सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रातको ११ बजे जिउँदै जलाउने प्रयास गरिएका बृद्ध अस्पतालबाटै गायब

मङ्गलबार, १४ फागुन २०७५, १८ : ४७
मङ्गलबार, १४ फागुन २०७५

बुटवल– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा एक व्यक्तिलाई जिउदै जलाउने प्रयास भएको छ । नेपालमा मजदुरी गर्ने भारतीय नागरिकलाई सो गाउँपालिका वडा नम्बर १ को एकतापुरमा जलाउने प्रयास भएको हो ।

भारत घर भएका ६५ वर्षीय शिसु धुवाँ नामका व्यक्तिलाई आइतबार राती ११ बजे सुतिरहेको समयमा जलाउने प्रयास भएको खुलासा भएको हो । रुपन्देहीको विनयपुरा खोलको लेभर काम गर्ने धुवालाई राती स्थानीय ३५ वर्षीय  रमेश गुप्ता र ३० वर्षीय महेन्द्र मल्लाहले  ढाडमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।

दानव नदीको छेउमा सुतिरहेका उनलाई मदिरा सेवन गरेका स्थानीय युवाले जलाउने प्रयास गरेको वडा नम्बर २ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले बताए ।  प्रहरीले पीडितको थप पहिचान खुलाएको छैन भने उसले घटना सामान्य भएको दाबी गर्दै आएको छ ।

सुतिरहेका ती भारतीय नागरिकलाई उनकै कपडा खोली आगो लगाइएको र त्यही आगोमाथि हातखुट्टा समातेर जलाउने प्रयास भएको स्थानीयले बताएका छन् । आगोमा जलेर उनको शरीरको पछाडिको भाग डढेको छ ।  घटनालगत्तै इलाका प्रहरी कार्यालय रन्यौराले पीडित व्यक्तिलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थियो ।

अस्पतालमा एक रात विताएका घाइते भारतीय नागरिक मंगलबार बिहान ८ बजेदेखि गायव भएका छन् । अस्पतालले आफन्त नभएकाले भर्ना गर्न नसकिएको भन्दै उपचार गर्दागर्दै भागेको दाबी गरेको छ । स्थानीयले पीडकलाई बचाउन घाइतेलाई गायव पारिएको आरोप लगाएका छन् ।

स्थानीय तुलसी अर्यालले जलेका घाइते बिरामी हराउनुमा आशंका रहेको भन्दै दोषीमाथि कारबाहीको  माग गरे । इलाका प्रहरी कार्यालय बुटवलका नायव उपरीक्षक डिल्ली मल्लले घटना सामान्य रहेको दाबी गरे । उनले घटनामा आगो लगाउने दुई जनालाई नियन्त्रणमा लिएको बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप