामो समय मार्केटिङ क्षेत्रमा बिताएको आधारमा भारतीय, पाकिस्तानी र बंगलादेशीका साथै स्थानीय बिक्रेतासँग आफ्नो रहेको जनसम्पर्कको आधारमा नेपाली उत्पादनको बजार प्रवर्द्धन गरिहेको उनी बताउँछन् । जसअनुसार अहिले नेपाली उत्पादनको माग बढ्दो क्रममा रहेको उनी दाबी गर्छन् । नेपाली उत्पादनको विदेशमा माग बढ्दा कुनै न कुनै माध्यमबाट देशको अर्थतन्त्रको लागि पनि केही योगदान पुग्ने उनको बुझाई छ। 

‘हामी विदेशमा बसेका छौं तर नेपालको लागि केही पनि गरेका छैनौं । नेपाली उत्पादन विदेशी वा विदेशमा रहेका नेपालीले किनिदिए भनेपनि त्यसबाट देशको अर्थतन्त्रमा केही योगदान पुग्छ नि’ उनी भन्छन्, ‘देशमा रोजगारीको सिर्जना हुनुका साथै आयआर्जनको माध्यम हुन्छ । व्यापार एक ठाउँमा हुन्छ, त्यो भन्दा पनि विदेशमै रहेर पनि नेपालको अर्थतन्त्रमा केही योगदान दिऔं भन्ने पनि हाम्रो ध्येय हो ।’

 भूपरिवेष्ठित देश र झण्डटिलो आयात प्रक्रियाले नेपाली उत्पादन लण्डनसम्म पुग्दा अन्य देशको उत्पादनको तुलनामा केही महंगो पर्ने  उनी बताउँछन् ।   ‘नेपाली प्रोडक्ट अरु विदेशी प्रोडक्ट भन्दा केही महंगो पर्छ । काठमाडौंबाट वीरगन्ज, कलकत्ता, सिंगापुर हुँदै युके आयात गर्नुपर्ने हुँदा ढुवानी खर्च महंगिन पुग्छ । तर महंगै भएपनि धेरैले नेपाली र विदेशीले रुचाएका छन् ।’

उनका अनुसार नेपाल फुड्सले मासिक १५ लाख नेपाली रुपैयाँ बराबरको चिउरा, दाल, भटमास मैदा, फापरको पिठो, कोदोको पिठो, मकैको च्याख्ला, अचारका परिकारलगायत  नेपाली परिकार बेलायत आयात गर्ने गरिएको छ । सामान बेलायत आयातका लागि कीर्तिपुरमा एक गोदाम रहेको र त्यहाँ देशभरबाट आवश्यक सामान संकलन गर्ने गरिएको उनले जानकारी दिए । 

विकाशका अनुसार नेपाल फुड्सले निकट भविष्यमै दुबई मलेसिया र अस्ष्ट्रेलियामा पनि बजार विस्तार गर्ने योजना बनाएको छ । 

हालै नेपाल आएको अवसरमा विकाशले ‘मार्केट डाइरेक्ट’ को नेपालमा पनि शाखाका दर्ता गरेका छन् ।  सो कम्पनीबाट नेपालमा मार्केटिङ सम्बन्धी काम सुरु गरिने विकाशले बताए ।  

‘विदेशमा हासिल गरेको ज्ञान र सिपलाई नेपालमा ल्याउन मन छ  । अहिले कम्पनी सुरु गरिएको छ, वातावरण बन्दै गयो भने नेपालमा लगानी पक्कै बढाइनेछ’, विकाशले भने ।  

अहिले २७ जना कर्मचारीलाई पूर्णकालीन रोजगारी दिएका विकाश समयअनुसार व्यापारलाई थप परिस्कृत गर्दै लैजाने बताउँछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप