शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोजगार संयोजकको नतिजा प्रकाशित : कम्प्युटरमा २५ अङ्क नपाएर फेल हुने धेरै

सोमबार, १३ फागुन २०७५, १६ : ४४
सोमबार, १३ फागुन २०७५

काठमाडौं– देशबाट गरीबी घटाउने र अन्ततः हटाउने रणनीतिका साथ सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको अन्तिम नतिजा सोमबार प्रकाशित भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । 

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा रहेका २ हजार २ सय ६२ परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएको थियो । 

कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको हो । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस्तो थियो रोजगार संयोजकको न्यूनतम योग्यता
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक बन्ने न्युनतम योग्यताबारे मन्त्रीपरिषद् वैठकबाट २०७५ पुष ९ गते मापदण्ड स्वीकृत गरेको थियो ।

स्वीकृत मापदण्ड अनुसार ७ सय ५ स्थानमा रहने शाखा अधिकृत सरहको रोजगार संयोजकका लागि न्युनतम योग्यता स्नातक तह रहेको थियो । त्यसैगरी ४८ स्थानीय तहमा रहने नायब सुब्बा सरहको रोजगार संयोजकको लागि न्युनतम योग्यता प्रमाणपत्र तह वा प्लस टु सरह रहेको थियो । 

कुल १ सय अङ्कको पूर्णाङ्कमा तोकिएको न्युनतम शैक्षिक योग्यताको प्राप्त लब्धाङ्क प्रतिशतलाई आधार मानी अधिकतम ७० अङ्क, न्युनतम भन्दा माथिल्लो शैक्षिक योग्यता भए थप अधिकतम २० अङ्क र सम्बन्धित क्षेत्रमा काम गरेको कम्तीमा २ वर्ष पूरा भएको भए अधिकतम १० अङ्क प्राप्त गर्न सकिने थियो । 

मन्त्रिपरिषद्बाट स्वीकृत मापदण्डअनुसार प्राप्त आवेदनहरुबाट छनोट गरी माघ २८ गते मन्त्रालयले २ हजार २ सय ६२ जना उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेको थियो । 
त्यसपछि फागुन ११ र १२ गते मन्त्रालयले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा कम्प्युटर सीप परीक्षा लिएको थियो । कम्प्युटर परीक्षामा उत्तीर्ण हुन कम्तीमा २५ अङ्क प्राप्त गनुपर्ने मापदण्डमा उल्लेख छ । 

पहिलेको अङ्कको गणना नहुने
रोजगार संयोजकको नियुक्ति हुने सम्बन्धमा प्रारम्भिक सुचीमा प्राप्त अङ्कको गणना नहुने मापदण्डमा उल्लेख छ । कम्प्युटर सीप परीक्षामा सहभागी हुनका लागि मात्रै प्रारम्भिक सुची प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।

कम्प्युटर सीप परीक्षाका लागि ५० पूर्णाङ्कको २५ वटा बहु वैकल्पिक प्रश्न कम्प्युटर प्रणालीबाट नै सोधिएको थियो । ती प्रश्नहरुमा कम्तीमा १३ वटा प्रश्नको सही उत्तर दिने आवेदक मात्रै उत्तीर्ण भएका छन् ।

अधिकांश परीक्षार्थी फेल
रोजगार संयोजकको प्रारम्भिक छनोट सुचीमा परेका २ हजार २ सय ६२ उम्मेदहरुमध्ये अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण भएका छन् । 

प्रदेश नम्बर ५ बाट कम्प्युटर सीप परीक्षामा सहभागी भएका ३ सय २७ उम्मेदवार मध्येबाट आवश्यक मात्रामा परीक्षार्थी कम्प्युटर सीप परीक्षामा उत्तीर्ण भएपनि अन्य प्रदेशबाट भने आवश्वक मात्रामा परीक्षार्थी उत्र्तीर्ण हुन सकेका छैनन् । 

यसरी हेर्दा प्रदेश नम्बर ५ मा केही प्रतिस्पर्धा भएपनि अन्य प्रदेशमा भने कम्प्युटर सीप परीक्षामा कम्तीमा २५ अङ्क प्राप्त गर्ने उम्मेदवारहरुको जागिर पक्का भएको छ । 

कोटा नपुगेमा पुनः आवेदन मागिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रदेश नम्बर ५ बाहेकका अन्य प्रदेशमा अपुग कोटाका लागि पुनः आवेदन माग गरी परीक्षा लिने व्यवस्था मिलाइनेछ ।

हालको मापदण्डमा अनुत्तीर्ण हुनु परीक्षार्थीलाई प्रतीक्षा सुचीमा पनि नराखिने भएको छ । अन्य प्रदेशमा फारम भरी उत्तीर्ण भएकाहरुलाई पनि अन्य प्रदेशमा नियुक्ति नदिइने भएको छ । जुन प्रदेशमा रोजगार संयोजकका लागि आवेदन दिइएको हो, त्यही प्रदेशभित्र मात्रै नोकरी गर्ने गरी नियुक्ति दिइने मनत्रालयले जनाएको छ । 

नतिजा शतप्रतिशत निष्पक्षः मन्त्रालय
करार सेवाका लागि आवेदन माग गरिएपनि यो इतिहासकै सबैभन्दा निष्पक्ष परीक्षा भएको मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शाखा हेर्ने उपसचिव डाक्टर लोकनाथ भुसालका अनुसार नतिजा शत प्रतिशत निष्पक्ष रहेको छ । 

पहिले आवेदन लिँदा र प्रारम्भिक सुची प्रकाशन गर्दा पनि निष्पक्ष ढङ्गबाट मापदण्ड र योग्यता तथा प्राप्ताङ्क अनुसार सुची प्रकाशन गरिएको उपसचिव भुसालले दाबी गरे । 
प्रारम्भिक सूची प्रकाशन पछि कम्प्युटर सीप परीक्षामा सहभागी भएकाहरुले कति अङ्क प्राप्त गरे भनेर पनि तत्कालै त्यहीँ हेर्न सकिने व्यवस्था मिलाइएको थियो । त्यसकारण यो परीक्षा शतप्रतिशत निष्पक्ष रहेको मन्त्रालयको दाबी छ । 

समितिमा लोकसेवाकै प्रतिनिधि
कम्प्युटर सीप परीक्षा सञ्चालनका लागि लोकसेवा आयोगकै टीमले प्रश्न निर्माण गर्ने काम गरेको थियो । सुरुमा रोजगार संयोजकको परीक्षा लिइदिन मन्त्रालयले लोक सेवा आयोगलाई नै आग्रह गरिएको उपसचिव भुसालले बताए । तर आयोगले यो आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको र आफूहरुले स्थायी नियुक्तिका लागि मात्रै परीक्षा लिन मिल्ने जवाफ दिएपछि मन्त्रालयले आयोगको सहयोग लिएर परीक्षा गराएको थियो । 

भुसालका अनुसार प्रश्न निर्माण गर्दा लोकसेवाले नै गर्ने विधिअनुसार लोकसेवाकै प्रतिनिधि राखेर गोप्य तरिकाबाट निर्माण गरिएको थियो । 

प्रदेश तथा तह अनुसार अनुसार फरकफरक प्रश्नवाली निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप