मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘पिरतीको पब्जी’ देखि ‘टिकुली’ सम्म : यो साता बजारमा भित्रिए गीत

मङ्गलबार, १४ फागुन २०७५, १० : ५७
मङ्गलबार, १४ फागुन २०७५

काठमाडौ – यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनमा यो साता संख्यामा भने केही कमी देखियो । ती गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाहिर ल्याइयो, भने केही युट्युब मार्फत आए । यस्ता छन् यो साता बजारमा आएका गीत ।

पिरतीको पब्जी
 विश्वभरनै पब्जी खेल लोकप्रिय हुँदैछ । यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमान्य पाण्डेले भरेका छन् । राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।
पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् । भिडियो सूर्य योन्जनले निर्देशन गरेका हुन् । 

‘आउ फर्केर’ 
सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवरात्री विशेष अवसर पारेर सत्याकृत फाउण्डेशन अन्तर्गत सत्याकृत ब्याण्डले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ ।
गीतमा प्रजित लामाको स्वर, श्री हजुरको शब्द, गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

‘गोधुली साँझमा’
 गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा गायक टंक तिमल्सिना र प्रविशा अधिकारी स्वयम्को अभिनय रहेको छ । 
गीतमा टंक तिमल्सिना को शब्द र कृष्ण बिकको संगीत रहेको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । 

‘याद’ 
गायक छिरिङ भुटिया यतिबेला याद लिएर आएका छन् । छिरिङ एण्ड द ब्याण्ड २०७४को भिडियो फिचरिङ सहित गायक तथा संगीतकार भुटियाले याद लिएर आएका हुन् । 
संचारउद्यमी भास्करराज राजकर्णिकारको प्रमुख आतिथ्यता एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको विशेष आतिथ्यतामा यादलाई सार्वजनिक गरिएको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भास्करराज राजकर्णिकारले नयाँ पुस्ताको परिवर्तनसँगै पुराना पुस्तालाई नचिन्ने र बिर्सने प्रवृत्ति हावी भएको बताउँदै समाज परिवर्तनका नाममा मौलिकता हराउँदै गएको बताए । 
‘याद’ गीतमा विजु कर्माचार्यको शब्द, संगीत रहेको छ भने एरेन्ज छिरिङ एण्ड द ब्याण्डको रहेको छ । छिरिङ भुटियाको स्वर रहेको उक्त गीतलाई विशालले मिक्सिङ गरेका छन् भने भिडियोलाई पिनकिङ प्रोडक्सनले निर्माण गरेको हो । 

‘लास’
गायिका विष्णु माझी र गायक कुमार सुवेदीको स्वर रहेको गीत ‘लास’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडासमेटिएको छ । 
लाल बहादुर लामाको शब्द तथा सागर विरहीको रहेको लोकदोहोरी गीतको भिडियोमा आशा खड्का, बुद्धविर थापा र लक्ष्मणको अभिनय देख्न सकिन्छ । भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । 

‘बुवाको याद’
  देउडा भाकाको गीत ‘बुवाको याद’ सार्वजनिक भएको छ । दीपक संगम विसीको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार पारिएको छ । 
गीतमा परदेशीएको नेपाली युवा र उसको परिवारका सदस्य विचमा भएको माया र स्नेहलाई देखाइएको छ । बासु बरालको छायाँकन, प्रविण रेशमी मगरको सम्पादन तथा भिम थापाको निर्देशन भिडियोमा रहेको छ ।

त्यो कुन बादल
गायक सुनिल कुमार न्यौपानेको नयाँ गीत ‘त्यो कुन बादल’ले सार्वजनिक भएको छ । गीतको लिरिकल भिडियो बनाइएको छ ।
भिडियोका छायाँकार तथा सम्पादक प्रदीप कुमाल हुन् । गतिको एरेन्ज मनोहर सुनामले गरेका छन् । 

‘कता हिँडेकी’
 गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो ‘कता हिडेकी’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।
लामो समयदेखि संगीत क्षेत्रमा रहेर काम गरिरहेका धर्मेन्द्र यस गीतबाट निकै आशावादी छन् । उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । 
भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए ।

‘भाग्य यस्तै’ 

 चर्चित संगीत रियालिटी शो ‘नेपाली तारा’को सिजन–३ बाट एकाएक चर्चामा आएकी गायिका जलजला परियारको नयाँ गीत सार्वजनिक भएको छ । उनीसँगै गायक क्रिस पिकेको समेत स्वर रहेको यो गीतले बाध्यताले विदेशिने नेपाली युवाको कथा बोल्छ । 

निर्प प्रमोद जोशीको शब्द रहेको गीतमा म्यूजिक र एरेन्ज विशाल निरौलाको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा लोकदोहोरी क्षेत्रकी व्यस्त मोडल अञ्जली अधिकारीले अभिनय गरेकी छिन् । उनलाई अभिनयमा कुमार श्रीले साथ दिएका छन् । गीतको भिडियो निर्देशन सिर्जन बरालले गरेका हुन् । 

 
‘लालुमाई’  
 गायक सन्दिप न्यौपानेको नयाँ गीत ‘लालुमाई’ सार्वजनिक भएको छ । शिव हमालको शब्द तथा लय सृजना साथै गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको ‘लालुमाई’ गीत म्युजिक भिडियो सहितसार्वजनिक भएको हो । 
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । 

‘टिकुली’
गायक तथा नायक बाबु बोगटीले आफ्नो नयाँ गीत ‘टिकुली’ सार्वजनिक गरिएको छ । गीतमा स्वर संगीत बाबु बोगटीले दिएका छन् । 
अमेरिकामा बसोबास गरिरहेका नारद रिजालले शब्दरहेको गीतको भिडियो  गम्भिर बिष्टले तयार गरेका छन् । भिडियोमा स्वस्तीमा खड्का र बाबु बोगटीको अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप